सिन्धुली – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा मंगलबार सार्वजनिक गरेपछि सिन्धुलीको तीनपाटन गाउँपालिकाकी यशोदा काफ्लेलाई बधाईको ओइरो लागेको छ । काफ्लेले एसईई दिएको १४ वर्षपछि कक्षा १२ उत्तीर्ण गर्नुभएको छ । २०५६ सालमा कक्षा ८ पढ्दापढ्दै विहे गरेपछि उहाँको पढाइ छुट्यो । बच्चाहरू जन्मे । बालबच्चा र घर–व्यवहारमा समय बित्न थाल्यो । बच्चाहरू हुर्कन थालेपछि श्रीमान् पुरुषोत्तम काफ्लेले पढाइलाई निरन्तरता दिन हौस्याउनुभयो । त्यसपछि २०६४ सालमा कक्षा ९ मा भर्ना हुनुभयो ।
२०६६ सालमा एसईई दिएपछि थप अगाडि पढ्न व्यावहारिक जिम्मेवारीको कारण सक्नुभएन । भवानी माध्यमिक विद्यालयको बाल विकास शिक्षक समेत रहनुभएकी यशोदालाई श्रीमान् तथा छोराछोरीले पढाइलाई निरन्तरता दिन हौसला दिए । परिवारको साथ र हौसलाले आफैँ काम गरिरहेको विद्यालयमा नै कक्षा ११ मा भर्ना भई पढ्न थाल्नुभएकी यशोदाले कक्षा १२ पास गर्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, “नियमित कक्षा लिन जान त पाइएन तर स्वअध्ययन गरें । परिवारको साथ भएपछि मिहिनेत गर्न पनि सहज हुने रहेछ । धेरै वर्षपछि परीक्षामा सहभागी हुँदा रमाइलो पनि भयो ।”
कक्षा १२ को नतिजा आएपछि यशोदा भन्दा बढी परिवार खुशी भएको उहाँले बताउनुभयो । परिवार तथा साथीभाइ खुशी मात्रै छैनन् यशोदालाई स्नातक भर्ना गर्न हौसला दिइरहेका छन्, तर आफैं भने निर्णय गर्न सक्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “मभन्दा परिवार तथा साथीभाइ खुशी छन् । सबैले पढ्नु भनिरहनुभएको छ तर व्यावहारिक जिम्मेवारीहरूका कारण आफैं भने अलि दोधारमा छु ।”