सिन्धुली,– कोरीया सरकारले उपहारमा उपलब्ध गराएको होलिस्टीन जातको गाईहरुको अनुगमन गरीएको छ । कमलामाई नगरपालिका वडा न. ४ र ५ मा कोरीया सरकारले उपहारमा उपलब्ध गराएको होलिस्टीन जातको गाईपालन हुदै आएको छ ।
कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल, प्रमुख प्रशासकिय अधिकृत सूर्य प्रसाद दाहाल, वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र ढकाल, वडा नं. ५ का वडा अध्यक्ष पूर्ण बहादुर खड्का सहित हेफर इन्टरनेशनल नेपाल र सिड्स नेपालका कर्मचारी सहितको टोलीले गाइहरुको अनुगमन गरिएको हो । दक्षिण कोरीया सरकाले उपहारमा उपलब्ध गराएको बाच्छीहरु अहिले यहाँको हावा पानीमा घुलमिल भइसकेको जनाइएको छ ।
अनुगमनका क्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले कोरीयाली गाईको बृद्धि समयसामयिक रहेको र उक्त कार्यक्रमको निरन्तरता र सफलता को लागि कमलामाई नगरपालिका सदैब प्रतिबद्ध रहेको बताउनुभएको छ । साथै यस कार्यक्रमलाई सुदृढिकरण गर्नको लागि प्रदेश तथा संघिय सरकार संग आवश्यक बजेटको माग गरिने उहाँले बताउनुभयो ।
कोरेली बाच्छीहरुको अहिले कृतिम गर्वाधान गर्ने समय भएकाले ७ वटा बाच्छीहरुको कृतिम गर्वधान गर्ने काम सकिएको कमलामाई नगरपालिकाका पशु विकास शाखा प्रमुख डाक्टर रोशन कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार ८१ वटा होलिस्टीन गाइहरु मध्य ३७ वटा गाइमा लम्पी स्किन रोग देखा परेको र लम्पी स्किन रोगका कारण ५ वटा गाइ मरेका छन् । होलिस्टिन गाईको लागि वडा नं. ५ मा सुरक्षित गोठहरु समेत निर्माण गरिएको थियो ।
अब ति गाइहरु बाट जन्मेका बाच्छीहरु कृषकहरुलाई नै उपहार प्रदान गरिने डाक्टर कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार ती गाईहरु बाट बाच्छी जन्मीएमा अहिलेको लागि कमलामाई नगरपालिका ४ र ७ का कृषकलाई उपलब्ध गराइने भएकाले गोठ निर्माणको काम गर्न लागिएको छ । यदि होलिस्टिन गाई बाट बाच्छा जन्मीए राष्ट्रिय पशु प्रजनन् केन्द्रमा बिक्रीको लागि राखीने उहाँले जानकारी दिनुभएको छ ।