बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

‘हनी ट्रयाप’ आरोपमा सिन्धुलीकी मगर पक्राउ

बिहिवार , श्रावण ३२, २०८०

काठमाडौँ — ’हनी ट्रयाप’को कसुरमा प्रहरीले सिन्धुलीकी मगर सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक युवक र एक युवती छन् । उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट मित्रता गर्दै फिरौती असुलेको आरोप छ ।

पक्राउ पर्नेमा भक्तपुरको सानोठिमी बस्ने सिन्धुली कमलामाई–१३ की आयुष्मा भनिने आसिका रजन मगर र काठमाडौं तारकेश्वर बस्ने दोलखा भीमेश्वर–५ का राजु खत्री रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले युवती समूहलाई प्रयोग गरेर सामाजिक सञ्जालमार्फत सम्पर्क गराई फोनसमेत आदानप्रदान गरी भेटघाट गर्न बोलाएर रकम ठगी गर्ने धन्दा चलाएका भेटिएको छ ।

त्यसरी भेट गराएपछि गिरोहले झुठ्ठा मुद्दा लगाएर फसाइदिने चेतावनीसहित डर, धम्की र त्रासमा पारी रकम ठगी गर्ने गरेका थिए। यसरी पीडितहरुबाट उनीहरुले ४० लाख बराबरको रकम उल्लेख भएका ८ थान चेकमार्फत रकम असुल गरेको पाइएको छ ।

उनीहरुलाई आपराधिक लाभ लिन नहुने कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुधभयो । अनुसन्धानका क्रममा उनीहरुले सामाजिक सञ्जालका माध्यमबाट युवतीको प्रयोग गरी पुरुष व्यक्तीहरुलाई खाजा खाने बाहानामा रेष्टुरेन्टमा लगि भेटघाट गराउँथे ।

उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट महिलाको प्रयोग गरी पुरुषहरुलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा भेटघाट गर्ने, निगरानी गरेर घर ठेगाना, कार्यालय तथा सवारीसाधन लगायतका विवरणहरु लिने, प्रत्यक्ष भेटघाट पश्चात झुटा मुद्दा लगाएर फसाइदिने भन्दै ‘ब्ल्याकमेल’ गरी पैसा माग्ने तथा असुली गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

आपराधिक लाभ लिएको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि दुवैलाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

 

प्रतिक्रिया