बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

टिपरमा आगो लगाउने सिन्धुलीका एकसहित ३ जना पक्राउ

बुधवार , श्रावण ३१, २०८०

सिन्धुली– बीमा रकम लिनका लागि आफ्नै टिपरमा आगो लगाएको आरोपमा सिन्धुलीका एकजनासहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुली घर भई ललितपुरको टिकाथली बस्ने रंगबहादुर बुढाक्षेत्री, टिपरधनी रामेछापको मन्थली घर भई काठमाडौँको कोटेश्वर बस्ने प्रदीपकुमार खत्री र टिकाथली बस्ने भीमसेन खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिपरधनी प्रदीपकुमारले मासिक किस्ता तिर्ने गरी १३ लाख रुपैयाँमा १३ महिनाअघि बा ३ ख २८९४ नम्बरको टिपर किनेका थिए । त्यो टिपर उनका कान्छा भाइ भीमसेनले चलाउँदै आएकोमा ४ महिनाअघि टिपर ठेचोस्थित नख्खुखोला करिडोरमा बिग्रिएको थियो ।

टिपर बनाउन धेरै पैसा लाग्ने भएपछि प्रदीपकुमारको योजनामा साउन १२ गते राति भीमसेन र सिन्धुलीका रंगबहादुरको संलग्नतामा पेट्रोल छर्केर टिपरमा आगो लगाएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

उनीहरु त्यसको भोलिपल्ट दिउँसो टिपरमा आगो लगाउनेलाई खोजी गरी कारबाहीको माग गर्दै उजुरी लिएर प्रहरी वृत्त चापागाउँ पुगेका थिए । उनीहरुले बीमा दाबी प्रयोजनाका लागि समेत आवश्यक सिफारिस प्रहरीसँग मागेका थिए । त्यसपछि शंका लागेर छानबिन गर्दा टिपरमा उनीहरुले नै आगे लगाएको पाइएकाले अपराधिक उपद्रव कसूरमा पक्राउ गरिएको डिएसपि कार्कीले जानकारी दिनुभएको छ । पक्राउ परेका ३ जनालाई जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया