सिन्धुली – विभिन्न माग राख्दै जिल्लाको नौँ वटै स्थानिय तहमा शिक्षक धर्ना बसेका छन् । सबै शिक्षक संघ,संगठनको साझा संस्था नेपाल शिक्षक महासंघको आयोजनामा जिल्लाका नौँ वटै पालिकामा पालिका स्तरीय दबाब दिन धर्नामा उत्रिएका हुन् । संसदमा प्रस्तुत नहुँदै चर्चामा आएको शिक्षा ऐनको विरोधमा ७५३ पालिकामा पालिकास्तरीय दबाब दिन शिक्षक संघ,संगठन आन्दोलनमा उत्रिएका हुन् ।
प्रस्तावित विद्यालय शिक्षा ऐनका विभिन्न बुँदा तथा केही व्यवस्थाहरूको विरुद्धमा नेपाल शिक्षक महासंघको आह्वानमा देशैभरि विरोधको आयोजना गरिएको छ । महासंघले शिक्षकहरूको माग सम्बोधन नगरे अनिश्चितकालीन विद्यालय बन्द हुने समेत चेतावनी दिँदै आइतबार पहिलो चरणको आन्दोलनको कार्यक्रम सुरु गरेको हो ।
पहिलो चरणको आन्दोलन अन्तर्गत नेपाल शिक्षक महासंघ कमलामाई नगरपालिका सिन्धुलीले स्थानीय तहमा धर्ना कार्यक्रम अनुसार कमलामाई नगरपालिका परिसरमा धर्ना तथा ज्ञापन पत्र बुझाएको छ । बिहान ११ बजेबाट २ बजेसम्म सबै स्थानीय पालिकामा महासंघको अगुवाइमा धर्ना दिइएको धर्ना कार्यक्रममा सहभागि शिक्षक रामेश्व दाहालले बताउनुभयो । सरकारले ल्याउन लागेको शिक्षा ऐनमा शिक्षकका सेवा सुविधा, सार्वजनिक विद्यालयको स्तरोन्नति लगायत सरकारसँग पटकपटक भएका सम्झौता नसमेटिएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो । “शिक्षक संघ,संगठनसँग पटक पटकका सरकारले गरेका सम्झौताका बुँदाहरू शिक्षा ऐनको ड्राफ्टमा समावेश नभएर प्रतिनिधिसभामा लैजाने खोजेपछि आन्दोलनमा उत्रिएका हौं,” उहाँले भन्नुभयो, “शिक्षकको सेवा सुविधामात्रै नभइ विद्यालयको स्तरोन्नति गर्ने मुद्दा समेत समावेश छैनन् ।” शिक्षक आन्दोलनमा उत्रिए पनि पठनपाठन भने नियमित भइरहेको छ ।
महासंघले यसपछि जिल्ला,प्रदेश र संघमा विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ । पहिलो चरण अन्तर्गत आइतबार देशका हरेक स्थानीय तहका कार्यालयमा बिहान ११ बजेदेखि दिउसो दुई बजेसम्म तीन घण्टा धर्ना दिने कार्यक्रम भएको नेपाल शिक्षक संघ कमलामाई नगरपालिका सिन्धुलीका अध्यक्ष केदार प्रसाद अधिकारीले जानकारी दिनुभयो । ३ घण्टा धर्ना सँगै केन्द्रले पठाएको ३० बुँदे र ५१ बुँदे सहमतिका छाया प्रति सहित जानकारी पत्र नगरपालिकालाई बुझाइएको उहाँले बताउनुभयो । पहिलो चरणको आन्दोलनबाट आफूहरूको मागको सुनुवाइ नभएमा दोस्रो चरणको आन्दोलन सुरु हुने जनाइएको छ ।