सिन्धुली – जिल्लामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय सिन्धुलीले डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्न सुरुवात गरेको हो ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा सिन्धुलीमाडी बजार क्षेत्रमा लार्भा खोज्दै नष्ट गर्ने र डेंगु बाट बच्ने चेतना नागरिकलाई दिन अभियान नै थालिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख राजन प्रसाद पोखरेलले जानकारी दिनुभयो । डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि लामखुट्टेको लार्भा नष्ट गर्नुका साथै समुदायमा पुगेर सचेतना फैलाउन जिल्लाका नौ वटै स्थानीय तहहरुसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।
डेंगु भाइरस द्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले डेंगु रोग सार्दछ । लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ ।
डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । पोथी जातको लामखुट्टेले अण्डा पार्ने वेलामा टोक्ने गर्छ । एक व्यक्तिको रगतले नअघाउँदा पुनः अर्को व्यक्तिलाई टोक्ने गर्छ, जसका कारण धेरै मानिसमा डेंगुको संक्रमण हुन जान्छ । लामुखट्टेले डेंगी सार्ने भएकाले यसको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरूको सुझाब छ ।