बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा दिगो बिकासको सोचकै अभाब

बिहिवार , श्रावण २५, २०८०

सिन्धुली– दिगो बिकासको सोच र अवधारण बिपरित जिल्लामा विस्तार गरिएको दर्जनौं सडकहरु २४ घण्टाको बर्षाका कारण पहिरोमा परिणत भएका छन । दर्जनौं सडक पहिरोमा परिणत हुँदा जिल्लामा करोडौं रकमको क्षति भएको छ ।

ऋतु अनुसार अनायास रूपमा आइपर्ने खतरा , जसले मानवीय , भौतिक तथा पर्यावरणीय नोक्सानीलाई निमत्याउने गरेको छ । सामान्यतया मानव प्रकृति बिच विपदको पुरानो र स्वभाविक सम्बन्ध रहे पनि जनसंख्या वृद्धि , वन विनाश, बढ्दो गरिबी, बेरोजगारी र प्रदूषणले प्रकृतिमाथि हस्तक्षेप बढाउन थालेपछि, सोही अनुपातमा प्रकृतिले पनि आफ्नो स्वरुपमा परिवर्तन , आकार प्रकारमा देखाएको विकराल रूपले जताततै क्षति हुने गरेको छ । हरेक बर्षाको याममा भौतिक तथा मानवीय क्षति स्वभाविक जस्तै बनिसकेको छ ।

वर्तमानको आवश्यकता सम्झौता नगरिकन भावी पुस्ताको आवश्यकता पुर्ति गर्दै जानु दिगो विकास हो । तर बर्तमानको आवश्यक्ता परिपूर्ति गर्ने नाममा भएका बिकासले अस्वभाविक रुपमा बिनास निमत्याउने गरेको तथ्यको साक्षी हामी सबै बन्नु परेको अवस्था छ ।

वातावरण संरक्षणका लागि दिगो विकास महत्वपुर्ण मानिन्छ । दिगो विकासको उदेश्य स्रोत साधन नास नगरी आर्थिक र सामाजिक विकास गर्नु हो । दिगो विकास सम्पुर्ण जिवित मानिसहरूको कल्याणमा केन्द्रित हुन्छ । विकास निर्माणमा वातावरण प्रतिकुल कार्य गरिए विकासबाट आशा गरिएका लक्ष्यसम्म पुग्न कठिन हुन्छ ।

हाम्रो समाजको बिकासमा दिर्घकालिन सोच र दिगो बिकासको अवधारणा अनुसार गर्न नसक्दा बर्षेनी भौतिक तथा मानवीय क्षतिको भईरहेको छ । हिउँदोमा लाखौं खर्चेर निर्माण गरिएका बिकासका संरचनाहरु बर्षा लागेपछि जोगाउँनै मुस्कील पर्ने अवस्थामा हाम्रो बिकासका संरचनाहरु छन् ।

सोमबार राति देखी निरन्तर परेको बर्षाका कारण जिल्लाका दर्जनौं ग्रामीण सडकहरु पहिरोमा परिणत हुन पुगेका छन भने करोडौंको क्षति भएको अवस्था छ । बातावरण प्रभाव मुल्याकंन बिना नै बिकास गर्ने नाममा गाउँ–गाउँमा डोजर कुदाउँदा हिउदो याममा गरिएको बिकास पहिरोमा परिणत हुन पुगेको छ । हिउँदोको बिकासलाई भाग्य सम्झेका स्थानीयहरु बर्षा लागेपछि बिकासलाई काल सम्झनुपर्ने अवस्थामा छन ।

ड्रेन बिना जथाभावि खनिएका सडक अहिले खोल्सोमा परिणत हुन पुगेको फिक्कल गाउँपालिकाका स्थानीय जय प्रसाद न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदमा बिकास देख्न पाईन्छ, बर्खामा बगाएर लैजान्छ, लाखौं रकम बाढि र पहिरोमा परिणत हुन्छ ।” हिउँदे बिकासले ग्रामीण क्षेत्रमा केहि समयको लागी खुसी दिएपनि बर्षामा बिपद निमत्याउने गरेको न्यौपानेको बुझाई छ ।

कतिपय सडकहरु ठेकेदार कम्पनीको लापरबाहिका कारण पनि निर्माण कार्य नसकिदै पहिरोमा परिणत हुने गरेका छन । समयमै काम सम्पनन् नगर्ने तथा गुणस्तरिय काम नगर्ने समस्याले बर्खा लागेपछि सडकहरु पहिरोमा परिणत हुने गरेको सुनकोशी गाउँपालिका–७ का लोक बहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनिले समयमै गुणस्तरिय काम गरिदिए सडकले पानि धान्न सक्थ्यो तर के गर्नु समयमा काम हुँदैन, त्यसैले भएको काम पनि बर्षातको समयमा बगाएर लैजान्छ, खर्च माथि खर्च मात्र बढ्दो छ ।”

जिल्लाका तिन राजमार्गहरु वीपी, मध्यपहाडी, र मदनभण्डारी राजमार्ग समेत जथाभावि खनिएका ग्रामीण सडकको कारण बर्षा सुरु भएपछि अबरुद्ध हुने गरेका छन भने यीनै राजमार्गलाई आधार बनाएर ग्रामीण क्षेत्रमा विस्तार भएका सडकहरु अहिले प्राय सबै बन्द अवस्थामा छन । सडकहरुलाई पुन सञ्चालनका लागी करोडौं रकम खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया