सिन्धुली– बजार अनुगमनको क्रममा उपभोक्ताहरुलाई अखाद्य सामाग्री बेचेको भेटिएपछि कमलामाई–४ ढुंग्रेबासमा रहेको कमला सप्लायर्समा ताला लगाईएको छ ।
बुधबार कमला सप्लायर्सले घुन लागेको चामलको बोरा बिगारेर रिप्याकेजिङ् कार्य गर्न लागेको भन्ने गुनासो आएपछि जिल्ला स्तरीय बजार अनुगमन समितिका पदाधिकारीहरू जिल्ला प्रशासन कार्यालय सिन्धुली, घरेलु तथा साना उद्योग कार्यालय सिन्धुली, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता अधिकार मञ्चका प्रतिनिधि, सुरक्षा निकाय लगायतको टोलीले कमला सप्लायर्समा अनुगमन गर्न पुगेको थियो ।
अनुगमनका क्रममा चामलको बोरामा घुन भेटिनुका साथै गोल्डेन फ्लेभर ब्राण्डका चामल मध्ये २० बोरा चामलको प्याकेट खोलेको भेटेपछि सप्लायर्स सिल गरिएको घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीले जनाएको छ ।
खोलेका अधिकांश बोराको चामल संकलन गरी खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली नमुना परीक्षणका लागि संकलन गरिएको र बरामद भएको सबै चामल सोही सप्लार्यसको एउटा कोठामा भण्डारण गरी तालाबन्दी गरी नमुना परीक्षणको प्रतिवेदन नआएसम्म विक्री वितरण नगर्ने गरी तालाबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
सप्लायर्सका संचालक जयकुमार दासलाई चामलको खरिद विल नभेटिएकोले १५ हजार रुपैंया जरिवाना गरिएको छ । नमुना परीक्षणको प्रतिवेदन आएपछि संयुक्त बजार अनुगमन समितिको निर्णय अनुसार कानुन बमोजिम थप कारबाही हुने बताइएको छ ।