सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँपालिका जिल्लाका नौँ स्थानीय तहहरु मध्ये सबैभन्दा बढी बिवादको चर्चामा रहने गरेको छ । सधैँझै विवादको घेरामा रहने गोलन्जोरमा गत असार १४ गते १३ औँ गाउँ सभापछि वडा नम्बर २ का अध्यक्ष दौलत विक्रम कार्कीले प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद पौडेलको कठालो समातेपछि गाउँपालिकामा पुनः विवाद देखिएको थियो ।
विवादित र अराजक छविका वडाध्यक्ष कार्कीले गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत पौडेलेको कठालो समातेको त्यतिबेला प्रत्यक्षदर्शिले बताएका थिए । सोहि घट्नालाई लिएर पौडेल जिल्ला प्रहरी कार्यालयमा पुग्नुभएको थियो । आफुविरुद्ध वडाध्यक्ष कार्कीले अभद्र व्यवहार गरेको भन्दै पौडेलले असार १५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरि दर्ता गर्नुभयो । जाहेरि दर्तापछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कार्की विरुद्ध पक्राउ पुर्जि जारी गरेको थियो । पक्राउ पुर्जि जारी भएको एक महिना बिति सक्दापनि वडाध्यक्ष पक्राउ नपरेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले वडाध्यक्ष फरार रहेको बताउनुभएको थियो ।
अन्ततः वडाध्यक्ष कार्कीले पक्राउपुर्जि जारी भएको ३६ दिनपछि जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्नुभएको थियो । आत्मसमर्पण गरेको एक दिनपछि सोमबार जिल्ला अदालतले २५ हजार धरौटीमा कार्कीलाई रिहा गर्ने निर्णय ग¥यो ।
प्रमुख प्रशासकिय अधिकृत पौडेलले सामान्य विवादलाई लिएर नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष कार्कीविरुद्ध जाहेरि दिएको भन्दै नेपाली काँग्रेस गोलन्जोर गाउँपालिका कमिटिले गत असार २७ गतेदेखि निरन्तर गाउँपालिका कार्यालयमा धर्नामा बसीरहेको थियो । गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने ‘पुकार’ ले सोमबार राती नेपाली काँग्रेस गोलन्जोर गाउँपालिका सभापति मोति सापकोटालाई भिड्न निम्ता दिएपछि विवाद थप बल्झिएको हो । उपाध्यक्ष पुकारले सभापति सापकोटालाई भिड्न निम्ता दिएपछि मंगलबार गाउँपालिका कार्यालयमा तनाबको अवस्था सिर्जना भयो । उपाध्यक्ष पुकारको उक्त निम्तालाई स्विकार्दै नेपाली काँग्रेसका नेता, कार्यकर्ता मंगलबार गाउँपालिका कार्यालय पुगेका थिए । गाउँपालिकाको कार्यालयमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का नेता कार्यकर्ता एक्कठा भएका थिए । परिस्थितीलाई नियन्त्रणमा लिन बिहानै देखी इलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालित थियो । भिडन्तको स्थिती आउन नदिन प्रहरीले प्रयास गरिरहेको थियो । उपाध्यक्ष पुकारले नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको बीचमा उपस्थित भई गएरातिको अभिब्यक्तिप्रति आत्मआलोचना गरेपछि परिस्थिती साम्य भएको थियो ।
गाउँपालिकामा भएको छलफल पश्चात उपाध्यक्ष न्यौपानेले माफि मागेपछि उपाध्यक्षसँगको बिषय सकिएको र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिने अडान भने आफुहरुको कायमै रहेको नेपाली काँग्रेस गोलन्जोर गाउँपालिकाका सभापति सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “समान्य बिवादको बिषयलाई लिएर आफ्नै कार्यपालिकाको सदस्यलाई मुद्धा लगाउने जुन काम हाकिमले गर्नुभयो त्यो हाम्रो लागी स्वीकार्य छैन । मुद्धा, मेलमिलाप वा खारेजीको अवस्था नहुँदा सम्म हामी हाकिमलाई स्वीकार गर्न सक्दैनौँ ।”
धर्नामा बसेको नेपाली काँग्रेससँग बार्ता र सहमति खोजी गर्नुभन्दा पनि उपाध्यक्ष न्यौपानेले तर्साउने र थर्काउने काम गरेकोमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता आक्रोशीत बनेका छन् । गाउँपालिकाको नेतृत्व गर्ने अध्यक्ष र उपाध्यक्षले बार्ता र छलफल मार्फत सहमति खोज्ने प्रयास समेत नगरेको नेपाली काँग्रेसका नेता मोति सापकोटाले बताउनुभयो । सापकोटाले भन्नुभयो, “गाउँपालिकामा रहेको बेथिती बिरुद्ध हामीले निरन्तर आवाज उठाईरहेका छौं, सिस्टम भन्दा बाहिर गएर गाउँपालिका चलाउने प्रयास भईरहेको छ, त्यो हाम्रो लागी स्वीकार्य छैन ।”
गोलन्जोर गाउँपालिकामा गठबन्धन दलको तर्फबाट उपाध्यक्षमा निर्वाचित पुकार गठबन्धनकै घटक नेपाली काँग्रेसको निशानामा पटक–पटक परिरहनुभएको छ । गत वैशाख ३१ गते सम्पन्न स्थानिय तहको चुनावको नतिजा आउँदा पुकारमाथि नेपाली काँग्रेसकै कार्यकर्ताले हातपात गरेको श्रोतले बतायो । पछिल्लो समय पनि नेपाली काँग्रेसकै नेता कार्यकर्ताहरुबाट उपाध्यक्ष पुकार बिभिन्न खालको आक्रमणको निशानामा पर्ने गर्नुभएको छ । उपाध्यक्ष पुकारले मादक पदार्थ सेवन गरि धम्की दिने गरेको आरोप लाग्दै आएको छ ।
त्यस्तै, उपाध्यक्ष पुकारले नेपाली काँग्रेसका नेता कार्यकर्ताले विभिन्न बखेडा झिक्दै गाउँपालिकामा बिवाद सिर्जना गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकामा काम गर्न नदिने, बखेडा झिक्ने, अनि प्रमुख प्रशासकीय अधिकृतलाई धम्क्याउने जस्ता गतविधि भैरहेको छ, त्यो हामीलाई स्वीकार्य छैन ।” आफुहरु झडप भन्दा पनि छलफलबाटै समस्याको समाधान गर्न तयार रहेको बताउँदै उपाध्यक्ष न्यौपानेले सोमरसको बिषय र आरोप गलत रहेको बताउनुभयो ।
गोलन्जोरमा राजनैतिक दल असफल !
जिल्लाका राजनैतिक दलको अपरिपक्वताका कारण गोलन्जोर गाउँपालिकामा विवाद बल्झिएको स्थानियले बताएका छन् । मंगलबार जम्मा भएको भिडलाई देखाउँदै एक स्थानियले नाम नबताउने शर्तमा सिन्धुली सौगातलाई भने, “कुकुरले टोक्यो भन्दैमा कुकुरलाई नै टोक्न खोज्नु अमानविय व्यवहार हो ।” उपाध्यक्ष पुकारले राती गालीगलौज गरे भन्दैमा अर्को दलले कार्यकर्तालाई उतारेर गाउँपालिकाको कार्यालयनै घेर्ने र मुठभेड गर्न खोज्ने प्रवृत्ति गैर राजनितिक कार्य भएको उनले बताए । साथै, उनले जिल्लाका राजनैतिक दलको नेतृत्वले गाउँपालिकाको विवादलाई सुल्झाउने भन्दापनि भड्काउन खोजेको आरोप लगाए । राजनैतिक दलले कार्यकर्तालाई राजनैतिक संस्कार भन्दा पनि हिंसाको बिजरोपण गरिरहेको उनले बताए ।