सिन्धुली, २३ साउन — लगातारको वर्षापछि कमलानदीमा आएको बाढीले खतराको तह पार गरेको छ । जलमापन केन्द्र रानीवासका अनुसार तीन मिटर सम्मको तहलाई खतरा मानिएकोमा अहिले तीन मिटर ३० सेन्टिमिटर पुगेको छ । सर्तकता तह भन्दा ३० सेन्टिमिटर बढी भएको र अझै त्यो बढिरहेको जलमापन केन्द्रकी सीता पौडेलले जानकारी दिइन् ।
कमलानदीको बाढीले सर्तकता तह पार गरेकाले दुधौली नगरपालिकाको निपाने, हत्पते, डकाहा, हर्षाही, टाँडी, लदाभीर, दुधौली कर्था, लगाएतका डुबान हुने क्षेत्रमा उच्च सर्तकता अपनाउन सिन्धुली प्रशासनले अनुरोध गरेको छ ।
उता वाग्मती नदीमा आएको बाढीले हरिहरपुरगढी गाउँपालिका–३ को बगर खेतीमा कटान सुरु गरेको छ । चँदाहा खोलाले तीनपाटन गाउँपालिका पाटन फाँटमा धानखेत कटान सुरु गरेको छ ।