सिन्धुली– स्थानीय तहको निर्वाचनको बेलामा जनतासँग भेट माग्दा आफु निर्वाचित भएपछि निजी स्वार्थमा नलागेर विकास, सुशासन र जनताको सेवामा केन्द्रीत हुने वाचा गरेका स्थानीय तहका जनप्रतिनिधि सुविधा भोगी मात्रै भएको पाइएको छ ।
निर्वाचित भएको एक बर्ष बित्तिसक्दा अधिकांश स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले अनावश्यक रुपमा आर्थिक लाभ लिने कार्य गर्नुको साथै आफू चढ्ने गाडी र मोटरसाइकलको पनि ब्यापक दुरुपयोग गरिरहेका छन ।
सरकारी काम बाहेक आफ्नो ब्यक्तिगत काम तथा पार्टीका काममा समेत जनप्रतिनिधीहरुले सवारी साधनको प्रयोग गर्दा स्थानीय तहलाई आर्थिक भार बढ्दै गईरहेको छ ।
जिल्लाको अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरुले महँगो गाडी र हेभी मोटरसाइकल विकास गर्न आएको बजेट रकमबाट सवारीसाधन चढी आफूलाई समाजमा ठुलो व्यक्ति देखाउने कार्यमा केन्द्रित भएको स्थानीयले आरोप लगाएका छन् ।
गाउँपालिका तथा नगरपालिका प्रमुख र उप्रमुखहरुले महिन्द्र कम्पनीको महँगो तथा सुबिधा सम्पन्न स्कारपियो गाडी चढ्ने गरेका छन भने वडा अध्यक्षहरुले हेभी मोटरसाइकल चढ्ने गरेका छन् ।
जनप्रतिनिधिहरुले निजी स्वार्थ तथा समाजमा ठुलो व्यक्ति देखाउनको लागि जथाभावी तरिकाले स्कापियो र हेभी मोटरसाइकलको प्रयोग गर्दा स्थानीय तहलाई दिर्घकालिन रुपमै आर्थिक भार बढिरहेको गुनासो कर्मचारीबाटै हुने गरेको छ ।
स्थानीय सरकारका प्रमुख, उपप्रमुख र वडा अध्यक्षले आन्तरिक राजश्व बढाउन कार्य गर्नु भन्दा बढी केन्द्रबाट प्राप्त हुने विकास निर्माणको बजेट रकमबाट नै अनावश्यक भत्ता लिने र सवारी साधन दुरुपयोग गर्न मै केन्द्रित भएको बेला बेलामा चर्चा हुने गरेकै छ ।
चुनावको बेलामा गरिएको खर्च रकमलाई असुल्न र त्यसको फाइदा लिने कार्यमा मात्रै स्थानीय तहका जनप्रतिनिधिहरु अहिले केन्द्रित भएको हुँदा अनावश्यक भत्ता लिने, खर्च भएको भन्दा बढीको बिल पेश गरेर भुक्तानी लिने, मँहगो गाडी र मोटरसाइकल चढने जस्ता कार्यहरु जनप्रतिनिधीबाट भएको नागरिक निगरानी सञ्जाल सिन्धुलीका अध्यक्ष बेदराज दाहालले बताउनुभयो ।
स्थानीय तहका वडामा चुनाव लडेका उम्मेदवारले ५० लाखसम्म र प्रमुखमा चुनाव लडेका उम्मेदवारले एक करोडसम्म खर्च गरे पछि उनीहरुले चुनाव जितेर आए पछि स्थानीय तहको विकास गर्नु भन्दा बढी निजी स्वार्थमा लाग्ने कुरा स्वभाविक भएको स्थानीय दिपक मिश्रले बताउनुभयो ।
प्रमुख र वडा अध्यक्षहरुलाई गाडी सुबिधा दिदा इन्धन र मर्मतमा मात्रै बार्षिक लाखौं रुपैंया गाउँपालिकालाई आर्थिक भार हुने गरेको भएपनि जनप्रतिनिधिहरुको बिरोधमा जान सकिने अवस्था नरहेको स्थानीय तहका एक प्रमुख प्रशासकीय अधिकृतले बताउनुभयो ।
जनप्रतिनिधिहरुको सेवा सुबिधाको लागि खरिद गरिएको गाडी र मोटरसाइकलको इन्धन र मर्मत खर्च स्थानीय तहले नै व्यहोर्ने गरेको छ । दिनहुँ गाउँ गाउँमा पुग्नु पर्ने र त्यसको लागि जनप्रतिनिधिहरुलाई सवारी चाहिने भएकोले गर्दा गाउँपालिकाले प्रमुख, उपप्रमुखका लागी एक करोड खर्चेर सवारी साधन खरिद गरेको गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेलले बताउनुभयो ।
स्कारपियो गाडी र हेभी मोटरसाइकल चढने बाहेक पनि स्थानीय तहका जनप्रतिनिधिहरुले भित्र भित्रै लाखौं रकम भत्ता र अनावश्यक कार्यमा पनि खर्च गरेको स्थानीयहरुले गुनासा गरेका छन् ।
दुई नगरपालिका सात गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेको सिन्धुलीका अधिकांश स्थानीय तहहरुले प्रमुख र उपप्रमुखलाई गाडि र वडा अध्यक्षहरूलाई हेभी मोटसाइकल उपलब्ध गराएका छन ।
सिन्धुलीका जनप्रतिनिधीहरुले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धी ऐन–२०७५ ले उपलब्ध गराएको सवारी साधन सम्बन्धी सुविधा भन्दा बढी मात्रामा सवारीको दुरुपयोग र इन्धनको खपत गर्दै आईहरेका छन ।