सिन्धुली – आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि कमलामाई नगरपालिका मातहतका विद्यालयहरू पाँच दिनका लागि बन्द गरिने भएको छ । कमलामाई नगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
कमलामाई नगरपालिका तथा शिक्षासँग सम्बद्ध संघ संगठन, प्याबसन, एनप्याबसन लगायतका प्रतिनिधीहरुको उपस्थितीमा बसेको बैठकले साउन २२ गतेदेखि २६ गतेसम्म नगरपालिकामा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।
पछिल्लो केही दिन यता सिन्धुलीको आँखा अस्पताल तथा क्लिनिकहरुमा बिरामीको भीड बढेको छ । आँखा पाक्ने रोग धेरै फैलिएकाले बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ ।
सिन्धुलीको अहिले गाउँ गाउँमा पनि आँखा पाक्ने रोग फैलिएको छ । सबैभन्दा बढी बालबालिकामा संक्रमण देखिएको छ ।
संक्रमण भइसकेपछि शुरूमा आँखा बिझाउने, चिलाउने, चिप्रा टाँसिने, आँखा रातो हुने, आँसु बग्ने, घाममा हिंड्न गाह्रो हुने लगायत लक्षण देखापर्छन् । कसैकसैको आँखाको ढकनी पनि सुन्निन्छ ।
