बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

शिद्धेश्वर खानेपानीको समस्याले हैरान उपभोक्ता

आइतवार , श्रावण २१, २०८०

सिन्धुली – नेपालको संविधानको धारा ३५ को स्वास्थ्य सम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको भएपनि सिन्धुलीमाढीबासी स्थानीयहरूले आफूहरू शुद्ध खानेपानीबाट बन्चित भएको गुनासो गरेका छन् ।

कमलामाई नगरपालिका भित्र शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उलब्ध गराउँदै आईरहेको खानेपानीमा दिसापिसाबमा पाइने जीवाणु ‘कोलिफर्म’ भेटिएको छ । शुक्रबार कमलामाई नगरपालिका–५ मधुटारमा सर्मिला थापाको धारामा आएको पानीमा जिवाणु भेटिएको हो ।

मानिस, जनावर र पन्छीको दिसापिसाबमा पाइने जीवाणु ‘कोलिफर्म’ पानीमा भेटिएको थापाले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “धारामा नियमित पानी आउँदैन, आउँदा पनि दुषित खान नमिल्ने पानी आउछ, पैसा नियमित तिर्नुपर्छ तर धारामा खान मिल्ने पानी आउँदैन ।” धारामा दुषित पानी आउँदा आफुहरु किनेर जारको पानी खान बाध्य भएको थापाले गुनासो गर्नुभयो ।

थापा जस्तै संयौं उपभोक्ताहरु धारामा नियमित पानी नआउने र दुषित पानी आउने समस्याले हैरान भएका छन । कमलामाई नगरपालिका–५ कै हर्क नारायण श्रेष्ठले पनि धारामा नियमित पानी नआउने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “ पैसा तिरेपछि कम्तीमा पानी त नियमित पाउनु पर्‍यो नि, धारामा पानि नै आउँदैन ।” शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनाबमा भोट माग्दा नेताहरुले नियमित र शुद्ध पानी खुवाउने भन्दै भोट मागेको भएपनि अहिले त्यो आश्वासन सिन्धुलीबासीलाई पुरा गर्न नसकेको श्रेष्ठले बताउनुभयो ।

शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कमलामाई नगरपालिका वडा नं.४, ५, ६ र ७ का उपभोक्ताहरुलाई खानेपानी ब्यवस्थापनको काम गरिरहेको छ । हाल ३ हजार ६ सय ५३ धारा जडान गरिएको शिद्धेश्वर खानेपानीले जनाएको छ ।

नगरपालिका क्षेत्रमा खानेपानीको ब्यवस्थापनको लागी प्रदेश सरकार तथा स्थानीय सरकारले लाखौं लगानी गरिरहेका छन । तर नगरवासीले शुद्ध र गुणस्तरिय खानेपानी पाउन सकेको अवस्था छैन भने । उपभोक्ताहरुको माग अनुसार खानेपानीको आपूर्ति गर्न सकेको अवस्था छैन ।

खानेपानी ब्यवस्थापनको नेतृत्व गरिरहेको शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति उपभोक्ताहरुसँग माशिक लाखौं रुपैयाँ संकलन गरिरहेको भएपनि बितरण भईरहेको पानीको गुणस्तर जाँच गर्न प्राविधिक र ल्याबको ब्यवस्थापन समेत गर्न सकेको छैन ।

शिद्धेश्वर खानेपानीले फिल्टरबाट नै पानी पठाउने गरेको र पानीको गुणस्तर चेकजाँचका लागी आफुहरुसँग ल्याब नभएकाले काठमाडौँ पठाउने गरिएको शिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष घनश्याम देवकोटाले बताउनुहुन्छ । चुनाबी प्रतिसप्रर्धाबाट नेतृत्व चयन हुँदा सबैपक्षको सहयोग नपाएर पनि शिद्धेश्वर खानेपानी उपभोक्ता संस्था गतिशिल बन्न सकेको छैन । जस्का कारण उपभोक्ताहरु विभिन्न् खालका समस्याहरु भोग्न बाध्य हुने गरेका छन ।

नगरबासीलाई शुद्ध खानेपानीको ब्यवस्थापन गर्ने जिम्मेवारी मुख्यत स्थानीय सरकारको हो । तर स्थानीय सरकार खानेपानीको पर्याप्तता तथा शुद्धताको बारेमा बेखबर झै बसीरहेको उपभोक्ताहरुको गुनासो छ ।

प्रतिक्रिया