सिन्धुली– कमलामाई नगरपालिकाले सुरु गरेको सरसफाई महाअभियान प्रभाबकारी बन्दै गईरहेको छ । गत चैत्र १० गतेबाट सुरु गरिएको अभियान निरन्तर जारी छ । प्रत्येक शुक्रबार जिल्लाका सुरक्षा निकायका प्रमुख देखी विभिन्न् कार्यालयका प्रमुखहरु, जनप्रतिनीधी र नागरिकहरु सडकमा सरसफाई गर्दै हिडिरहेको देख्न पाईन्छ । यो दृश्यले साच्चै अभियान सफल बनिरहेको बुझ्न कठिन छैन ।
स्थानीय नागरिकहरुको उत्साहजनक साथ र सहभागीता त छदैछ अभियानमा बागमती प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, सिन्धुली क्षेत्र नं.१ का सांसद श्याम घिमिरे लगायतका भिआईपीहरुको पनि सहभागित देख्न सकिन्छ । शहरलाई सुन्दर बनाउने अभियानमा स्थानीय देखी जिल्लाका मन्त्री र सांसदहरुको सहभागीताले अभियानमा अझ जोश थपिएको कमलामाई नगरपालिका बातावरण शाखा प्रमुख सागरकुमार ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “बातावरणलाई जति सफा राख्न सक्यो त्यति हाम्रो पहिचान र परिचय झल्कन्छ, त्यसैले हामी सुन्दर बातावरण सिर्जना गर्ने अभियानमा निरन्तर क्रियाशिल छौं ।” नगरक्षेत्र र वीपी राजमार्गलाई सरसफाई युक्त बनाउन बिभिन्न् अभियानहरु सञ्चालन गरिरहेको ढकालले जानकारी दिनुभयो ।

त्यस्तै सुन्दर वीपी राजमार्गको निर्माण गर्न कमलामाई नगरपालिकाले वीपी राजमार्गको सेल्फी डाँडामा बिभिन्न् जातका फुलहरु समेत लगाएको छ भने नगरपालिका र वीपी राजगर्मा आसपासका क्षेत्रमा बृक्षारोपणको कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ ।
कमलामाई नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को निती तथा कार्यक्रममा भनिएको छ, “सफा सुन्दर हराभराः हाम्रो राम्रो कमलामाई नगरपालिका” यो अभिष्टलाई पुरा गर्ने उदेश्यका साथ कमलामाई नगरपालिकाले सरसफाई महाअभियान सञ्चालन गरिरहेको छ । बजार क्षेत्र मात्र हैन विशेषत सुन्दर वीपी राजमार्गलाई पनि पूर्ण रुपमा सरसफाई युक्त राख्ने महाअभियानको उदेश्य रहेको नगरपालिका कार्यालयले जनाएको छ
।
कमलामाई नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको नेतृत्वमा जिल्लाका सुरक्षा निकाय तथा सामाजिक संघ संस्था र टोल सुधारका सदस्यहरु प्रत्येक साताको सरसफाई अभियानमा सक्रिय हुने गरेका छन । जस्का कारण सिन्धुलीमाढी क्षेत्र, वीपी राजमार्ग क्षेत्र सुन्दर देखिन सुरु भएको छ । शहरलाई सुन्दर राख्न सुरु गरिएको अभियानले स्थानीयबासीहरुलाई समेत उत्साहित बनाएको छ । फोहोर जहाँतहि नफाल्न सचेतना पनि फैलाएको छ ।
नियमित हुने फोहोर संकलन र ब्यवस्थापन बाहेक बजारलाई सुन्दर राख्न कमलामाई नगरपालिकाले सार्वजनिक तथा महत्वपूर्ण स्थानहरुमा डष्टविनको व्यवस्था गरेको, सडकको किनारामा हुने खुल्ला दिसा पिसाब अन्त्यका लागि उपयुक्त स्थानमा पार्किङ्ग तथा शौचालयको व्यवस्था समेत गरेको बातावरण शाखा प्रमुख सागर ढकाल बताउनुहुन्छ ।
बजार क्षेत्रमा र राजमार्ग क्षेत्रमा मनपरि होर्डिङ बोर्डहरु राख्दा कुरुप बनेको भन्दै बजार तथा बाटोमा नियम विपरित जथाभावी होडिङ बोर्ड राख्न रोक लगाउने निती समेत नगरपालिका कार्यालयले लिएको छ ।
बजारलाई सुन्दर र ब्यस्थित बनाउन ढलको उचित ब्यवस्थापन, फोहोर ब्यवस्थापन, सडकमा रहेका बिजुलीका तार र अन्य तारहरुको ब्यवस्थापन लगायतको कार्य गरी सुन्दर र सभ्य सहरको निर्माण गर्ने अभियान रहेको नगरपालिका कार्यालयले जनाएको छ ।
बढ्दो शहरीकरण र वातावरणीय प्रभावलाई ध्यान दिदै नगरक्षेत्रमा तरल फोहोरलाई व्यवस्थापन गर्ने स्लज ट्रिटमेन्ट केन्द्र भिमान र सिन्धुलीमा निर्माण गर्न चालु आर्थिक बर्षमा २४ लाख बजेट बिनियोजन गरेको छ । जस्का कारण चर्पी र अन्य स्थानबाट निस्कने फोहोरलाई प्रशोधन गरी मल उत्पादन हुने छ ।