सिन्धुली – सिन्धुली बहुमुखी क्याम्पसका प्राध्यापक ईश्वर बस्नेत साताको एकपटक सोलाभन्ज्याङ पुगेकै हुन्छन् । सदरमुकाम सिन्धुलीमाडीको उखरमाउलो गर्मी छल्नका लागि प्राध्यापक वस्नेत २० किलोमिटर उत्तरमा रहेको सोलाभन्ज्याङमा पुगेर स्वर्गिय आनन्द लिन्छन् । उहाँ भन्नुभयो, “गर्मी भुल्नका लागि म प्रायजसो सोलाभन्ज्याङ आउँछु, यहाँ बेग्लै आनन्द छ, १२ महिना नै जाडो हुन्छ ।” सदरमुकामबाट उत्तरतर्फ र खुर्कोटबाट उकालो लागेपछि उस्तै दुरीमा पुगिने सोलाभन्ज्याङ सिन्धुलीगढी क्षेत्रको प्रवेशद्धार पनि हो ।
फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले सदरमुकाम आवतजावत गर्दा गढी नजिकको सोलाभन्ज्याँङमा सँधैजसो केही समय बिताउने गर्नु भएको छ । सदरमुकाम र आफ्नो गाउँपालिकाको कार्यालय रहेको गढतीर क्षेत्रमा उखरमाउलो गर्मी हुन्छ । गढी क्षेत्र आएपछि गर्मीको समयमा समेत हुने जाडोले आनन्द प्राप्त हुने उपाध्यक्ष बराालको अनुभव छ ।
कामको चटारो त्यहिमाथि गर्मीले गर्दा धेरै नै थाकिएको हुन्छ, उपाध्यक्ष बरालले भन्नुभयोे्, “सोला आउना साथ बेग्लै आनन्द हुन्छ, फुर्सद छ भने गढी नै उक्लिएर आनन्द लिइन्छ, चटारो छ भने पनि एक,आधाघण्टा यहाँ बिताइन्छ ।” सोला पुग्नासाथ बेग्लै आनन्द आउने उहाँले बताउनुभयो ।
फिक्कलका उपाध्यक्ष बराल मात्र होइन्, गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर बरालको पनि अनुभव उस्तै छ । तनाव र थकान मेटाउने थलो गढी क्षेत्र हो, उहाले भन्नुभयो “१२ महिना यहाँ हुस्सु लागेर जाडो भइरहन्छ, झन गर्मीमा स्वर्गिय आनन्द नै प्राप्त हुन्छ ।” गढी क्षेत्रको बृहत्तर विकास गर्न सके पर्यटकको ओइरो लाग्ने उहाको भनाइ छ । गोलन्जोर कै वडा नं ५ रातनचुराले गढी क्षेत्रलाइ छोएको र त्यसलाइ साइकल जोनको रुपमा विकास गर्न गाउँपालिका लागि परेको अध्यक्ष बरालले बताउनुभयो ।
यी जन प्रतिनिधिहरु मात्रै हैन्, संघ तथा प्रदेश सांसद, मन्त्रीहरु तथा उच्चपदस्थ अधिकारी देखि लिएर बीपी राजमार्ग हुँदै सवार गर्ने जो कोही पनि सोलाभन्ज्याङ क्षेत्रमा शितलता पाउनका लागि रोकिन्छन् । गढी क्षेत्रमा बसोबासको राम्रो व्यवस्था हुने हो भने केही दिन बिताउनका लागि समेत पर्यटक आउने सिन्धुलीगढीका अन्वेषणकर्ता सागरकुमार ढकालको भनाइ छ ।
सदरमुकामबाट २० किलोमिटर उत्तरतर्फ गएपछि सो क्षेत्र पुगिन्छ । गर्मी मौसममा समेत सिन्धुलीगढी क्षेत्रमा जाडो हुने गरेको छ । गर्मी भुलाउन र प्राकृतिक सौंदर्यको मज्जा लिन तराइ क्षेत्रको हब सिन्धुलीगढी क्षेत्र बन्दै गएको छ । सिन्धुलीगढी क्षेत्रमा रहेको ऐतिहासिक महत्व, हावापानी र नागबेली सडकको मज्जा लिन तराइबाट सयौं सवारी साधनमा आन्तरिक पर्यटकहरु यहाँ आउने गरेका छन् । वर्षातको समयमा पनि गर्मी भुलाउन सिन्धुलीका मात्र नभएर छिमेकी जिल्ला तथा भारतबाट समेत आन्तरिक तथा बाह्य पर्यटकहरु गढी क्षेत्र पुग्ने गरेका छन् ।
वनभोजका लागि तथा सामान्य घुमघामको रोजाइको क्षेत्र सोलाभन्ज्याङ पर्र्दै गएको स्थानीयको भनाइ छ । गर्मीमा चिसोको मज्जा लिन सयौंको संख्यामा तराइ क्षेत्रबाट आन्तरिक पर्यटकहरु आउने गरेको सिन्धुलीगढी संरक्षण समितिका सचिव एवं स्थानीय शिक्षक खिलराज देवकोटा बताउनुहुन्छ् । गढीको प्रवेशद्धार हुनु र राजमार्ग जोडिएकाले सोलाभन्ज्याङमा स्वर्गीय आनन्द भएको उहाको कथन छ । । उहाँले भन्नुभयो, “चिसो मौसममा भन्दा अहिले यहाँ आउनेको संख्यामा बृद्धि भएको छ, गर्मी भुलाउनकै लागि सोला रोजाइमा परेको हो ।”