बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीको गढीहरुको पदयात्रा सेनाकै भर

शुक्रवार , श्रावण १९, २०८०

सिन्धुली– समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई सिन्धुलीगढीसँग जोडेर पर्यटकीय पदमार्ग बनाउन थालनी गरेको चारवर्ष वित्यो । अभियानले स्थानीय विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद विकास कोषबाट बिनियोजन भएको ४० लाखले १५ किलोमिटर पदमार्ग तयार गरेको थियो । पदमार्गको सुरुआत स्थल घण्टेमा कलात्मक प्रवेशद्वार बनाएर खोरभञ्ज्याङ र जितपुरमा काठको कलात्मक प्रतीक्षालय निर्माण गरिएको थियो ।

रकम अभावमा ७२ किलोमिटर लामो हरिहरपुरगढी–सिन्धुलीगढी पदमार्ग त्यसपछि अगाडि बढ्न सकेन । त्यसपछि सेनाको तत्कालिन वर्दबहादुर गणले पदमार्ग सफा गरेर जोड्ने काम गरेको थियो । अभियानका संयोजक लिलानाथ घिमिरेका अनुसार पर्वतीय श्रृंखलाको मनोरम दृश्य र महाभारत क्षेत्रको वनस्पती अध्ययनका लागि समेत लाभदायक हुने पदमार्गमा अक्करेभीरमा झोलुंगे पुल र होमस्टे संचालन भएमात्र पदमार्गको आकर्षण बढ्ने छ ।

यतिखेर यो पदमार्गमा यात्राका लागि भने सेनाकै भर छ । चारवर्ष अघि कठिन साथ अभियानका संयोजक घिमिरेको नेतृत्वको टोलीले पदयात्रा गरेको थियो । त्यसपछि बाहिरी निकाय व्यक्तीबाट पदयात्रा भएको छैन् । तत्कालीन मकवानपुरका राजा हेमकर्ण सेनले घण्टे भन्ने ठाँउमा स्थापना गरेको घण्टे महादेव रहेको स्थानबाट पदमार्ग सुरु गरिएको थियो । सेनाले भने हरिहरपुरगढीबाट पदयात्रा थालनी गर्दछ । मदन भण्डारी मार्गको घण्टेबाट ऐतिहाँसिक हरिहरपुरगढी दुइ घण्टा पैदल दुरीमा छ ।

घण्टेबाट हरिहरपुरगढी, जितपुर भिमगढ, सेपाहा, मरिणगाउँपालिकाको खलंगा, मधुवनी, घ्याङलेख गाउँपालिकाको चन्दनपुर, फापरचुली, सुनकोसी गाउँपालिकाको वन्दीपुर,मतानवास, नागी हुँदै सिन्धुलीगढीसम्मको पदमार्ग रुट हो । तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढी सदरमुकाम सिन्धुलीबाट २० किलोमिटर दुरीमा छ । यो पदमार्गले दुवै गढीलाई जोड्ने छ ।

चौधौं सताब्दीमा बनाइएका हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोडेर पर्यटन प्रबर्धन गर्न पदमार्ग जरुरी रहेको घिमिरेको ठहर छ । हरिहरपुरगढी किल्ला हरिसिंहदेवले विक्रम संवत १३८१ मा बनाएका थिए । बाराको सिम्रौनगढमा बंगाल मुसलमानको भिषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालिन राजा हरिसिंह सिन्धुली आएर सानो किल््ला बनाएर बसेका थिए । त्यही किल््लाले राज्यको रूप लिएको थियो । यस किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भन्न थालिएको इतिहाँसमा पाइन्छ । झण्डै ७ सय बर्षअघि बनेको यो किल्ला पुरानै स्वरुपमा जस्ताको तस्तै छ । सिन्धुलीगढी तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहाँस बोकेर बसेको छ ।

सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेको ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत १८२४ मा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक बर्ष सिन्धुलीगढीमा विजयोत्सव मनाइन्छ ।

इतिहासलाइ जगेर्ना गर्ने हेतुले यहाँको ऐतिहाँसिक दुइ गढीलाइ जोड्न नेपाली सेनाको बर्दबहादुर गणले हरिहरपुरगढीबाट सिन्धुलीगढीसम्मको पदयात्रा गरेको थियो । यो सेनाको तेस्रो वर्षका पदयात्रा थियो । पदयात्रा सेपाहा, भदौरे, मधुवन, कोलटार,टुनीभन्ज्याङ,छरछरेगाउ“,बन्दिपुर, नागी हुँदै सिन्धुलीगढीसम्मको छ । तीनवर्ष अघि एकिकरण पदमार्ग निर्माण गरेको सेनाले ऐतिहाँसिक गढी तथा किल्लाहरुको संरक्षण, पर्यटन प्रवद्र्धन, पुर्खाको सम्मानका खातिर पदयात्रा शुरु गरेको हो । सेनाले भन्दा अघि समृद्ध सिन्धुली अभियानले पदमार्गको खोजी गरि निर्माण गरेको थियो ।

यो पदयात्राले दुवै गढीलाई जोडेर इतिहाँसको जगेर्ना गर्न मद्धत पुग्ने अन्वेषणकर्ता सागर ढकालको विश्वास छ । नेपाल एकिकरणको समयमा गोर्खाली फौज र अंग्रेज फौजबीच सिन्धुलीगढीमा भएको लडा“इमा पराजित भएपछि बाँचेका कम्पनी सेनाहरु हरिहरपुरगढीबाट तत्कालिन कान्तिपुर राज्य पस्ने दाउमा यहि पैदल मार्गहुँदै हरिहरपुरगढीसम्म पुगेको इतिहाँस रहेको ढकालको भनाइ छ । तर त्यो सफल भएन । उहा भन्नुहुन्छ्, ‘यो कठिन बाटोलाइ सैनिक इतिहाँसमा एकिकरण पदमार्ग भनिएको छ । सेनाले हरेक वर्ष यो पर्वतीयबाटोमा पदयात्रा तय गरेर इतिहाँसको जगेर्ना गरेको छ ।’

नेपाल एकिकरणको समयमा महत्वपुर्ण योगदान दिएको हरिहरपुरगढी र अंग्रेज सेनालाइ धपाएको सिन्धुलीगढीको महत्वलाइ उजागर गरि प्रचारप्रसार गर्न सके भावि पुस्तामा समेत वीरबिरांगानाहरुको गाथा ताजा रहने अन्वेषणकर्ता ढकालको जिकिर छ । कमलामाइ नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले इतिहाँस बोकेको स्थानको परिचय र ओझेलमा परेका गाउँहरुलाइ अगाडि ल्याउन पदयात्रा सहायक सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल एकिकरणका क्रममा तत्कालीन गार्र्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने र पदयात्राबाट जिवन्त राख्ने सेनाको योजना छ ।

पदयात्राका क्रममा जितपुरको डाँडामा निर्माण गरिएको प्रतीक्षालयबाट दक्षिणतिरको मरिण फाँट, चुरे र तराईको दृष्यावलोकन गर्न सकिन्छ । यहाँबाट उत्तरी क्षेत्रको हिमालय पवर्त श्रृंखलासमेत देखिन्छ । भर्खरै सेनाले प्रथम किनलोक पदयात्रा समेत सम्पन्न गरेको छ । यो कनपा २ को चियाबारीबाट शुरु भइ फेदि, हात्तीढुङ्गा, सिरवानी, ढुंग्रेभन्ज्याङ, सेल्फीडाडा, आडा हुँदै सिन्धुलीगढीसम्मको रुट थियो ।

प्रतिक्रिया