बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीको बिकासमा आएको बजेट फ्रिजमा को दोषी ?

बिहिवार , श्रावण १८, २०८०

सिन्धुली – आर्थिक बर्ष २०७९/८० मा संघीय सरकार तथा बागमती प्रदेश सरकारबाट सिन्धुलीको बिकासको लागी आएको १ अर्ब बढि रकम फ्रिज भएर फिर्ता जानु सिन्धुलीबासीको लागी अत्यन्तै दुःखद बिषय हो । जिल्लाको कुल कुल १६ अर्ब ३९ करोड ३२ लाख ९३ हजार ६ सय २० रकम मध्ये १ अर्ब २१ करोड ६८ लाख २७ हजार ४ सय ४ रुपैयाँ फ्रिज भएको छ । सिन्धुलीको बिकासका लागी खर्च गर्न उपलब्ध गराइएको रकम र खर्च गर्न दिइएको अख्तियारी हुँदाहुँदै पनि रकम खर्च नहुनु दुर्भाग्यको बिषय हो । सिन्धुलीको बिकासका लागी आएको बजेट फ्रिज गराउनुमा दोष कसको ? सरकार, कर्मचारी, राजनैतिक दल, निर्माण व्यवसायी÷ठेकेदार वा स्थानीय जनता ? यसै सबालमा केन्द्रित रहेर विभिन्न् क्षेत्रका ब्यक्तिहरुसँग सिन्धुली सौगातले लिएको प्रतिक्रिया :

दिपक मिश्र(स्थानीय)

रकम फ्रिज हुनु दुखको बिषय हो । रकम फिर्ता जाने बिषयमा कर्मचारी नै सबैभन्दा बढी जिम्मेवार र दोषि देखिन्छन । पहिलो कुरा त मन्त्रालयले छिटो निकाशा दिदैन दोश्रो निकाशा पठाईसकेपछि समयमा काम गर्ने प्रक्रिया सुरु हुँदैन । तेश्रो कुरा प्रक्रिया झन्झटिलो छ । त्यसकारण बजेट फ्रिज हुन्छ । ठेक्का गर्ने गुणस्तरमा सम्झौता गर्ने पर्याप्त प्राविधिक जनशक्ति परिचालन नगर्ने अनुगमन नगर्ने अनि अन्तिममा आएर भुक्तानी रोक्ने र फिर्ता पठाउने कर्मचारीको जुन नियत छ त्यो बेठिक छ । त्यसलाई सुधार गर्नुपर्छ । आज अर्बौ रुपैयाँ जिल्लाबाट फिर्ता जाने तर काम गर्ने ठेकेदारले पैसा नपाउने अवस्था किन सिर्जना भयो ? यो सब कर्मचारीकै कारण हो ।

कृष्णहरि घिमिरे(अध्यक्ष, नेपाल पत्रकार महासंघ सिन्धुली)

जिल्लाको बिकासका लागी प्रदेश र संघबाट आएको अरबको स्केलभन्दा माथि बजेट फ्रिज हुनु यहाँका जनप्रतिनिधी र कर्मचारीहरुको पुरै गैरजिम्मेवारीपना हो । यस बर्ष मात्र हैन नियमित बजेट फ्रिज हुने प्रचलन नै बसीसकेको छ । जिल्लामा बजेट ल्याउन बिकास गर्न जिम्मेवार जनप्रतिनिधीहरु पनि बजेटलाई कसरी समयमै सहि सदुपयोग गर्ने भन्ने सबालमा जिम्मेवार देखिदैनन् । कर्मचारीलाई जिल्लामा आएको बजेट जिल्लाकै दिगो बिकासमा खर्च गराउनु पर्छ भन्ने जिम्मेवारीबोध देखिदैन । जस्ले गर्दा चालु तर्फको मात्र हैन पुँजीगत तर्फकै सबैभन्दा धेरै बजेट फ्रिज हुने गरेको छ । बिकास प्रति गैर जिम्मेवार बन्दा बर्षेनी अरबको हाराहारीमा बजेट प्रिज हुँदै गईरहेको छ त्यो सिन्धुलीबासीका लागी दुःखद र निन्दनीय बिषय हो । यो बेथितीको बिरुद्ध नागरिकहरु जागरुक बनेर खबरदारी गर्न आवश्यक छ ।

अर्जुन कुमार श्रेष्ठ(अध्यक्ष, उद्योग बाणिज्य संघ सिन्धुली)

सिन्धुलीको बिकासको लागी आएको त्यतिठुलो रकम फिर्ता भएर जानु दुर्भाग्यको बिषय हो । जिल्लाको ब्यापार ब्यवसाय आर्थिक मन्दीको मारमा परिरहेको अवस्थामा जिल्लामा आएको रकम फिर्ता जान दिनु कर्मचारी र जनप्रतिनिधीहरुको गैर जिम्मेवारीपन हो । समयमै योजना निर्माण गरि कार्य सम्पन्न् गराउन नसक्नुले स्थानीय सरकारको गैर जिम्मेवारी हो । सिन्धुलीबासीका लागी बर्षेनी हुने यस्तो बजेट फिर्ता आउँदा दिनमा सबैको क्रियाशिलतामा रोक्न जरुरी देखिन्छ । सिन्धुलीमा आएको पैसा फिर्ता जान वा बाहिर जान दिनु भनेको यहाँका ब्यापार ब्यवसायीहरुको लागी घाटाको बिषय हो । अरबमा पैसा फिर्ता जाँदा जिल्लाको भौतिक बिकास मात्र हैन आर्थिक बिकास समेत पछि पर्दै जान्छ । यस विषयले सिंगो सिन्धुलीबासीलाई निर्लज्जीत बनाएको छ ।

तुलसी श्रेष्ठ(अध्यक्ष, निर्माण ब्यवसायी संघ सिन्धुली)

जिल्लामा आएको बजेट फिर्ता हुनु अत्यन्तै दुःखद पक्ष हो । निर्माण क्षेत्रका ब्यवसायीहरुलाई काम गरेको भुक्तानी नदिने तर पैसा फिर्ता पठाउने कर्मचारीहरुले जुन काम गरेका छन यो ठिक होइन । निर्माण ब्यवसायीहरुले करोडौं रकम भुक्तानी पाएका छैनन् जस्को कारण आज हामी आन्दोलनमा छौं । सिन्धुलीमै पनि निर्माण ब्यवसायीहरुले बिभिन्न कार्यालयसँग ५ करोड भन्दा बढीको भुक्तानी लिन बाँकी रहेको छ । आफुले लगानी गरेर गरेको कामको भुक्तानी नहुदा निर्माण व्यवसायीहरुले अनेकौ समस्याहरु झेल्नु परेको छ, करोडौं रुपैयाँ फसेपछि निर्माण व्यवसायीहरु चरम आर्थिक संकटमा परेका छन् तर असारमा आएर भुक्तानी रोकेर रकम फिर्ता पठाउनु सह्य बिषय होइन । कतिपय योजनाहरुको म्याद थप नहुँदा पनि भुक्तानीमा समस्या भएर रकम फिर्ता भएको छ । राज्यकै निती नै बेठिक छ । समयमा टेण्डर आब्हान गरेर काम नदिने अनि असारमा आएर काम सक्न दबाव दिने अवस्थाले पनि थुप्रै समस्या भएको छ ।

प्रतिक्रिया