सिन्धुली – लामो समयदेखिको आर्थिक मन्दीका कारण अहिले सिन्धुलीका अधिकांश ठुला, मझौला तथा साना व्यवसायीहरु धरासायी बन्दै गइरहेका छन् । जिल्लामा दैनीक लाखौंका कारोबार गर्ने ठुला हार्डवेयर ब्यापारी देखी साना–साना किराना पसल सम्म आर्थिक मन्दीको मारमा परेका छन ।
जिल्ला सदरमुकाममा सञ्चालित होटल ब्यवसाय, विभिन्न् किसीमका पसलहरुमा ग्राहकको संख्या न्यून रहेको छ । लामो समयसम्म कोरोनाको कहरमा परेर बिस्तारै तंग्रिन लागेका ब्यापारीहरुलाई आर्थिक मन्दीको चपेटाले समेत सताएको छ ।
ब्यापार क्षेत्र मात्र हैन निर्माण ब्यवसायी क्षेत्र पनि आर्थिक मन्दीको ठुलो चपेटामा परिरहेको छ । आफुले गरेको कामको सरकारी भुक्तानी लिन समेत नपाएको अवस्था छ । सरकारले आफुहरुलाई भुक्तानी नदिएको भन्दै आन्दोलनमा उत्रिएका छन ।
बजारमा तरलताको अभाव झनै डरलाग्दो गरि फैलिदैछ । बंैक तथा वित्तीय संस्थाहरु, सहकारी तथा लघुबित्तहरुको लगानीको ठुलो हिस्सा जिल्लाका व्यापारी वर्गमा नै रहेको छ । व्यापार प्रर्बद्धन हुनसके आर्थिक गतिबिधिहरु बढने र बजारमा तरलता अभाव कम हुने आकांक्षामा बसेका सयौं व्यवसायीहरु निरन्तरको तरलता अभावले निराश बनेको उद्योग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन श्रेष्ठले बताउनुभयो ।
दैनिक लाखौको व्यापार गर्ने व्यवसायीहरु अहिले सटर खोलेर बन्द गर्नुपर्ने अवस्थामा पुगेका देखिन्छन् । यो आर्थिक तरलताको अभाव कहिलेसम्म लम्बिने हो भन्ने अनुमान पनि अब लगाउन कठिन भैसकेको छ ।
बिगतमा स्थानीय निर्वाचनपछि बजारमा आर्थिक तरलता हटेर जाने धेरैले अनुमान गरेका थिए । तर यो चाहना केवल चाहनामै सीमित हुन पुग्यो । आम निर्वाचन सकिएर नयाँ सरकार बन्दा पनि बजारमा तरलताको अभाव उत्तिकै देखिएपछि अहिले व्यापारीहरु मर्नु न बाँच्नुको दोसाधमा उभिनु परेको उद्योग अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “बिगतमा बैंक तथा वित्तीय संस्थाहरुबाट सरल र सहजताका साथ प्राप्त गरेको कर्जाको सावाँ ब्याज भुक्तानी गर्न समेत अहिले व्यापारीहरुलाई हम्मेहम्मे पर्ने गरेको अवस्था छ ।” बैंक तथा वित्तीय संस्थाको निरन्तरको ताकेताका कारण अहिले ब्यवसायीहरु थप पीडामा परेको श्रेष्ठले बताउनुभयो ।
कर्जा लिदाका बखत जुनप्रकारको आर्थिक सहजता थियो अहिले त्यसको ठिक बिपरित अवस्था सृजना हुन थालेपछि प्रायः महिनाको अन्त्यमा या मसान्तमा व्यवसायीहरु सटर बन्द गरेर बस्न थालेको बैंक तथा वित्तीय संस्थाका संचालकहरु बताउँछन् ।
बिगतमा लिएको कर्जाको सावाँ तथा ब्याज मात्रै हैन हजारौं रुपैयाँ हर्जाना तिर्नुपर्ने अवस्था आए पछि बिगतमा धेरैवटा सहकारी संस्थाहरुबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरु आर्थिक मन्दीका कारण सहकारी संस्था देख्यो कि डराउने सहकारी फोबिया लागेको अवस्थामा पुगेका छन् ।
समस्यामा परेकालाई थप समस्यामा पार्नु हाम्रो उदेश्य नभएको बताउने वित्तीय संस्थाहरु ब्यापारी वर्गबाट कर्जा असुल उपर नभएमा बैंक तथा वित्तीय संस्थाले पनि कर्जा भुक्तानी गर्न नसक्ने अवस्थाको समस्या र मर्म बुझिदिनु पर्ने तर्क गर्छन ।
अहिले ब्यवसायीहरुको व्यवसाय ठप्प र व्यापार चौपट्ट भएको भएको छ । आफ्नो स्वपूँजी समेत समाप्त भएको र बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा समेत सहजताका साथ तिर्न नसक्ने अवस्था आए पछि ब्यापारी वर्गमा मानसीक तनाव र पारिवारिक असहजता एकैसाथ थोपरिएको उद्योग बाणिज्य संघ सिन्धुलीका पुर्व अध्यक्ष बिनेश श्रेष्ठ बताउनुहुन्छ । सरकारले कर्जा सहजता नीति र कर्जा भुक्तानीमा सरलता नीति बनाई सोहि अनुरुप बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वय गरी तत्काल कार्यान्वयनमा ल्याउन आवश्यक रहेको श्रेष्ठले बताउनुभयो ।
पछिल्लो तथ्यांक अनुसार सिन्धुलीमा १ हजार ३ सय ३९ को संख्यामा ब्यवसायीहरु क्रियाशिल रहेका छन । ति सबै ब्यापारीहरु कुनै न कुनै रुपमा आर्थिक मन्दीको चपेटामा परिरहेका छन । बजारमा खाद्ययानको ब्यापार केही मात्रामा रहेको भएपनि अन्य व्यापारीहरुको अवस्था नाजुक बन्दै गईरहेको छ ।