बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

मदन भण्डारी राजमार्ग निर्माणसंगै सडक किनारबाटै जीवन गुजारा

बुधवार , श्रावण १७, २०८०

सिन्धुली– निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग निर्माणसँगै सिन्धुली जिल्लाको कमलाखुँज र मरिण क्षेत्रका विपन्न किसानको जीवनस्तर फेरिदै गएको छ । राजमार्ग निर्माणसगै विपन्न किसानहरु व्यवसायमा उन्मुख भएपछि उनीहरुको जीवनस्तरमा सुधार आएको हो । राजमार्ग निर्माणसँगै आसपासका गाँउका विपन्न किसानहरु व्यवसायिक रुपमा तरकारी, फलफुल खेतीमा जुट्नुका साथै होटल, किराना पसल लगायतका आय मुलक पेसामा संलग्न हुदै आएका स्थानीयले बताएका छन् ।

राजमार्ग निर्माणले उत्पादित बस्तुले सहज रुपमा बजार पाएपछि विपन्न किसानहरु आयमूलक पेशामा जुटेको दुधौली नगरपालिका–२ गागनका शंभु दनुवार बताउनुहुन्छ । घर छेउबाटै मदन भण्डारी राजमार्ग निर्माण भएकोले सिजन अनुसार किसानले उत्पादन गरेको तरकारी, फलफुल बिक्रि गर्न सहज भएको उहाँको भनाई छ । राजमार्ग छेउछाउमा किराना पसल र होटलहरु समेत उत्तिकै फस्टाएका छन् । राजमार्ग छेउमा उत्पादित वस्तुहरु राखेर विक्री गर्न समेत सहज भएको छ ।

राजमार्ग निर्माण नहुदा बढि भएर वस्तुभाउलाइ खुवाउनु पर्ने तरकारी अहिले सहजै विक्रीबितरण हुन्छ, हत्पतेकै रिजेन्द्र बरालले सुनाउनुभयो । यो राजमाार्ग निर्मााण बरदान सावित भएको छ, उहाले भन्नुभयो, “यातायातको सहज पहुच त छ दैछ, किसानको जीवनस्तरमा पनि परिवर्तन आएको छ ।” निर्माणाधन राजमार्गबाट कमलाखुजँ क्षेत्रको दुधौली नगरपालिका, कमलामाई नगरपालिकाको वडा नं. ९, १३, १४ र मरिण क्षेत्रको मरिण गाँउपालिका तथा हरिहरपुरगढी गाँउपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । थाप्लोमा नाम्लोका डोब बस्ने गरि पसिना चुहाउदै फलफुल तथा तरकारी बिक्री गर्न सदरमुकाम सिन्धुलीमाढी पुग्ने गरेको स्मरण गर्दै मरिण गाँउपालिका– घाटाका शंभु माझी भन्नुहुन्छ, “मोटरबाटो निर्माणपछि एक दिन खर्चिएर हिडेर पुग्ने ठाँउ एक घण्टामा नै पुग्न सकिने भएको छ । उत्पादित बस्तुहरु पनि केहि क्षणमा नै बजारमा पुग्ने गर्दछ ।”

“दैनिक उपभोग्य सामग्री खरिद गर्नका लागि एक दिन लगाएर सदरमुकाम सिन्धुलीमाढी पुग्नु पर्ने बाध्यता थियो । तर अहिले घर छेउमा नै चाहेको सामान् किन्न पनि पाईन्छ” उहाँले भन्नुभयो, “बजारको अभावमा त्यत्तिकै खेर जाने गरेको कृषि उत्पादनले सजिलै बजार मात्रै पाएको छैन, गाँउको मुहार नै फेरिएको छ ।” राजमार्ग निर्माणसँगै हरिहरपुरगढी गाँउपालिका–२ जखौलीका किसान सुकदेव राईले गत बर्षदेखि खरबुजा खेती थाल्नु भएको छ । कृषि ज्ञान केन्द्रको ‘बगर खेती कार्यक्रम’ अन्तर्गत खरबुजा खेती गरेको र उत्पादित खरबुजा सदरमुकाम सिन्धुलीमाढी पु¥याएर बिक्री गरेको उहाँले सुनाउनुभयो ।

किसान राईले भन्नुभयो, “चार जना किसान मिलेर चार बिगाहा जति बगरमा खरबुजा खेती ग¥यौ । २८ क्वीन्टल उत्पादन भयो । प्रति किलो ५० रुपैयाका दरले बिक्रि ग¥यौ । पहिलो पटक गरेको खरबुजा खेतीबाट आम्दानी राम्रो लिन पाएपछि खेतीमा संलग्न किसानहरु हौसिएका छौं ।”

खेतीमै संलग्न अर्का किसान आईते राईले भन्नुभयो, “हाम्रो लागि नौलो र नयाँ खेती भएकाले के हुने हो भन्ने त्रास पनि थियो । जे भएपनि राम्रो फल्यो, खुशी लागेको छ ।” खरबुजा खेती गर्नु अघि गाँउपालिकाले तीन दिन तालिम दिएको र रोप्ने बेलामा पनि प्राविधिकले दुई दिनजति खेती गर्ने तरिका सिकाएकोले खेती गर्न सजिलो भएको उहाँको भनाई छ ।

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुर जिल्लाको भित्री भागलाई जोड्ने २५० किलोमिटर लामो मदन भण्डारी (धरान–चतरा–सिन्धुली–हेटौडा) राजमार्गलाई दुई खण्डमा विभाजन गरी २०७३ सालदेखि निर्माण सुरु गरेको र अहिले निर्माणको काम अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सरकारको प्राथमिकतामा परेको राजमार्गलाई उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानसम्म १३५ किलोमिटर लम्बाई सडकलाई पुर्वी खण्ड र भिमानदेखि हेटौडा उप–महानगरपालिका–६ चौगडासम्म ११५ किलोमिटर लम्बाई सडकलाई पश्चिम खण्डमा विभाजन गरिएको छ ।

पुर्वि खण्डमा सडक निर्माणको काम कालोपत्रे सहित निर्माण सम्पन्न भई सकेको छ । त्यस्तै विभिन्न खोलामा रहेका ५६ वटा पक्कि पुल मध्ये ४४ वटा निर्माण सम्पन्न भई सकेको छ । बाँकी १२ वटा पक्कि पुल निर्माणको अन्तिम चरणमा रहेको ईन्जिनियर गोपाल खकुरेलले जानकारी दिनुभयो । पश्चिम खण्डमा ११५ किलो मिटर लम्बाई निर्माण कार्य अन्तिम चरणमा रहेको उक्त खण्डका सूचना अधिकारी निरन्जन थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा विवादित करिब छ सय मिटर सडक बाहेक अरु सबै सडकको काम सकिएको छ । उक्त खण्डमा रहेका ४० वटा पुल निर्माणको काम पनि लगभग सबै सकिएको छ । पुलको दायाँबायाँ पहुच मार्गमा केही ठाउमा कालोपत्रे गर्न काम बाँकी छ ।”

प्रतिक्रिया