बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

लम्पि स्किन रोग नियन्त्रण गर्न माग

सोमवार , श्रावण १५, २०८०

सिन्धुली, – नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एसोसिएसन जिल्ला कार्य समिति सिन्धुलीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र पठाएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल मार्फत लम्पि स्किन रोग नियन्त्रणका लागि औषधि र खोपको व्यवस्था गर्न माग गर्दै ज्ञापन पत्र पठाएको हो ।

नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एसोसिएसनका क्षेत्रीय सदस्य नवराज थापाले प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र बुझाउनु भएको थियो । ज्ञापन पत्र मार्फत पाराभेटेरिनरी एण्ड लाइभष्टक एसोसिएसनले लम्पी स्किन रोगबाट भयावह बन्दै गएकोले महामारीको अवस्थालाई मध्यनजर गर्दै संकटकाल घोषणा गर्न माग गरेको छ । साथै लम्पी स्किन रोग नियन्त्रणको लागी ठोस योजनाको साथ आवश्यक औषधी तथा खोपको व्यवस्था गर्नु माग गरेको छ ।

लम्पी स्किन रोग नियन्त्रण र उपचारका लागी पशु चिकित्सक र प्राविधिकहरू सशक्त रूपमा परिचालन गर्न, लम्पी स्किन रोग नियन्त्रण र उपचारका लागी प्रयोग हुने औषधीहरूको बजारमा अभाव रहेकोले आवश्यक औषधीहरूको उपलब्ध गराउन समेत मग गरिएको छ ।

बिमा गरिएको पशुहरूको बिमा बापतको क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने र लम्पी स्किन रोगबाट मृत्यु भएका पशुहरू र प्रत्यक्ष रूपमा प्रभावित भएको कृषक÷ व्यवसायीहरूलाई राहतको कार्यक्रम ल्याउन समेत प्रधानमन्त्री समक्ष माग गरिएको छ ।

पाराभेटेरिनरी एण्ड लाइभष्टक एसोसिएसन सिन्धुलीका अध्यक्ष नम्रराज अधिकारीले लम्पि स्किन रोगको कारणबाट दुध उत्पादन ८० प्रतिशत सम्म कमी आउने, गर्भ तुहिने, प्रजननमा समस्या आउने, मृत्यु हुने जस्ता कारणले कृषकहरूले ठुलो आर्थिक क्षति व्यर्होनु परिरहेको अवस्था रहेको बताउनुभयो । जिल्लाका स्थानीय तहमा कार्यरत पशु प्राविधिकहरुको उपस्थिती रहेको थियो ।

देशभरि महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागी तिनै तहका सरकारले गरिरहेको कार्य पर्याप्त नभएको र यस्तो किसिमको सरकारी गतिविधिले रोग नियन्त्रण कार्य ठोस ढङ्गले हुन नसक्ने तथा कृषकहरूको पशुहरूको धेरै संख्यामा क्षति हुने र यसबाट आर्थिक रूपमा समेत ठुलो क्षति हुने भएकोले अविलम्ब मागहरु पुरा गर्न माग गरेको छ ।

लम्पी स्किन रोग बाट पशुबस्तुहरु धेरै संख्यामा संक्रमित भइरहेको साथै कृषक व्यवसायीहरू आर्थिक रूपमा प्रभावित भइरहेको सन्दर्भमा रोग नियन्त्रण तथा राहत व्यवस्थापन जस्ता विषयहरू ठोस रूपमा सम्बोधन नभएमा बिरोधका कार्यक्रमहरू संचालन गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सिन्धुलीमा छ सय ५० पशुचौपायाको मृत्यु भएको र २४ हजार ९० पशुचौपाया लम्पी स्किन रोगबाट संक्रमित भएका भने प्रदेशस्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौँडाले जनाएको छ ।

प्रतिक्रिया