बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

वाग्मतीको बगरले धानेकोे गाउँ

सोमवार , श्रावण १५, २०८०

सिन्धुली – १० बर्ष अघिसम्म मरुभूमि जस्तै रहेको वाग्मती नदीको बगर यतिखेर स्थानीय बासिन्दाका लागि वरदान सावित भएको छ । सिन्धुली र मकवानपुर जिल्लाको सिमाना भई बग्ने वाग्मती नदीको बगरलाई हरिहरपुरगढी गाउँपालिकाका विपन्न परिवारले मिहेनत र परिश्रम गरि अन्नको भण्डार बनाएका छन् । बगर बिराएर खनिखोस्री गरियो, अहिले अन्न भण्डार भयो, स्थानीय किसान चिनकाजी घलानले भन्नुभभयो, “के होला तै पनि हेरौंन भनेर थालेको त्यहाँदेखि मानोबाट मुरी उव्जिएकै छ ।”

बगरको उब्जनिले चारसय भन्दाबढि विपन्न परिवार पालिएका छन् । केही बर्ष अघिसम्म वालुवा र काँसघारी भएर मरुभुमि जस्तो बनेको वाग्मती नदीको बगरबाट किसानहरुले मनग्ये मकै यो वर्ष भित्राएका छन् । सिजन अनुसार धान र गहुँ खेती पनि उस्तै लहलह हुन्छ वाग्मती बगरमा । यहि बगरको उव्जनीले चारसय भन्दा बढि विपन्न परिवारलाई गाँस दिएको छ ।

सिन्धुली र मकवानपुर जिल्लाको सिमाना भई बग्ने वाग्मती नदीको बगरलाई सिन्धुलीको हरिहरपुरगढी गाउपालिका ३ का विपन्न परिवारले मिहेनत र परिश्रम गरि उर्बर जमिनमा परिणत गरि गुजराको दरिलो माध्यम बनाएका हुन् । स्थानीय कृषक दिलबहादुर घलान अहिले आफ्नो १५ जनाको परिवार वाग्मतीको बगरमा उब्जिएको अन्नमा आश्रीत रहेको बताउँनुहुन्छ् । करिब एकबिघा बगरमा खेती गरेका किसान घलानले बगरको उव्जनीबाट मकै, धान सालिन्दा ५० मुरीसम्म विक्री गर्दै आएका छन् ।

१० वर्ष अघि बसाइ सरेर उहाँ हरिहरपुरगढीको वडा नं ३ मा खोरिया फाँडेर बस्नु भएको हो । ओत लाग्ने छाप्रो त हालियो तर मुखमा माड लगाउने अन्नको गेडो थिएन् । अनि उहाँको वाग्मती बगरमा आखा गड्यो । लगातार तीन वर्ष खनिखोस्री गरेपछि खेतको आकार लिएको घलान स्मरण गर्नुहुन्छ् । वाग्मतीमा बाढी आउँदा मलिलो माटो आएकाले पहिलो वर्ष नै रहर लाग्दो मकै भएपछि घलान हौसिनु भएका थिए । मलिलो माटो भएकाले होला मकै यति फल्यो, की खुसीको सिमा नै रहेन, उहाँ भन्नुहुन्छ , “त्यसपछि धान खेती गर्न शुरु गरियो, एकदुइ वर्ष बाहेक ठुलो बाढी पसेर क्षती गरेको छैन्, मनग्ये उव्जनी भएको छ ।” हाम्रो लागि यो अन्न सुन भन्दा पनि राम्रो भएको छ, खानादेखि नानासम्म यसैबाट जुटेको छ, घलानले खुसीयाली व्यक्त गर्नुभयो ।

उहा मात्र होइन् बसाइ सरेर आउनेमा दर्जनौ परिवार थिए । उहाँहरु सबैले खोरिया फाँडेर झाप्रो हालेका थिए । फाँडेको खोरियामा गरेको जुनेलो खेतीबाट बल्लतल्ल पाँच/छ महिना गुजरा चल्दथ्यो अर्का किसान साइला थिङ आफ्ना दुःखका दिन सम्झनुहुन्छ्, “वाग्मतीको बगरमा उव्जनी हुने कसैलाई ख्याल नै थिएन, मकैका केही बोट आफैं उम्रिएर फलेको देखेपछि ध्यान गएको हो । अहिले बगरमा खेती गर्न थालेपछि बेसाउनु परेको छैन् । यतिखेर बगरे किसानहरुको आर्थिक अवस्थामा समेत निकै सुधार आएको छ ।”

वाग्मतीको बगर ऐलानी जग्गा भएपनि राम्रो उव्जनी हुने भएकाले सबैका आँखा गडेको किसानहरु बताउँछन् । बगरकै उव्जनीबाट १० जनाको परिवारको गुजारा चलाउँदै आउनु भएका अर्का किसान गणेशबहादुर घलानले अहिले वाग्मतीको बगरमा चार सयभन्दा बढि परिवारले करिब एकहजार हेक्टरमा खेती लगाएको जानकारी दिनुभयो ।

“बगर नभए हाम्रो गाँस, बास नै छैन” उहाले भन्नुभयोे, “आफुले खाएर पनि वर्षको २५/३० मुरी जति मकै विक्री गर्छु , त्यसबाट पारिवारिक गुजारामा सहज भएको छ ।” गएको वर्ष धान ६० मुरी उव्जनी गराएका घलानले यो वर्ष मकै पनि त्यतिकै हाराहारीमा घर भित्राएका छन् । ठूलो परिवार भएकाले धान भने आफैले उपभोग गर्ने उहाको भनाइ छ । बगरको खेतीबाट अधिकांस तामाङ र माझी समुदायका परिवारको गर्जो टरेको छ । ती किसानको परिवारमा जागिर नभएकाले सबैले बगरकै कमाईबाट घरमा चाहिने नुन् भुटुन्को जोहोदेखि आफ्ना छोराछोरीलाई विद्यालयमा पढाउँदै आएका छन् ।

गुजाराको दरिलो माध्यम बनेको बगरलाई वर्षादको मौसममा समय–समयमा वाग्मतीमा आउने बाढीले दुःख दिने गरेको स्थानीय किसानहरुले गुनासो गरेका छन् । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवा प्रदेश सरकारले औद्योगीक ग्राम स्थापनाका लागि वाग्मतीमा तटबन्ध कार्यक्रम गरिरहेको र गाउँपालिकाले समेत बगरको खेतीलाइ प्रोत्साहन गरेको बताउँनुहुन्छ । किसानले चर्चिएको जग्गालाइ रेकर्ड राखेर गरिखानेको बनाउनेतर्फ पहल भैरहेको उहाको भनाइ छ ।

निःशुल्क बीउ भने किसानहरुले यो वर्ष लिन मानेनन् । जग्गाको लालपुर्जा र तटबन्धको माग पुरा नभएसम्म अनुदानको बीउ नलिने उहाहरुले घोषणा गर्नु भएको छ ।

प्रतिक्रिया