सिन्धुली – साईप्रसा पठाइदिन्छु भन्दै ठगी गर्ने सिन्धुलीका एक युवक पक्राउ परेका छन् । जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ३ घर भएको हाल काठमाडौँ महानगरपालिका वडा नम्बर १५ बस्ने ३३ वर्षिय राजन गिरी पक्राउ परेका हुन् । साइप्रस पठाईदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेको अभियोगमा गिरिलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
गिरीले जम्मा ६ लाखमा साईप्रस पठाइदिने र साईप्रसको प्रतिष्ठित होटलमा १ लाख रुपैयाँ मासिक तलब हुने काम लगाइ दिन्छु भन्दै पीडितबाट पटक पटक गरि दुइ लाख रकम लिएर सम्पर्क विहिन भएका थिए ।
बैदेशिक रोजगार विभागले गिरीलाई पक्राउ गरि उपस्थिति गराउन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनलाई पत्रचार गरेको थियो । सो पत्र अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२ लाजिम्पाटबाट गिरिलाई पक्राउ गरेको हो । गिरिलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाईएको छ ।