सिन्धुली—कमलामाई नगरपालिका २ भद्रकालीकी रेखा गौतम बिहानै देखि व्यस्त हुन्छिन् । पेशाले अटो चालक उहाँलाइ फुर्सद नै हुँदैन । अटो स्टार्ट गरेर यात्रु खोज्न हिँड्नु उहाँको दैनिकी हो । ७ वर्ष अगाडि पाँचलाख १५ हजार रकम तिरेर खरिद गरेको अटोले उहाँको जीवनमा कायापलट भएको छ ।
अटो खरिद गरेर ल्याएको ६ महिनामा नै उहाँले वैंकबाट लिएको ऋण चुक्ता गरेर यतिखेर नाफामा जानु भएको छ । सदरमुकाम सिन्धुलीमाढीमा अटो चलाउने उहाँ अब घडेरी किन्ने सोचाइमा हुनुहुन्छ । घरमा आमालाइ खर्च दिँदै आउनु भएको उहाँले बचेको रकमबाट सदरमुकाम आसपासमा घडेरी किन्ने सोचाइ बनाउनु भएको छ । आफ्नो कमाइबाट म सन्तुष्ट छु, घर नजिकै पेशा गरिएको छ, उहाँले भन्नुभयो, “काम सानो ठुलो हुँदैन, सोचाइ मात्र फरक हो ।”
भद्रकाली यातायात प्रा.लि. दर्ता गराएर रेखा अध्यक्ष बन्नु भएको छ । उहाँकै प्रालिमा २२ जना महिला अटो चालक र पुरुष सहकर्मी सहित एकसय ६० वटा दर्ता छन् । महिला चालकहरु भद्र हुने हुनाले यात्रुले विश्वास गरि खाली बस्नु नपर्ने उहाँको धारणा छ । पहिलाको जस्तो कमाइ नभएपनि दिनको एकहजार पाँचसयदेखि दुईहजार भन्दा घटी आम्दानी हुँदैन ।
उहाँ जिल्लाको पहिलो महिला आफ्नै अटो ल्याएर चलाउने चालक हुनुहुन्छ । शुरु, शुरुमा सबै अचम्म मान्थे, महिलाले अटो चलाएको भनेर बिस्तारै सहज हँ“दै गयो रेखाले सुनाउनु भयो । यतिखेर धेरै महिलाहरु अटो चालक भएका छन्, उहाँले थप्नुभयो, “एकादुई बाहेक सबैको अटो आफ्नै हो ।” कामको खोजीमा विदेशीएका महिलाहरुलाइ उहाँले कामले खोजिरहेको तर सानाठुला नभनी आफ्नै देशमा पौरख गर्न सुझाव दिनुभयो ।
रेखाको मात्र हैन् अन्य महिला अटो चालकहरु पनि आफ्नो पेशामा सन्तुष्ट देखिन्छन् । घरको काम गरेर पनि आफ्नो पेशा सम्हाल्न पाउदा उनीहरुलाइ आनन्द लागेको छ । सदरमुकाम सिन्धुलीमाढीका अलावा सडक भएको जुनसुकै स्थानमा पनि उनीहरु रिजर्भमा जाने गरेका छन् ।
अध्ययनलाइ निरन्तरता दिएर पनि अटोमा रमाएका समेत छन् । सिन्धुली बहमुखी क्याम्पसमा अध्ययनरत विमला भुदे विहानको पडाइ सकेर दिउसो अटो लिएर यात्रुको खोजीमा निस्किनु हुन्छ । पढाइ खर्च पनि जुट्ने, घर चलाउन पनि सजिलो विमलाले भन्नु भयो, “ जानेको शीप त्यसै खेर किन फाल्नु ।” हामीलाइ त जापान पनि यहि, अमेरिका नी यहि भएको छ उहाँले थप्नुभयो ।
बिहान उज्यालो भएदेखि बेलुका साँझ नपर्दा समेत महिला अटो चालकहरु काममै व्यस्त रहन्छन् । आफ्नो आनीबानी ठिक भएमा पेशा सुरक्षित रहेको उनीहरुको ठम्याइ छ । परिवार पाल्नको लागि पैसा कमाउन विदेश भौतारिनु भन्दा आफ्नै घरको मिठामसिनो खाएर पेशा गर्दा आनन्द मिलेको महिला चालकहरुको भनाइ छ । आफुले जानेको शीप नलजाइ काम गर्ने हो भने किन विदेश जानु पर्यो उनीहरु प्रतिप्रश्न गर्छन् ।
सदरमुकाममा रातमाटा, ढुंग्रेवास, चियावारी, हिरापानी, माझीटार, मिलनौक, साङवाले, खट्टार, मधुटार, रानीखोला, गडौली, पानीट्याङ्की, माइस्थान, भिमान, महिला चालकहरुको दैनिकी रुट हो । सबै महिला चालकहरुको औसत मासिक कमाइ ५० हजार भन्दा बढि नै छ । शुरुशुरुमा अटाो कम हुदा मासिक एकलाखसम्म कमाएको उनीहरुलाइ अनुभव छ ।
अहिले प्रतिस्पर्धा भएर आम्दानी घटेको महिला अटो चालकहरु बताउछन् । पहिला एकसय रुपैंया आउने ठाउमा यतिखेर प्रतिस्पर्धाले गर्दा २० रुपैंयामा नै यात्रुलाइ गन्तव्यमा लगिदिनाले आम्दानी कम भएकोमा उनीहरु एकमत भए । सदरमुकाममा मात्रै यतिखेर दुइसय ५० अटोहरु रहेका छन् । त्यसमा २५ जना महिला चालकहरुले भने खाली बस्नु परेको छैन् ।