बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

भूकम्पले फेरिएको सिन्धुलीको राताटार

शुक्रवार , श्रावण १२, २०८०

सिन्धुली — कालोपत्रे सडक, तीनतल्लासम्मका पक्की घरहरु, विद्युत, २४ घण्टा पानी यी सुविधा प्राय सहरी क्षेत्रमा पाइन्छ । बीपी राजमार्गबाट सवारी साधनमा बढिमा ७ मिनेटमा नै पुगिने राताटारले यतिखेर यी सबै सुविधा पाएको स्थानको पहिचान बनाएको छ । गोलन्जोर गाउँपालिका ७ को राताटार पाँच वर्ष अघिसम्म भत्किएका घर र अस्थायी टहरोले बीरुप थियो । यतिखेर त्यहि राताटार रंगिन भएको छ । अहिलेत स्वर्ग झै भएको छ, सामूहिक माछापालनका लागि काम गरिरहेका कृष्णबहादुर राईले प्रतिक्रिया दिनु भयो । यस्तो होला भन्ने त कल्पना पनि गरिएको थिएन्, उहाँले भन्नुभयो, “पिच भएको सडक गाउँमै आउला भन्ने लागेकै थिएन्, भूकम्प पछिको पुनर्निर्माणबाट पक्की संरचना बनेपछि राताटार गाउँ रंगिन भएको हो ।”

चार वर्षा र हिंउँद टहरोमा कटाएका राताटारकै प्रदिप राइ पुनर्निर्माणबाट पक्की घर बनेपछि यतिखेर हाइसन्चोमा छन् । ऋण धन त्यस्तै हो, उहाँले भन्नुभयो, “हावाहुरी र अव सानातिना भूकम्पको डर भएन् । घरको आँगनमा गहुँ ठटाउदै गरेकी जीवन संगिनी उर्मिलातिर फर्कदै प्रदिपले टहरोमा ज्यादै दुःखका दिन गुजारेको स्मरण गनुभयो । कति दुःख काटियो टहरामा, बयान गरेर साध्य छैन्, उर्मीलाले भन्नुभयो, “अहिले पनि दिउँसोको समयमा यहाँ धेरै गर्मी हुन्छ । आफैं खटेर घर निर्माण गर्दा पनि १५ लाखको हाराहारीमा खर्च भएको भयो । अब ढुक्क छ ।” पाँच लाख ऋण गरेका छौं, सरकारले दिएको तीनलाख र अरु आफैंसंग भएको रकम घर निर्माणमा खर्चियौं, उहाँले भूकम्पपछिको घर निर्माण गर्दाको खर्च फेहरिस्त सुनाउनु भयो ।

प्रदिपलाइ घर नबन्दा सबैभन्दा समस्या बाबुको थियो । दिउँसोेको चर्को घाम लागेपछि जस्ताले छाएर बनाएको अस्थायी टहरोमा बसिसक्नु हुँदैन् । ६० वर्षीय बाबु भरतबहादुर राई बैशाखीको साहारामा रुखको सिंयाँल खोज्दै हिंड्छन । के गर्नु टहरामा बस्नै सकिंदैन्, आगोको राप कम होला तर यहाँ बढि पोल्छ, उहाँले भन्नुभयो, “भरदिन रुखको छाहारी खोजेर हिंड्नुपथ्र्यो ।” भूकम्पपछि गाउँमा पानीको मुहान सुक्दा अर्कोगाउँको घारामा पानी लिन गएको समयमा लडेर प्रदिपका बाबु भरतबहादुरको खुट्टा भाँचिएको रहेछ । भूकम्पले घर भत्किएको पीडा एकतिर छँदै थियो, ज्यानमै चोट लागेपछि गरिखाने मेलो पनि भएन्, तिनै भरतबहादुले भन्नुभयो, “दैव पनि कति निष्ठुरी भएका होलान्, एकपछि अर्को पीडा थप्दै जाने ।” अब भने छोराले घर निर्माण गरेकाले दुःखका दिन टरेको लजस्तो लागेको छ उहाँले थप्नुभयो ।

राताटारका भएका सबै ५६ घर भूकम्पले ढालेको थियो । ती सबै पक्की र जस्तापाताको छानाले टल्किएका छन् । एकाध खुर्कोट बजारतिर झरेकाले घर तथा गोठ खण्डहर बनाएर छाडेका छन् । सबै घर बनिसके अर्का स्थानीय कृष्णबहादुर राइले भन्नुभयो,“केहीले मात्र माटोढुंगाको बनाएका नत्र छत ढलान गरेर नै घर बनेको छ । तीन कोठे र चारकोठे घर धेरै बनेका छन् ।” भूकम्पले ध्वस्त बनाएको राताटारमा यतिखेर तीनतले पक्की भवन समेत बनेको छ । स्थानीय शिक्षक यज्ञबहादुर राईले उक्त घर निर्माण गर्नु भएको हो । नेपालको नमूना १० शहर मध्ये खुर्कोट परेपछि राताटारमा सडक कालोपत्रे भएको छ । पहिला उजाड लाग्ने राताटारमा यतिखेर कायापलट भएको छ । सडक कालोपत्रे भएपछि अन्यत्र सरेर घर बनाउने योजना बुनेकाले समेत राताटारमा बनाएका छन् ।

वेसीमा घर बनाउने योजनामा थियौं, तर सडक कालोपत्रे भएपछि यहिँ बनाएका छौँ, सहकारीको काममा व्यस्त रहेकी अर्की रैथाने सावित्रा राइले बताउनुभयो । खुर्कोट बजार आसपास जग्गा हुनेले घर सारेपनि पाकाहरुको भने दैनिकी राताटारमै बित्ने गर्छ । भूकम्पले भत्किएका आफ्ना दुइ घरको आँगनमा भेटिएका ७५ वर्षीय वृद्ध खड्गबहादुर थापा दिनहु जसो राताटार उक्लिने गर्नु हुन्छ । कान कम सुन्ने उहाँले आफ्नो थातथलो भएकाले मायाँ लागेर लठ्ठीको साहारामा राताटार आउने गरेको सुनाउनु भयो । आफुले आर्जेको सम्पतीको मायाँ हुदो रहेछ, उहाँले भन्नुभयो, “एकघण्टा उकालो चढेर हिंड्दै आउछु, यतै घर बनाउनु पर्छ भन्दा छोराहरुको कानमा बतास लागेन्, ।”

राताटारवासीलाइ भूकम्पले मात्र हैन दसक अघि अर्को महाबिपत्ती परेको थियो । ०७० साल चैत २८ गते भएको आगलागिमा परेर राताटारका १६ घर खरानी बनेका थिए । दुइ वर्ष पछि भूकम्पले अर्को पीडा थपिदियो । आगलागिमा परेर खरानी भएको घरको पीडा भुलाउन ५ लाख लगाएर चिरिच्याट्ट परेको घर बनाएका सन्तोष राईलाइ भूकम्पले फेरी अर्को पीडा दिएको थियो । परिश्रमले बनाएको घर धुलो बनेर उड्यो, पीडाको स्वरमा उहाँले भन्नुभयो “आगलागिमा परेर खरानी भएपछि ऋण काढेर घर बनाएका थियौं, दैवले सहेन, फेरी भूकम्पले ढाल्यो ।” फेरि ऋणपान गरेर भूकम्प प्रतिरोधी घर बनाइएको छ, उहाँले गर्वका साथ भन्नुभयो ।

कालोपत्रे सडक बनेस“गै जग्गाको भाउ आकासिएकाले चिन्ता नलिएकाले स्थानीयहरु बताउँछन् । रोपनीको पाँचलाख पनि नजाने जग्गा अहिले आनाको तीनलाखसम्ममा कारोबार हुन थालेको छ । राताटारका स्थानीयलाइ शिक्षाको भने चिन्ता छ । उमेरले चारविस लागेका भोजमान राईका अनुसार भएको एउटा विद्यालय पनि कामै नलाग्ने भएर लालाबालाहरु सबै पढ्नलाइ खुर्कोट पुग्ने गरेका छन् । शिक्षा राम्रो भइदिए आफ्नै काखापोल्टामा रहेर केटाकेटीले पढ्थे, उहाँले भन्नुभयो, “शिक्षक पढाउन आउँदैन् भनेर भुराहरु खुर्कोटतिरै जान्छन् ।”

प्रतिक्रिया