बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा चुरे वन मासिदा सिन्धुलीमा बर्खामा पनि काकाकुल बन्दै

बिहिवार , श्रावण ११, २०८०

सिन्धुली –कमलामाई नगरपालिका १४ चन्दनपुरमा रहेको पर्यावरण गणको आडमा रित्ता गाग्री, बाल्टिी र बोतलहरु लाइनमा राखिएका हुन्छन् । धारामा आउने पानी भर्नका लागि वर्षादको मौसममा समेत स्थानीयहरुको लाइन लाग्दछ । त्यही गणको प्रवेशद्धार नजिक रहेको धारा नै सयौं स्थानीयको प्यास मेटाउने सहारा बनेको छ । चन्दनपुरको यो वस्ती धेरै पुरानो भने हैन् । वन फडानी गरेर बसेको वस्ती हो । पानीको लागि सार्‍है दुःख छ, स्थानीय आइती दनुवारले भन्नुभयो, “बर्खामा पनि पानीको लागि पालो कुर्नुपर्छ । कमलाखोलामा धमिलो पानी वग्छ, संङलो पानी खानका लागि अरु विकल्प छैन् ।” बर्खामा समेत पानीको लागि चरम दुःख भएको स्थानीयहरुले गुनासो पोखेका छन् ।

दुधौली नगरपालिका–४ डकाहा बजारका ललन धामीले पानीको लागि रोइलो गर्नुपर्छ भन्ने मनमा कहिल्यै लिएनन् । उमेरले चारबिस पुग्न लागेका धामी वसोवास क्षेत्रमा खानेपानीको सालिन्दा हाहाकार भएको देखेर दिक्क बन्नु भएको छ ।

उहाँको घर नजिक भएको जरुवा होस या इनार खन्दा खानेपानीको भुल्का छुट्ने गर्दथ्यो । तर केही वर्षयता भने पानी, पानी भनेर तड्पिनु पर्ने समय आएको छ । स्थानीय धामीकै शव्दमा “कलियूग लागेर मानव जाती मासिनका लागि यो सब भैरहेको छ ।” उहाँले भन्नुभयो, “२० वर्ष अघिसम्म पानीको कुनै समस्या थिएन्, जरुवा पलाएको ठाँउमा वर्षैभरि पानी सुक्दैनथ्यो । अहिले त जरुवा नै मासिएर गयो । पानी नै नभएपछि जरुवाको संरक्षण पनि भएन ।” चुरेको जंगल क्रमश सखाप हुदै गएपछि पानीको मुहान सुक्दै गएको धामीको अनुभव छ ।

“ढलापडा सुखड खडा रुख निकाल्ने नाममा हजारौं सालका रुखहरु ढालेर चुरेमा जतातै सडक खनिएको छ,” उहाँले थप्नुभयो, “यतिखेर घना जंगल भएको वनक्षेत्र राता पाखा भएका छन्, सबै मासेर सके । मानवले आफ्नो लागि विपत्ति आफैं तयार पारेका हुन् ।” चुरेको जंगल नमासिउन्जल पानी र दाउराको कहिल्यै अभाव नभएको अर्का स्थानीय विष्णुप्रसाद अधिकारीले सुनाउनुभयो । “सबै भन्दा बढि सडक खन्ने नाममा चुरेको वन क्षेत्र मासिएको छ,” उहाँको भनाई छ ।

मेशिन प्रयोग गरेर सडक वनाउने भन्दै भएको चुरे वन क्षेत्र सखाप पार्दा बाढी पहिरो जाने, पानीको हाहाकार हुने, चरिचरनको अभाव, जंगली इन्धन नपाउने समस्या भएको उहाँको ठम्याइ छ । चुरे क्षेत्रको वन मासिदा पानीको समस्या भएकोमा स्थानीयमा यतिखेर भने चेत खुल्दै आएको छ । दुधौली नगरपालिका–३ का बासिन्दा बाशु कोइराला जंगल मासिदा सास्ती हुने भन्दै हुटहुटी गर्दा आफैं फन्दामा परेको बताउनुहुन्छ ।

“चुरेको जंगल मास्दा विपत्ति आउने भन्दै मैले धेरै पटक मिडिया र सम्वन्धित वन कार्यालयमा वन मासिएको भने । तर आफैं उल्टै फन्दामा परे,” अवकास प्राप्त शिक्षक समेत रहनु भएका कोईरालाले थप्नुभयो, “वन मास्नेको आँखाको तारो त हुने नै भइयो, सरकारी अड्डा वन कार्यालयले समेत वयान भन्दै बोलाएर हैरान पार्ने । अब त मैले बोल्नै छाडे ।”

जिल्लाको दुधौली नगरपालिका, कमलामाई नगरपालिका, मरिण गाँउपालिका र हरिहरपुरगढी गाँउपालिकामा चुरे क्षेत्र पर्दछ । तराइका जिल्लासँग सिमा जोडिएका यी क्षेत्रमा चुरेको वन विनासबाट हजारौं विगाह खेतियोग्य जमिन बगरमा परिणत भएको छ भने खानेपानीको चरम हाहाकार हुने गरेको स्थानीयको गुनासो पाईन्छ । स्थानीयका अनुसार गर्मी मौसम सुरु हुनासाथ चुरे क्षेत्रका सबैजसो इनार समेत सुक्ने गरेका छन् । एकादुइको घरमा भएको इनारमा आउने पानीले झगडा र भनाभन समेत निम्त्याउने गरेको छ । धेरै पटक पानी भर्न जाँदा वचन लगाउने गरेको गृहणीहरुको दुःखेसो छ ।

गाग्री लिएर इनार नसुकेको घरमा पानी माग्न जाँदा वचन सहनु परेको दुधौली नगरपालिका–२ हत्पतेकी इन्द्रिका दनुवारले सुनाउनुभयो । उहाँले भन्नुभयो, “कति माग्न आएको हाम्रो पनि सुक्न लाग्यो भन्छन्, अनि कति सहनु भनेर मध्ये रातमा पानी खोज्न भौंतारिनु परेको छ ।” पानीको हाहाकार भएपछि कमलाखोंज र मरिण क्षेत्रको अधिकांस स्थानमा घरका दुईजनाको काम नै खानेपानी संकलन गर्ने हुने गरेको स्थानीयको भनाई छ ।

जिल्लाको कुल दुइ लाख ४७ हजार ८३४ हेक्टर वन क्षेत्र मध्ये एक लाख ६४ हजार २५८ हेक्टर चुरे क्षेत्रमा पर्दछ । चुरेको वन क्षेत्रको विनासलाई रोक्न स्थानीय नै सचेत हुनु पर्ने डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्णराज न्यौपानेको तर्क छ ।

प्रतिक्रिया