सिन्धुली – मरिण गाउँपालिकामा झण्डै १७ करोड लागतमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । संघिय सरकारको एक स्थानिय तह एक अस्पताल कार्यक्रम अन्तरगत मरिण गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल निर्माण हुनेभएको हो ।
कुल २४ करोड बढीको अस्पताल निर्माणका लागि १६ करोड ७१ लाख ५७ हजार २ सय ५७ लागतमा सम्झौता भएको मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान (प्रख्यात) ले बताउनुभयो । मरिण गाउँपालिका र संघिय सरकारको साझेदारीमा अस्पताल निर्माण हुन लागेको उहाँले बताउनुभयो । अस्पताल १५ शैयाको निर्माण हुने छ । गत २०७९ पुष २५ गते स्काई विल्डर्स प्रा.ली नयाँ बानेश्वर काठमाडौँसँग अस्पताल निर्माणको सम्झौता भएको छ । आगामी २०८१ मंसिर ३० गते अस्पताल निर्माण सम्पन्न हुने सम्झौता भएको अध्यक्ष मोक्तानले बताउनुभयो । मरिण गाउँपालिका वडा नम्बर ७ मा अस्पताल निर्माण हुने अस्पतालको आज शिल्यानास हुदै छ ।
अस्पताल निर्माण भएपछि मरिणबासीले स्वास्थ्य सेवाका लागि सिन्धुलीमाढी सम्म पुग्नु पर्ने बाध्यताको अन्त्य हुने अध्यक्ष मोक्तानको भनाइ छ । “स्वास्थ्य सेवाका लागि सिन्धुलीमाढी पुग्नु पर्दैन । पालिकामै सुविधा सम्पन्न अस्पताल निर्माण भएपछि दक्ष जनशक्तिबाट सेवा दिइने छ । पालिकाको अस्पतालबाटै नागरिकले स्वास्थ्य सुविधा पाउनेछन् ,” उहाँले भन्नुभयो ।
रंगशाला निर्माण
यसैबिच, मरिण गाउँपालिकामा जिल्ला स्तरीय फुटबल रंगशाला निर्माण हुने अध्यक्ष मोक्तानले जानकारी दिनुभएको छ । मरिण गाउँपालिका वडा नम्बर ४ साहानमा ५ सय सिट क्षमता सहित आधुनिक फुटबल स्टेडियम निर्माण सुरु भएको उहाँले बताउनुभयो ।
२ करोड ४७ लाख ८८ हजार १ सय ५१ रुपैयाँ लागतमा फुटबल रंगशाला निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको छ । अघिल्लो बर्षकै बजेट भएपनि जग्गा नभएर संरचना निर्माणको काम ठप्प भएको थियो । मरिण गाउँपालिकाले तिन कठ्ठा पाँच धुर जग्गा खरिद गरेर रंगशालाको काम सुरु गरेको उहाँले बताउनुभयो ।
बागमती प्रदेश सरकारको आर्थिक बर्ष २०७९÷८० बाट बिनियोजित ४२ लाख र अन्य मरिण गाउँपालिकाको आन्तरिक स्रोतबाट बजेट बिनियोजन भएको हो । फुटबल स्टेडियम १ बर्षमा निर्माण सम्पन्न हुने गरि २०८० जेठ २२ गते सिद्धकाली दाहाल जेभि कन्ट्रक्सनले ठेक्का पाएको छ । खेलाडिहरुको लागि सुरक्षित खेल मैदान नहुँदा बगरमा खेलाउनु पर्ने बाध्यता भएकाले फुटबल स्टेडियम मरिण गाउँपालिकाको लागि अति आवश्यक रहेको अध्यक्ष मोक्तानको भनाई छ ।
स्टेडियम बनेपछि मरिण गाउँपालिकाको मात्रै नभई जिल्ला स्तरिय फुटबल प्रतियोगिताका लागि सहज हुने अध्यक्ष मोक्तानले बताउनु भयो । स्टेडियममा प्याराफिट, भीआईपी कक्ष, प्रशासनिक भवन, चेन्जीङ्ग रुम, मिडीया सेन्टर, व्यवस्थित पार्किङ्ग र शौचालय हुने छ ।