बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

समाचारको प्रभाव : ६५ वर्षपछि लामाको परिवारसँग सम्पर्क

आइतवार , श्रावण ७, २०८०

सिन्धुली – सगुन सौगात मिडिया प्रा.लि द्धारा संचालित सिन्धुली सौगात डटकम र सिन्धुली सौगात दैनिक पत्रिकामा प्रकाशित समाचारको प्रभावले ६५ वर्षपछि साईला लामाको परिवारसँग सम्पर्क भएको छ ।

सिन्धुली सौगातमा प्रकाशित समाचार हेरेर लामाको भतिजाले मलेसियाबाट सम्पर्क गरेको मायाघर सञ्चालन समिति अध्यक्ष सुभद्रा प्याकुरेल बताउनुभयो । “सिन्धुली सौगातमा समाचार हेरेको भन्दै उहाँको भतिजाले मलेसियाबाट हामीलाई सम्र्पक गर्नुभएको थियो । सिन्धुलीको घ्याङलेख गाउँपालिका उहाँको घर रहेको खुलेको छ ,” उहाँले भन्नुभयो । स्थानिय तहसँग समन्वय गरेर लामालाई परिवारको जिम्मा लगाउने उहाँले बताउनुभयो ।

१६ वर्षको उमेरमा बैदेशिक रोजगारका लागि भारत पुग्नुभएको ८१ वर्षिय साईला लामा आफन्तको खोजीमा नेपाल आउनुभएको थियो । ६५ वर्ष पछि जन्मेको ठाउँ, आफन्त खोज्दै लामा नेपाल फर्किनुभएको हो । पश्चिम बंगाल काल्चिनी निवासी भिमकुमार बाक्सालिस सुनुवारको साथमा उहाँ नेपाल आइपुग्नुुभएको हो । “लामालाई कुनै एक व्यक्तिले हाम्रो फेसबुक पेज हेरेर सहयोग गरिदिनु भन्दै कल आएको थियो ,” अध्यक्ष प्याकुरेलले भन्नुभयो , “आफन्त नातागोता भेटने अभिलाषा लिएर नेपाल आएका साइला लामाको आफन्त खोजीकार्यमा हामी पनि जुट्यौँ ।”

आफू जन्मेको हुर्किएको ठाउँ स्पष्ट बनाउन नसक्ने साईला लामालाई नेपाल ल्याउन माया घर संस्थाका प्रतिनिधि कौशल भण्डारीले सहजीकरण गर्नुभएको थियो । बिर्तामोड स्थित इलाका प्रहरी कार्यालय परिसरमा प्रहरी नायव उपरिक्षक सुरज कार्कीको रोहबरमा मायाघर ईटहरीले लामाको जिम्मा लिएको थियो ।

 

प्रतिक्रिया