सिन्धुली – सिन्धुलीमा ट्राफिक सचेतनाका लागि निरन्तर अभियान सञ्चालन भएसँगै सवारी दुर्घटनाका घटनामा कमी आएको छ । सवारी दुर्घटना घटेसँगै वार्षिक मृत्यु हुनेको संख्या घट्दै जान थालेको छ । दुर्घटना न्यूनीकरणका लागि सवारी जाँचमा कडाइ र कारवाहीको प्रक्रिया अघि बढाएसँंगै दुर्घटना पनि कम हुँदै गएको हो ।
जिल्लामा तिन वर्षको सवारी दुर्घटनाको तथ्यांक हेर्दा सवारी दुर्घटनाको घटना कमी देखिएको छ । जिल्लामा आव २०७६/०७७ मा ६६ वटा सवारी दुर्घटनामा ३४ जनाको मृत्युका साथै ७१ जना गम्भिर र ५१ जना सामान्य घाइते भएका थिए । यसैगरी आव २०७७/७८ मा २१९५ वटा सवारी साधन दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियो भने १ सय ८० जना गम्भिर र २ सय ४० जना सामान्य घाइते भएका थिए । आव ०७८/७९ मा २७९ वटा सवारी दुर्घटनामा १ सय २२ जनाको मृत्यु भएको छ भने १६० जना गम्भिर र ३८२ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
गत आव २०७९/८० मा १५८ वटा सवारी दुर्घटनामा ३६ जनाको मृत्यु जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा ठूला सवारी साधनभन्दा पनि साना सवारी साधन बढी दुर्घटना हुने गरेको प्रहरीले बताएको छ । सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा सवारी दुर्घटना न्यूनिकरण गर्न समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जे जंग कार्किले बताउनुहुन्छ । “हामीले सवारी दुर्घटना न्यूनिकरणका लागि चेकजाँचमा कडाई गरिरहेका छौँ । मादक पदार्थ सेवन गरेर ओभर स्पिडको कारण दुर्घटना भइरहेको हुन्छ । प्रहरीको आँखा छलेर नियमको उल्लघंन गर्ने बढेको छ ,” उहाँले भन्नुभयो ।
सिन्धुलीमा तिन ओटा राष्ट्रिय राजमार्गले जिल्लालाई छोएको छ । राजमार्गमा सवारीको चाप बढेसँगै दुर्घटनाको जोखिम पनि बढेको छ । हालसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी दुर्घटना मोटरसाइकलबाट भएको देखिन्छ । पछिल्लो समय बढ्दो सवारी साधनको चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्था र सडक निर्माणका नाममा ठेकेदारले वर्षौं लगाउँदा केही दुर्घटना भएको प्रमुख कार्किले बताउनुभयो । ट्राफिक नियम उल्लंघन, मादकपदार्थ सेवन गरी सवारी चलाउने र तीव्र गतिले सबैभन्दा बढी दुर्घटना भइरहेको उहाँको भनाइ छ ।
जिल्लामा भएका सवारी दुर्घटनामा धेरै चालकको गल्तीका कारण भएको अनुसन्धानले देखाएको छ । तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा, यान्त्रिक गडवडी, ब्रेकफेल, स्टेरिङ फेल, यात्रुको गल्ती, सडक चौपाया र सडकको अवस्थाले गर्दा सवारी दुर्घटना भएको छ ।