बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

क्याप्टेन किनलोक मार्गमा सेनाको पदयात्रा

शनिवार , श्रावण ६, २०८०

सिन्धुली – इतिहासको जगेर्ना गर्ने हेतुले शनिबार चियावारी–सिन्धुलीगढी क्याप्टेन किनलोक पदयात्रा गरिएको छ । सेनाको श्री नं ९ वाहिनीले आयोजना गरेको क्याप्टेन किनलोक पदमार्गमा कमलामाई नगरपालिका २ को चियावारीदेखि सिन्धुलीगढीसम्म पदयात्रा गरिएको हो । चियावारीदेखि कमलामाई नगरपालिका ३ को सिन्धुलीगढीसम्मको ८ किलोमीटरलाइ सेनाले क्याप्टेन किनलोक पदमार्ग नामाकरण गरेको छ ।

विसं १८२४ को असोज १५ गते क्याप्टेन किनलोकको नेतृत्वमा आएको दुईहजार चारसय ब्रिटिश सेनालाइ स्थानीय सहित करिव एकहजार दुइसय संख्यामा रहेका गोर्खाली फौजले सिन्धुलीगढीमा भएको लडाईबाट पराजित गरेर पठाएकोे थियो । नेपाल एकिकरणको समयमा काठमाडौंका तत्कालीन राजा जयप्रकाश मल्ललाइ सहयोग गर्न आएको ब्रिटिश सेनालाइ बंशु गुरुङ नेतृत्वको गोर्खाली सेनाले सिन्धुलीगढीबाट पराजित गरेर धपाएको थियो । बीपी राजमार्ग निर्माण नहुँदा सिन्धुलीको महाभारत उत्तरतर्फ र रामेछाप, ओखलढुङ्गा, दोलखा लगाएतका जिल्लाका मानिसहरुको आवत–जावत गर्ने मार्ग यहि क्याप्टेन किनलोक मार्ग नै थियो ।

सदरमुकाम सिन्धुलीमाडीबाट चियावारी पुगेपछि ग्वाङखोलाको किनारै किनार फेदिसम्म जाने र त्यहाँ बाट ठाडो उकालो भएर हात्तीढुङ्गा, सिरवानी, ढुंग्रेभन्ज्याङ, साउनेपानी हुदै प्रवेशद्धारबाट गढीक्षेत्रमा भित्रने पुरानो बाटो किनलोक पदमार्गमा सेनाका अलवा, प्रहरी, प्रशासन, व्यवसाायी, संघसंस्थाका प्रतिनिधिले पदयात्रा गरेका थिए ।

पदयात्राले सेना र नागरिकको सम्बन्ध फराकिलो भइ इतिहाँसको जगेर्ना गर्न मद्धत मिल्ने ९ नं वाहिनीका प्रमुख सहायक रथी शक्तिजंग बस्नेतले औंल्याउनु भयो । वीरपुर्खाहरुले विजयी प्राप्त गरेकोस्थानमा पुग्न वैरीपक्षको नेतृत्व गर्ने कप्तान किनलोकको सम्झनामा पदमार्ग बनेको उहाँको भनाइ थियो ।

पदयात्राकाक्रममा सिन्धुलीगढी क्षेत्रका अन्वेषणकर्ता सागरकुमार ढकालले सिढी निर्माण गरेर ठाउँठाउँमा विश्रामस्थल बनाउन सके यसको महत्व बढेर देशविदेशबाट पदयात्रीहरु ओइरिने दावी गर्नुभयो ।

पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा बाधा पुर्‍याउन काठमाडौंका तत्कालिन राजालाई सहयोग गर्न आएका ब्रिटिश फौजलाइ नेपाली फौजले भुगोलको साथ लिएर प्रतिरक्षा गर्दै लडाई गरेकाले यो पदमार्ग अरु भन्दा भिन्न रहेको उहाँको तर्क थियो । गोर्खाली सेनाले आक्रमण गरेर मात्र नभइ अरिङालका गोला, अल्लो, सिस्नु लगाएतको समेत मद्धत लिएको इतिहा“समा पाइन्छ, उहाँले भन्नुभयो, “विश्वमै साम्राज्य फैलाएको ब्रिटिश सेनालाइ पराजित गरेको स्थान हेर्न जो सुकै आउछन्, र पदयात्रामा समेत मज्जा लिएर इतिहाँसको खोज अनुसन्धान हुन्छ ।”

यो पदमार्गको ८ किलोमीटर पुरा गर्न डेढदेखि दुइघण्टा लाग्ने उहाँले जनाउनुभयो । ५ किलोमीटर क्षेत्र ठाडो उकालो भएकाले विश्रामस्थल र सिंडी निर्माण हुनुपर्ने खाचो प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले औल्याउनुभयो । पदमार्गमा पदयात्रा गरिरहनुभएको उहाँले प्रत्येक नेपालीलाइ गर्वानुभुती हुने यो पदमार्गमा महत्व उजागर गर्नुपर्ने जनाउनुभयो ।

मध्येपूर्वी पृतनाका उपरथी प्रेमध्वज अधिकारी, नं २८ वाहिनीपति सानोकाजी थापा, नं २७ वाहिनीपति पूर्ण खत्री लगाएतका अधिकारीहरुले पदयात्रा गर्नु भएको थियो ।

यस अघि हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्मको पदयात्रा सेना र समृद्ध सिन्धुली अभियानले गरेका थिए ।

 

प्रतिक्रिया