सिन्धुली– जिल्लामा किनमेलका लागि जाँदा सवारी साधन पार्किङ गरेको अवस्थाबाट होस् अथवा घुम्न जाने क्रममा राखिएका मोटरसाइकल हराउने क्रम बढ्दो छ । विशेषगरी बजाज कम्पनीका पल्सर मोटरसाइकल धेरै मात्रामा हराएको उजुरी पर्ने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मोटरसाइकल हराएको उजुरी परेको आधारमा भेटिएको मोटरसाइकल ज्यादै न्यून छ । मोटरसाइकलको सुरक्षा संयन्त्र निकै कमजोर भएको हुँदा जोकोहीले पनि सजिलै चोर्न सक्ने प्रहरीको भनाई छ । जिल्लामा सिसीटिभी क्यामेराको सञ्जाल भएपनि चोरीमा संलग्न हुने व्यक्तिलाई पक्राउ गर्न प्रहरी असमर्थ हुने गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा जिल्लामा २५ वटा मोटरसाइकल हराएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरन्जीवी दाहालले बताउनुभयो । चोरी भएकामध्ये १३ मोटरसाइकल फेला परेको भन्दै दाहालले ४ ओटा मोटरसाइकल मात्रै धनीलाई फिर्ता गर्न सफल भएको जानकारी दिनुभयो । एउटा मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको र उक्त मोटरसाईकल धनीलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले गत आर्थिक वर्षमा अभियुक्त सहित पक्राउ गरि ९ वटा मुद्धा दर्ता गरेको थियो । मोटरसाइकल चोरीका घटना बढे पनि भेटिने अनुपात साह्रै न्यून भएकाले प्रहरीले लामो समयसम्म मोटरसाइकल पार्किङ गरेर राख्नुपर्ने अवस्थामा चेन तथा अन्य तरिकाबाट लक गर्न सुझाव दिएको छ ।
चाबीको भरमा मोटरसाइकल छोडिँदा चोरीको दर बढ्दै गएको प्रहरी नायव उपरिक्षक दाहालले बताउनुभयो । मोटरसाइकल चोर्ने र ती मोटरसाइकलको नक्कली कागजपत्र बनाएर बिक्री गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै दाहालले सामान्य अवस्थामा नक्कली र सक्कली कागजपत्र छुट्याउन नसकिने बताउनुभयो ।