सिन्धुली– नेकपा(एमाले) दुधौली नगर कमिटीले दुधौली नगरपालिकाको सरकारको गतबिधी प्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताउँदै बिहिबार ध्यानकर्षण पत्र बुझाएको छ ।
दुधौली नगरपालिकाले करारमा भर्ना गरेका पुराना कर्मचारी हटाउँदै आफ्नो मनोमानी ढंगले नयाँ कर्मचारी भर्ना गरिएको भन्दै नेकपा(एमाले) दुधौली नगर कमिटीले असन्तुष्टी ब्यक्त गरेको छ ।
नेकपा(एमाले)का अध्यक्ष लक्ष्मण कुमार कार्कीद्धारा हस्ताक्षरित ७ बुँदे ध्यानाकर्षण पत्रमा भनिएको छ । “ नगरपालिकामा रहेका सामुदायीक मनोपरामर्श कार्यकर्ता, सामाजिक परिचालिका र सरसफाईका कर्मचारीहरु हटाई केही कर्मचारी पुर्वाग्रही ढंगबाट भर्ना गरिएकोले सबै हटाइएका कर्मचारीहरुलाई निरन्तरता गराउन ध्यानाकर्षण गराउँदछौं ।”
नगरपालिका कार्यालयले नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय संगठन बिभाग शाखाको पत्र अनुसार कर्मचारी हटाउन नमिल्ने भनि गरिएको निर्णय विपरित कर्मचारी हटाएको भन्दै निर्णय सच्चाउन नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
त्यस्तै नगरपालिकामा सञ्चालित हेफर इन्टरनेशनल नेपालको प्रोजेक्ट हेड्स नेपालसँगको साझेदारीमा स्वार्थपूर्ण ढंगबाट सम्झौता गरी कार्यक्रम सञ्चालन गरिरहेको प्रति पनि नेकपा(एमाले) दुधौलीले आपत्ति ब्यक्त गरेको छ ।
उता दुधौली नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत दिपक ढकाल भने ध्यानाकर्षणलाई सकारात्मक रुपमा लिइएको र आन्तरिक श्रोत घट्दै गएको अवस्थामा करारका कर्मचारी राखि राख्न समस्या भएकोले निकालिएको बताउनुभयो । कार्यपालिकाकाले निर्णय गरेर आवश्क्ताको आधारमा कर्मचारी भर्ना र निकाल्न सकिने ब्यवस्था अनुसार नै उक्त कार्य गरिएको जानकारी दिनुभयो ।

