सिन्धुली– सिन्धुलीगढी प्रहरी चौकी गोलन्जोर गाउँपालिका–५ खनियाखर्कको सुविधा सम्पन्न पक्की भवन निर्माण सम्पन्न भएको छ । बिहिबार नव निर्मित भवनको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले एक कार्यक्रम बीच उदघाटन गर्नुभएको छ ।
भवन उद्घाटनका क्रममा बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी किरण राणाले अपराध न्यूनीकरणका लागि प्रहरीलाई नागरिकको साथ अत्यावश्यक रहेको बताउनुभएको छ ।
नागरिक पनि बिना बर्दीको प्रहरी भएकाले अपराध न्यूनीकरण र समुदायमा शान्ति सुरक्षा कायम राख्न नागरिकको महत्वपुर्ण दायित्व रहने डीआईजी राणाको भनाई छ । अनुसन्धानलाई प्रभावकारी बनाउँदै, नागरिकसँगको सहकार्यमा अग्रीम कार्ययोजना बनाएर काम गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई प्रहरी नायब महानिरीक्षक किरण राणाले निर्देशन दिनुभएको छ ।
नवनिर्मित भवन उदघाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, बागमती प्रदेशका सांसद छेत्र बहादुर बम्जन, जिल्ला समन्यव समिति प्रमुख कार्साङ लामा लगायतको उपस्थिती रहेको थियो ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुुन मन्त्रालयबाट विनियोजित २ करोड ४९ लाख १३ हजार ३४३ रुपैयाँ लागतमा सिन्धुलीगढी प्रहरी चौकीको भवन निर्माण गरिएको हो । प्रहरी कार्यालय, ब्यारेक, गोलघर, भान्साघर र कम्पाउन्डवाल सहितको भवन बनेकोे छ ।