बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सुनकोशी –मरिणडाइभर्सन ९ महिनामै सुरुङको काम ७४०० मिटर

बिहिवार , श्रावण ४, २०८०

सिन्धुली – सबैजसो राष्ट्रिय गौरवका आयोजनाको काम निराशाजन भइरहेको समयमा सुनकोशी–मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने कामको प्रगती लक्षभन्दा बढि भएको छ । ९ महिनामा सुरुङ खन्ने काम आधा भन्दा बढि सकिएको छ । १३ दशमलब तीन किलोमिटर लामो सुरुङ मध्ये हालसम्म ७ हजार ४ सय मिटर खन्ने कार्य भएको सुनकोशी–मरिण डाइभर्सन आयोजनाले जनाएको छ । गएको असोज २८ गतेबाट सुरुङ खन्न सुरु गरिएको थियो ।

सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार प्रति महिना पाँचदेखि सातसय मिटर सुरुङ खन्ने लक्ष लिइएकोमा कुनै महिना ९ सय मिटरसम्म खन्ने काम भएको छ । टनेल बोरिङ मेसिन –(टीबीएमा)बाट सुरुङ खन्न सुरु गरिएको ९ महिनाको अवधिमा लक्ष भन्दा बढि खनेर प्रगती भएको आयोजनाका प्रमुख बरालले जानकारी दिनुभयो । कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न सुरु गरि सुनकोशी तर्फ अघि बढिरहेको छ ।

सुरुङ निर्माणमा हालसम्म एकाध बाहेक कुनै समस्या नआएको भन्दै आयोजना सिनिएर डिभिजन इन्जिनियर अशोकराज गौतमले चुरेको भुभागमा सकिएर महाभारत क्षेत्रतर्फ सुरुङ खन्न थालेको जानकारी दिनुभयो । कमलामाइ नगरपालिका वडा नं २ को धनमना क्षेत्र पार गरेर महाभारत रेन्जमा प्रवेश गरेको उहाँको भनाइ छ । महाभारत क्षेत्रमा कटा चट्टान हुने भएकाले समस्या आउन सक्ने गौतमले जिकिर गर्नुभयो । यहि रफ्तारमा सुरुङ निर्माण भएमा तोकिएको २२ महिनाको अवधि अगावै निर्माण सम्पन्न हुनेछ ।

सुरुङ निर्माणमा खटिएका प्राविधिक कर्मचारी तथा कामदारहरुलाइ सहज होस भनेर ठुलो पाइपमा अक्सिजन सहित हावा पास गर्ने क्षेत्र बनाइएको छ । सुरुङ निर्माण क्षेत्रमा ठाउँ ठाउँबाट पानी निस्किए पनि ठुलो मुल भेटिएर कामै रोक्नु पर्ने अवस्था आएको छैन् । सुनकोशीमा हेडवक्र्स निर्माणको ठेक्का संझौता भइ निर्माण व्यवसायीले क्याम्प निर्माण शुरु गरेका छन् । उच्च प्रबिधिबाट ५ दशमलब ५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भैरहेको इन्जिनियर गौतमले जनाउनुभयो । ल्याव परिक्षणबाट स्विकित भएका सेगमेन्ट मात्र सुरुङ निर्माणमा प्रयोग भएको उहाँको दावी छ ।

सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) अहिले दैनिक सरदर १० मिटर र कुनै दिन १५ देखि २० मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनेको छ । सुनकोशी गाउ“पालिकाको कानढुंग्रीमा गएर सुरुङ निर्माण सम्पन्न हुन्छ । यो तामाकोशी र सुनकोशी नदीको संगमस्थल त्रिवेणी भन्दा सातसय मिटर तलपर्छ । सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपैया“मा ठेक्का पाएको छ । हालसम्म आयोजनाले ६ अर्व एककरोड २७ लाख खर्च गरेको छ । यो आयोजनामा ४६ अर्व १९ करोड खर्च हुने जनाइएको छ । आगामी वर्षका लागि सरकारले चारअर्व रुपैंया“ आयोजनाको लागि छुट्याएको छ । आयोजनाका अनुसार खुर्कोटमा सुनकोशी नदीमा १६ मिटर उचाईको बँँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालीने छ । त्यहा ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत उत्पादन गरिने छ । आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाई सुविधा पु¥याउने रहेको छ ।

प्रतिक्रिया