सिन्धुली– सिन्धुलीको तिनपाटन गाउँपालिकामा लगातार तीन आर्थिक वर्ष जिल्लाकै सबैभन्दा बढि बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/०७७, ०७७/०७८ र ०७८/०७९ मा जिल्लाको ९ वटा स्थानिय तहमध्य तीनपाटन गाउँपालिकामा सबैभन्दा बढि बेरुजु देखिएको हो । उक्त गाउँपालिकाको नृेतत्व विगत ६ वर्षदेखि नेपाली कांग्रेस सिन्धुली क्षेत्र नम्बर एकका क्षेत्रिय सभापति कर्ण बहादुर थापा मगरले सम्हालिरहनु भएको छ । थापा अध्यक्ष भएको पहिलो आर्थिक वर्ष २०७४/७५ मा तिनपाटनको बेरुजु तीन करोड १९ लाख १० हजार रहेको थियो । यो वर्ष तिनपाटनको बेरुजु जिल्लाकै दोश्रो बढि रहेको थियो । त्यस्तै, २०७६/७७ मा चार करोड ४९ लाख ७६ हजार, २०७७/०७८ मा नौँ करोड ८४ लाख ९३ हजार र २०७८/०७९ मा ८ करेड एक लाख ९७ हजार रुपैँया बेरुजु सहित तिनपाटनले जिल्लाकै सबैभन्दा बढि बेरुजुको ह्याट्रिक गरेको थियो ।
उहाँले नेतृत्व सम्हालेदेखिनै हरेक आर्थिक वर्षमा तिनपाटन गाउँपालिका जिल्लाकै सबैभन्दा बढि बेरुजु हुने स्थानिय तहको सूचिमा रहेको महालेखापरीक्षकको कार्यालयले देखाएको छ । दोश्रो कार्यकाल अध्यक्षमा दोहोरिदा समेत गाउँपालिका अध्यक्ष थापाले नागरिकको करमा मोजमस्ती गर्न नछोडेको महालेखापरीक्षकको ६० औँ प्रतिवेदनले देखाएको छ । अध्यक्ष थापाको कार्यशैलि अराजक रहेको नाम नबताउते शर्तमा एक कर्मचारीले सिन्धुली सौगातलाई बताए । उनले भने, ‘अध्यक्षले चाहेको काम भएन भने गालीगलौजमै उत्रिनुहुन्छ ।’ केहि महिनाअघि प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी लिएर तिनपाटन आउनुभएकि पुष्पाकुमारी झाप्रति अध्यक्ष थापाले गर्नुभएको दुव्र्यवहारको मौखिक उजुरी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको मा समेत पुगेको थियो । शिक्षक नियुक्ति गर्दा अध्यक्ष थापाकै नजिकको मान्छे भर्ति गनुपर्ने दबाबलाई अस्विकार गर्दै निष्पक्ष कर्मचारी भर्ति गर्ने अडान लिनुभएकि प्रमुख प्रशासकिय अधिकृत झामाथिनै अध्यक्ष जाई लाग्नुभएको थियो । आफूले इच्छाए अनुसार काम नहुने देखेपछि अध्यक्ष थापा गालीगलौँजमै उत्रिनुभएको एक प्रत्यक्षदर्शिले सिन्धुली सौगातलाई बताए । यतिसम्म कि, अध्यक्ष थापाले प्रशासकिय अधिकृत झा को सरुवाकालागि लबिङ गर्न काठमाडौँमै केहि साता बिताउनुभएको थियो । अन्तः तत्कालिन तिनपाटन गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत झाको दुई महिनामै तिनपाटनबाट सरुवा भएको थियो । अध्यक्ष थापाले सुटुक्क विज्ञापन निकालि आफ्ना नातेदार र आसेपासेलाई समेत गाउँपालिकामा जागिर दिएको कर्मचारी श्रोतले बतायो ।
गाउँपालिकामा जसरीपनि आफूले भनेको कुरा कार्यान्वयन गर्नैपर्ने अध्यक्ष थापाको जिद्दि र अराजकपनकै कारण हरेक वर्ष तिनपाटनमा जिल्लाकै सबैभन्दा बढि बेरुजु हुने गरेको स्थानियले बताए । अध्यक्ष थापाले तीनपाटनको नेतृत्व सम्हालेपछि महालेखापरीक्षकको कार्यालयले पाँचवटा प्रतिवेदन सार्वजनिक गरेको छ । पाँच आर्थिक वर्षमा लगातार तीनपटक तिनपाटनले जिल्लाकै सबैभन्दा बढि बेरुजु र एक पटक दोश्रो धेरै बेरुजु भएको स्थानिय तहको रेकर्ड कायम गरेको छ ।