सिन्धुली – कमलामाई नदी बीच बाटो गरी बग्ने दुधौली फाँटको स्वरूप बितेको पाँच वर्षमा फेरिएको छ । यो फाँट उत्तरतर्फ महाभारत पर्वत र दक्षिणतर्फ चुरिया पहाडको बीचमा फैलिएको छ । उहिल्यैदेखि सबैले चिन्ने गरेको भित्री मधेस कमलाखोंजको फाँट हो यो । दशक अघिसम्म बर्खामास लागेपछि कमलामा भेल बढेसंगै वारि फाँटकाले पारिका छिमेकी भेट्न मुस्किल पथ्र्यो । अब त्यो रहेन । कमलामा पाँच वटा अन्तर्राष्ट्रिय मापदण्डअनुकुलका पुल बनेका छन् । घोडेटो र कच्ची बाटाहरू दुई लेन सडकमा परिणत भएका छन् । सडक सञ्जाल विस्तार भएसंगै दायाँ–बायाँ सहरी बस्ती बन्न थालेका छन् । कमला नदी नियन्त्रणका लागि कमला करिडोर निर्माण कार्य सुरु भएको छ ।
दुधौली नगरपालिका वागमती प्रदेशको पूर्वी–दक्षिण सीमानामा रहेको छ । ०७१ सालमा साबिक लदाभिर, दुधौली र टाँडी गाविस गाभेर दुधौली नगरपालिका बनाइएको हो । संघीय संरचना कार्यान्वय भएसंगैगै हत्पते, सिर्थौली, निपाने, हर्षाही, अरुणठाकुर, ककुरठाकुर जिनाखु गाविस समाहित गरी १४ वडामा विस्तार गरिएको छ । दुधौली नगरपालिकाको क्षेत्र ठूलो छ । यहाँ भने दुधौली उपत्यकाको मात्र चर्चा गरिदैछ । राजधानी काठमाडौंबाट सिधै दुधौली यातायात सुचारु छ । मदन भण्डारी लोकमार्ग दुधौली हुँदै पूर्वतर्फ तन्किएको छ । यो तराई/मधेसको वैकल्पिक मार्ग हो । लोकमार्गले दुधौलीको भूगोल र जनजीवनलाई सहज तुल्याएको छ ।
“आफ्नो गाउँ ठाउँ हेर्दाहेर्दै सहर बन्दैछ,” दुधौली नगरपालि–१ का गोविन्द पहाडीले भन्नुभयो, “यस्तो होला भन्ने कल्पना समेत गरेको थिइन ।” जंगलबाट काटेर ल्याइने थाकल, काँस, कस्यानले छाइने छानोवाला फुसका घरहरूको विरलै बाँकी छन् । काठको खाँबा र टायलले छाएका घरहरूको बाहुल्य घट्दो छ । सिमेन्ट, फलामे रडसँग स्थानीय गिटी, बालुवा मिसाएर आरसीसीका बिल्डिङहरू तीव्र रूपमा बन्दैछन् । नयाँ होटल, किराना पसलहरू थपिदै छन् । निर्माण व्यवसायीहरूले दुधौलीको बदलिंदो स्वरुपलाई लक्षित गरेर नयाँ गन्तव्य बनाउन थालेका छन् ।
तत्कालिन जिल्ला विकास समितिका सदस्यसमेत रहनु भएका लालबहादुर थापाको शब्दमा कमलाखोंज क्षेत्रको दुधौली, लदाभिर, सिर्थौली, हत्पते तत्कालीन गाविस दुर्गमझैं थिए । “कमला नदीमा पुल नहुँदा वर्षातको समयमा औषधोपचार नपाएर धेरै अकालमा ज्यान गुमाए,” उहाँ सम्झिनुभयो्, “अब त्यस्तो दर्दनाक स्थिति रहेन । सडक, बिजुली, पक्की पुल, स्वास्थ्य चौकी, स्कुल, क्याम्पस बनेका छन् ।”
स्थानीय पत्रकार गंगाराम कार्की दुधौली सहरोन्मुख हुनुको केही कारण रहेको बताउँछन् । प्राकृतिक रूपमा कमलामाईको तीर विशाल फाँट र कृषि ऊर्वर भूमि हुनु पहिलो पक्ष हो । स्थानीय आदिवासी दनुवार, मुसहर, माझी, हायु, थामीलगायत हुन् । उहिल्यैदेखि पहाडबाट बसाई झरेकाहरूको बाहुल्य रहेको छ । लोकमार्गको उत्तरतर्फ वडा नं.१० मा सहिद पार्क बनेको छ । वडा नं.९ तावाखोला किनारामा रंगशाला निर्माण सुरु भएको छ । नगरपालिकाले घरवारविहीन १ सय ५० परिवार स्थानीय मुसहर परिवारलाई आवासको व्यवस्था गरिदिएको छ । कमलामाई र तावा नदीबाट सिंचाईको व्यवस्था छ ।
“प्रदेश सरकार र स्थानीय सरकारले दुधौलीको विकासमा प्राथमिकता राखेको हुँदा सम्भावित विशाल सहर बन्ने ताकमा छ,” पत्रकार कार्कीले भन्नुभयो, “तर सहरको नाम प्राकृतिक स्रोतको दोहन र अव्यवस्थित जग्गा खण्डिकरण गरी प्लटिङ हुन थालेको छ । स्थानीय सरकारले दूरगामी संकटका आंकलन गरेर बेलैमा व्यवस्थित योजना निर्माण गर्न जरुरी छ ।” नगरपालिकाले दुधौली बजारको पुरानो संरचनालाई योजनाअनुसार फराकिलो पारिसकेको उहाँले जनाउनुभयो ।
स्थानीय शिक्षक आशाराम अधिकारी दनुवार विकासको गतिसंगै दुधौली बदलिदै गएको सुनाउनुभयो । “पहिले गाविसमात्र हुँदा काठका घरहरू, सामान्य किराना पसल, गाउँघरजस्तो मात्र थियो,” शिक्षक दनुवारले भन्नुभयो, “दुधौलीवासीले संघीयताको प्रत्यक्ष अनुभूति गर्दैछौं । सिंहरदबारको अधिकार आफ्नै टोलमा आएको छ ।” रोजगारीकै निम्ति दुधौलीवासी अन्यत्र जानु पर्दैन । कमाई खाने जग्गाको अभावमा अन्यत्र बसाई सर्नु पर्दैन । स्थानीय कृषिजन्य उत्पादनले सहज रुपमा बजार पाएका छन् । बेरोजगारी समस्या कम छ ।
दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवार आधुनिक प्रविधियुक्त सामूहिक चक्लाबन्दी खेती सुरु भएको बताउनुहुन्छ । त्यसैगरी जनता आवास कार्यक्रमअन्तर्गत मुसहरलगायत विपन्न समुदायका निम्ति सयौं घरहरु निर्माण भएका छन् । बृहत् खानेपानी आयोजना सुरु भएको छ । दुधौली नगर क्षेत्रको ऐलानी जग्गाको नापी कार्य सुरु भएको छ । धार्मिक पर्यटनका महत्वपूर्ण स्थलहरु निर्माण कार्य भइरहेको छ । सहिद स्मृति पार्क निर्माण भएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको रंगशाला निर्माण भइरहेको छ । बसपार्क निर्माण भइरहेको छ । कोशी प्रदेसको उदयपुरसंग जोडिने ककुर खोला र तावा खोलामा पुल निर्माण भएको छ ।
मेयर दनुवारका अनुसार संघीय सरकारमार्फत् कमला र तावाको पुल र मदनभण्डारी राजमार्ग निर्माण भइरहेको छ । विश्व बैंकको सहयोगमा विद्युतीकरण भइरहेको छ । प्रदेश र स्थानीय सरकारको साझेदारीमा कमला कोरिडोर, सहिद स्मृति पार्क, बृहत खानेपानी, रंगशाला, बस पार्क कुनै निर्माणाधिन छन् भने कतिपय सम्पन्न भैसके । औद्योगिक ग्राम निर्माण स्थलका निम्ति जग्गा छनोट भइसकेको छ । “सबै मिलाएर सात अर्बको योजना निर्माण भइरहेको छ,” निर्माणका अतिरिक्त स्थानीयको आयस्रोत क्षमता विस्तारलाई जोडदिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्थानीयवासीको आयस्रोत बढाउन पशुपालन, दूध, मासु, तरकारी उत्पादनमा आत्मनिरभर होइन निर्यातकर्ता बनाउने योजना अघि बढेको छ ।” आफ्नो कार्यकालमा कमला कोरिडोर निर्माण कार्य पूरा हुने मेयर दनुवारले जनाउनुभयो ।
“यत्तिका काम गर्दागर्दै दुधौली नगरपालिका क्षेत्रका जनताले मालपोत, नापी र नागरिकताका निम्ति ८० किलोमिटर टाढा सिन्धुलीमाढी सदरमुकाम धाउनु परेको स्थिति छ,” सर्वसाधारणले अत्यन्त दुःख पाइरहेको उल्लेख गर्दै मेयर दनुवारले भन्नुभयो, “दुधौलीमा सेवा केन्द्र विस्तार गर्न मन्त्रालयसम्म पुग्दा पनि सम्बोधन हुन सकेको छैन ।” बाक्लो जनघनत्व रहेका दुधौली नगरपालिका गाउँपालिकालाई लक्षित गरी सेवा केन्द्रको माग गर्दै आएको मेयर दनुवारले उल्लेख गर्नुभयो । सिन्धुलीमा अहिले दुई नगरपालिका र सात गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको छ ।