बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा झण्डै १२ हजारले लिए नयाँ नागरिकता

मंगलवार , श्रावण २, २०८०

सिन्धुली– सिन्धुलीमा एक वर्षको अवधिमा झण्डै १२ हजारले नयाँ नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ११ हजार ८ सय ९६ जनाले नयाँ नागरिकता लिएका हुन् । वंशसको आधारमा ६ हजार २ सय ३८ जना महिला र ५ हजार ६ सय ५८ जना पुरुषले नयाँ नागरिकता लिएका हुन् । जेष्ठ महिना सम्म ५ हजार ८ सय ३३ महिला र ५ हजार ३ सय १३ पुरुषले नयाँ नागरिकता लिएका थिए भने असार महिनामा ४ सय ५ महिला र ३ सय ४५ जना पुरुषले नयाँ नागरिकता लिएको जिल्ला प्रशासनको तथ्यांकले देखाएको छ ।

त्यसैगरि, बैबाहिक अंगिकृत दुइ जनाले नागरिकता लिएका छन् । यस्तै, ७ हजार दुइ सय २९ जनाले प्रतिलिपि नागरिकता लिएका छन् । जेष्ठ सम्म ६ हजार ६ सय ९३ जनाले प्रतिलिपि नागरिकता लिएका थिए भने असार महिनामा मात्रै ५ सय ३६ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए ।

पछिल्लो समय माध्यमिक तहको शिक्षा उत्तीर्ण गर्नेबित्तिकै नेपाली नागरिकताको प्रमाणपत्र बनाउने भएकाले नागरिकता बनाउनेको संख्या बढेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । सरकारी निकायबाट सेवासुविधा प्राप्त गर्न र प्राविधिक शिक्षा अध्ययनका लागि नागरिकता अनिवार्य भएकाले पनि नागरिकता लिनेको संख्या बढेके हो । अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति र अन्य सुविधा प्राप्त गर्न नागरिकता आवश्यक पर्ने भएकाले नागरिकता लिनेको संख्या बढेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो ।

नागरिकता लिनेमा पुरुष भन्दा महिलाको संख्या बढी छ । पछिल्लो समय स्थानीय सरकारहरूले सामाजिक सुरक्षा भत्ता पाउने सबै नागरिकको नागरिकता सहितको विवरण मागेपछि धेरै ज्येष्ठ नागरिकले नागरिकता बनाउने क्रम बढेको छ ।

 

प्रतिक्रिया