बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुली जिल्लाका शिवालयमा भक्तजनको भीड

सोमवार , श्रावण १, २०८०

सिन्धुली, –सिन्धुलीका शिवालय मन्दिरमा साउनको पहिलो सोमवार देखि साउने मेला सुरु भएको छ । साउन महिनाको पहिलो दिन आज सोमबारे औँसी परेकाले बिहानैदेखि सिन्धुलीका शिवालय क्षेत्रमा श्रद्धालुहरुको भिड लागेको हो ।

साउनको पहिलो सोमबार बोलबम मेलाका लागि सिन्धुलीको को प्रसिद्ध धार्मिकस्थल दुधौली नगरपालिका—२ हत्पते लंगुरखोलास्थित मधुगंगा महादेब मन्दिर लगायत जिल्लाभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।

प्रत्येक वर्ष साउन महिनाभरी मेला लाग्ने लंगुरखोलास्थित मधुगंगा महादेब मन्दिरमा यो बर्षपनि छिमेकी जिल्लाहरु सर्लाही, महोत्तरी, सिरहा, रौतहट, बारा, पर्साका अतिरिक्त भारतका सितामाढी, मधुबनी लगायतका सहरबाट पँहेलो गेरु रंगको बस्त्र लगाई आएका हजारौ श्रद्धालु भक्तजनहरुको उपस्थितीमा मेला लाग्न सुरु भएको हो ।

स्थानीय बासिन्दाका अनुसार उक्त मन्दिरमा साउन महिनाभरी बोलबम् मेला लाग्ने भएपनि साउनको पहिलोे सोमवारका दिन भक्तजनको उपस्थिति थामी नसक्नु हुने गरेको छ । शुद्ध मनले निराहार बसी उक्त महादेबको दर्शन गरेमा मनले चिताएको ईच्छा पुरा हुने विश्वासले भक्तजनको भिड लाग्ने गरेको हो ।

मन्दिरका पूजारी लोकबहादुर थापाले यो बर्ष साउन पहिलो सोमवारनै भक्तजनको भिडलागेको बताउनुभयो । उहाँ भन्नुभयो, “सन्तान्, धन, शिक्षा प्राप्ती र कुनै रोग व्याध हटाउनका लागि भक्तजन महादेबको दर्शन गर्न आउने गरेका छन् । महादेबप्रतिको विश्वासले नै भक्तजनको भिड लाग्ने गरेको हो ।”

श्रद्धालु भक्तजनहरुकै सहयोगबाट हालसम्म मन्दिर परिसरमा सात वटा धर्मशाला निर्माण भई सकेको छ । स्थानीय बासिन्दाका अनुसार त्यसो त बिकट जंगलको अनकन्टार कुनामा रहेको उक्त महादेब मन्दिरमा जान तराईका जिल्लाबाट आएका बोलबम भक्तजनलाई कमला नदीमा पक्कि पुल निर्माण सम्पन्न भएसँगै सजिलो भएको छ ।

पक्कि पुल निर्माण हुनुअघि तराईबाट आउने भक्तजनहरुले कमलामाई नगरपालिका–१४ चन्दनपुरमा पुगेपछि हेलिएर कमला नदी पार गर्नु पर्ने बाध्यता थियो । जस्का कारण बर्सेनि दुई/चार जना भक्तजनको कमला नदीले बगाएर ज्यान जाने गरेको स्थानीयले जनाएका छन् ।

यो बर्ष उक्त मेलालाई व्यवसिथत गर्न सडकको ठाँउ–ठाँउमा स्वास्थ्य शिविर, सुरक्षाकर्मी परिचालन, स्टललाई व्यवस्थित गर्ने, स्वयंसेवक परिचालन, सौर्यबत्ति जडान, पार्किङको व्यवस्था लगायतको तयारी गरिएको दुधौली नगरपालिका–२ का अध्यक्ष रितेस राउतले जानकारी दिनुभयो ।

मधुगंगा महादेव मन्दिरलाई प्रमुख धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाले बृहत गुरु योजना नै बनाई त्यसै अनुसार काम गर्न सुरु गरेको उहाँको भनाई छ ।

साउन महिनामा लाग्ने बोलबम् मेलाका कारण स्थानिय वासिन्दाको आय आर्जनमा समेत बृद्धि भएको पाईन्छ । भक्तजन हिड्ने बाटोको दाँयाबाँयामा राखिएका नाङ्ले किराना पसल मेलाका कारण निकै फस्टाएका स्थानीय बासिन्दा रेखराज दाहालले जानकारी दिनुभयो । साउनको सोमबार भगवान् शिवलाई शुद्ध जलमात्र चढाए पनि खुसी भई मनकामना पूरा हुने धार्मिक विश्वास छ ।

साउन भगवान् शिवजीको महीना मानिन्छ । सोमबारलाई भगवान् शिवको बारका रुपमा मानेर भक्तजनको विशेष भीड लाग्ने गरेको हो । साउनको सोमबार विशेषगरी महिलाले व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने परम्परा छ । यसो गरेमा विवाहिता महिलाले अटल सौभाग्य एवं अविवाहिता महिलाले सुयोग्य वर पाउने धार्मिक मान्यतासमेत रही आएको छ ।

प्रतिक्रिया