सिन्धुली– सिन्धुली प्रहरीले एक सय ५५ किलो लागुऔषध गाँजा र पिकअप गाडीसहित एकजनालाई नियन्त्रणमा लिएको छ । गत असार २५ गते प्रहरीले विशेष सूचनाको आधारमा कमलामाई नगरपालिका ९ भिमानस्थित सडकखण्डमा सवारीसाधन रोकी जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषध गाँजा बोकी ल्याएको बागमती प्रदेश २० च ९८३ नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौँबाट महोत्तरीतर्फ जादैँ गरेको पिकअप गाडीलाई रोकी शंका लागेर खानतलासी गर्दा उक्त गाडीको पछाडी सामान राख्ने भागको मुनि सेफ बनाई उक्त सेफ भित्र लुकाई छिपाई १५ पोका गाँजा र नगद दुई लाख रुपैँया फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उक्त लागुऔषध र पिकअफ गाडीसहित चालक मकवानपुरको कैलाश गाउँपालिका १० घर भई हाल काठमाडौँ बस्दै आएका ३२ वर्षिया राम सिंह मुक्तानलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।