बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

रक्सीको गन्धले हैरान सिन्धुलीका यी महिलाहरु

आइतवार , आषाढ ३१, २०८०

सिन्धुली – सुनकोशीले सुसेलेको उनीहरुलाइ पत्तो हुँदैन् । उराठ लाग्दो किनार नजिक घेराबेरा गरि जस्ताले छाएको ठुलो घर छ । भित्र के हुँदैछ ? बाहिरबाट हेर्दा केही पत्तो लाग्दैन् । न कुनै बोर्ड छ नत चिनारी । घर भित्र जानको लागि मुख्यद्धार खोल्न निकै समस्या छ । मानौं भित्र कुनै अबैध धन्दा भैरहेको छ । गेटबाट भित्र प्रवेश गरेपछि भवनको ठुलो हलमा दुइदर्जन भन्दा बढि महिलाहरु असिन पसिन भएर श्रम गरिरहेका थिए । गोलन्जोर गाउँपालिका ६ बलेनीमा रहेको मदिरा उद्योगमा कार्यरत श्रमिक महिलाहरुलाइ दैनिक ८ घण्टा कटाउन निकै मुश्किल पर्ने गरेको छ ।

मदिराको गन्धले हैरान बनाइसक्यो, वलेनी घर भइ उद्योगमा कार्यरत छलिमायाँ विशुंखेले भन्नुभयो,“के गर्नु घरको गर्जो टार्नका लागि जस्तो सुकै परिस्थितीको पनि सामान गर्नुपर्ने रहेछ । यहि काम त भनेको समयमा पा“इदैन् ।” मेसिनबाट झरेको मदिरा बोतलमा भर्नेदेखि स्टिकर टाँसेर प्याकेजिंग गर्ने कामसम्म यो मदिरा उद्योगमा सबै महिला श्रमिकहरु रहेका छन् । मदिरा उत्पादन गर्ने ओमशंकर लिकर्श उद्योग यतिखेर २५ जना रैथाने महिलाहरुले धानेका छन् ।

उद्योगमा एकजना केमिकलको मात्रा मिलाउने बाहिरबाट आएका पुरुष कामदार छन् भने बाँकी सबै महिला । मेसिनबाट प्लाष्टिकको बोतलमा मदिरा भर्दा महिला कामदारहरुलाइ सबै भन्दा बढि गन्धले हैरान पार्ने गरेको छ । मेसिनबाट एकैपटक १० देखि १५ बोतलसम्म भर्न मिल्छ । हातले काम गर्ने हो एकातिरको बोतल भर्दा अर्कोतिर बढि भएर झरिसकेको हुन्छ, अर्की कामदार उर्मीला मंग्रातीले आफ्नो पीडा सुनाउनुभयो । उहाँले भन्नुभयो, “मदिरा भर्ने ठाउँमा दुईजना राखिएको छ । बोतलमा भर्दा पोखिन्छ । त्यसपछि आउने गन्धले हुरुक्कै हुइन्छ । मास्क लाउँदा बाफिने समस्या हुने भएकाले खुल्लै छोड्नुपर्छ । पुरा समय यस्तो गन्धमा हामीले कसरी काम गरिरहेका हौंला ।”

उद्योगको सबैभन्दा बढि चुनौतीपूर्ण काम पनि बोतलमा मदिरा भर्ने नै हो । अलिकता पोखिंदा पनि संचालकले हकार्ने गरेका छन् । तर जतिगर्दा पनि पोखिन भने छोड्दैन । सानो बोतल छ, मेसिनबाट धारो नै आउँछ, नपोखिने त कुरै हुँदैन्, बोतल भरिरहेकी कमला श्रेष्ठले भन्नुभयो, “गन्धले बसौं कि जौं हुन्छ, त्यहि माथी साहुको खप्की । हैरान छ हामीलाइ ।” यो मदिरा उद्योग पुष्पलाल (मध्यपहाडी) लोकमार्ग नजिक छ । कोसी गढतीर क्षेत्र भएकाले गर्मी उस्तै उखरमाउलो हुन्छ । उद्योग भित्र चिस्यान हुने उपकरणहरु केही छैन् । जस्ताको छाना तातेर दिउ“सो हपहपी हुन्छ । पसिनाले निथु्रक्क भएर काम गरिरहेका हुन्छन् महिला कामदारहरु ।

दशक अघि स्थापना भएको उद्योग वन्द र संचालन हुने गर्दै आएको छ । कोरोनाको समयमा वन्द भएको उद्योग संचालनमा आएको भर्खर एकसाता भएको छ । यस्तो गन्धमा बसेर काम गर्दा पनि न्यूनतम ज्याला भने महिलाहरुले पाएका छैनन् । दैनिक पाँचसय १७ रुपैंयाँ पाउने महिलाहरुले वडाध्यक्षलाइ गुहारेर ८३ रुपैंयाँ बढाउन लगाएका छन् । यतिखेर उनीहरुले दैनिक छ सय रुपैंयाँ पाउँछन् । घरपायकको काम हामीलाइ ठिकै थियो तर यो गन्धमा कमी ल्याइदिने र उत्पादन हुने क्षेत्रमा चिस्यान हुने भइदिए काम गर्न सहज हुने थियो, रैथाने मेनुका श्रेष्ठले कामदारहरुको समस्या दर्साइन् । ती कामदार महिलाहरुलाइ मदिराको गन्ध र दैनिक पसिनाले निथु्रक्क हँ“दा रोग लाग्ने हो की भन्ने चिन्ता छ । महिला कामदारहरुले काम गर्दाको पीडा र पाएको ज्यालाका विषयमा गुनासो लिएर आएपछि आफ्नै पहलमा दैनिक ज्यालमा ८३ रुपैंयाँ वृद्धि गर्न संचालक सहमत भएको वडाध्यक्ष रविन श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो, “उद्योग भित्र एसी जडान गरि काममा सहजता ल्याइदिन संचालकलाइ भनेको छु । श्रमिक महिलाहरुले काम गर्दा कसरी सहज हुन्छ भन्नेमा निगरानी भैरहेको छ ।”

फुल्ली नामक मदिरा यहाँ उत्पादन भइ काठमाडौं पठााउने र त्यहिंबाट देशका बिभिन्न भागमा जाने गरेको उद्योग संचालकले बताएका छन् । उद्योगबाट दैनिक २५ हजार बोतल मदिरा उत्पादन हुन्छ । एकसय ८० एमएलको सिसा बोतल र तीनसय एमएलको प्लाष्टिक बोतलमा मदिरा उत्पादन हुने गरेको छ । सिसाकोलाइ कारखानामा ३५ रुपैंयाँ मूल्य कायम गरिएको छ भने प्लाष्टिकको बोतलाइ ६० रुपैंयाँ पर्ने उद्योग संचालक राजन शाहले जानकारी दिनुभयो ।

अर्डर भएको समयमा मात्र काम हुने भएकाले वर्षमा ६ महिना त उद्योग वन्द हुने भन्दै संचालक शाहले महिला श्रमिकहरुको आफुले सकेजति कदर गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “बजार खुम्चिदै गएको छ । सुदृढ हुने आशामा धुकुधुकु उद्योग चलेको छ । हाम्रा समस्या हामीसंगै छन् । कामदारलाइ सकेको सेवासुविधा दिने त हो ।”

प्रतिक्रिया