सिन्धुली– कमलामाई नगरपालिका ४ पोखरेल गाउँका अस्मिन राईलाइ गाउँ घरमा अस्मिन हायू भनेर चिन्दछन् । हायूको घर भनेर सोध्दै जानेहरुलाइ छिमेकीले देखाउने गरेका छन् । चारपुस्तादेखि सदरमुकाम सिन्धुलीमाडीको पोखरेल गाउँमा आएर बसेको हायू परिवार लोपोन्मुख मासिक भत्ताबाट भने वञ्चित छन् । कारण उनीहरुको नागरिकतामा थरमा राई लेखिएको छ । ओखलढुंगा जिल्ला पुख्र्यौली थलो भएका हायू परिवारमा दुईपुस्ता अगाडिदेखि राई लेखिएको खुलेको छ । ५४ वर्ष पुग्नु भएका अस्मिनका अनुसार उहाँका हजुरबुबा मेयरमान हायू हो । तर तत्कालिन समयमा थर बढोत्तरी गर्नका लागि सिन्धुलीगढीमो जम्दार भएर बस्दा अस्मिनल राई थर लेख्नु भयो ।
अस्मिनका बुबा कृष्णबहादुरलाई पनि हायू भनेर चिन्थे, तर नागरिकतामा उहाँले पनि मेयरमानको जस्तै राई नै लेखाउनुभयो । पुस्तान्तर हुँदै जाँदा अस्मिनको परिवार सबैले राई थर लेख्दै आएका छन् । राज्यले लोपोन्मुख जातीको सूचीमा हायूलाइ राखेपछि भने उनीहरुलाइ केही वर्ष अघिदेखि थकथकी लागेको छ । अस्मिनको परिवार सबैले राई थर लेख्दै आएका छन् । राज्यले लोपोन्मुख जातीको सूचीमा हायूलाइ राखेपछि भने उनीहरुलाई केही वर्ष अघिदेखि थकथकी लागेको हो । हामीलाइ सबैले हायू भनेर बोलाउँछन् र चिन्छन तर आधिकारिकता भने राईको छ, आस्मिनले भन्नुभयो, “बाबुबाजेले नै राई लेखेपछि अब कसरी सच्चिएला र ?” अस्मिनका अनुसार उहाँका बुबा कृष्णबहादुरको जग्गाधनी पुर्जामा हायू लेखिएको थियो । नागरिकतामा भने राई थियो । जग्गाधनी पुर्जाको अनुसार नभएर नागरिकता अनुसार पुर्जा पनि सच्याइएकाले राई नै कायम भयो ।
अस्मिनका श्रीमतीहरु दुइजना छन् । छोराछोरी चारजना । उहाँको ससुराली हायू नै हुन् । एउटै घरको सहोदर दिदी बहिनी भित्र्याउनु भएका अस्मिनको ससुराली खलकका २४ जनाले लोपोन्मुख हायूजातीबाट मासिक भत्ता बुझ्ने गरेका छन् । अस्मिनकी कान्छी श्रीमती बालकुमारी हायूका अनुसार माइतीका सबैले हायू भएर भत्ता बुझेका छन् । बिहे गरेका दिदीबहिनी मात्र वञ्चित छन् । मेरो त नागरिकता पनि बनाएको छैन्, उहाँले भन्नुभयो, “हायू थर नै लेखाएर बनाउन निवेदन हालेको मिल्दैन भने त्यसपछि बनाएको छैन् ।”
“हामी ६ जना दिदीबहिनी बाहेक सबै माइती खलकले हायूबाट भत्ता बुझ्ने गरेका छन् । तर हामीले पाएनौं”, उहाले थप्नुभयो, “हामीले हायू नै भनेर विवाह गरेको हो । अर्को जातीसंग हाम्रो चल्दैन् । किन भेदभाव गरेको थाहा छैन् । हायू नबनाए हामीलाई नागरिकता पनि चाहिएन् ।”
९ वटा हजुर आमा मध्ये कान्छीका सन्तान हुन्, अस्मिनका बाबु कृष्णबहादुर राई । सिन्धुलीगढीको नजिकै रहेको कमलामाइ नगरपालिका ३ जलकन्याबाट ९ मुरे खेतलाइ ९ रुपैंयामा विक्री गरेर वडा नं ४ मा बसाई सर्नु भएका कृष्णबहादुरले यतै जेथो जोडनु भयो । हायू भन्दा राई एकतह माख्लो जाती भनेपछि मोह भयो, आस्मिनले भन्नुभयो, “ २९ कठ्ठा जग्गा जोडेकोमा अहिले छिन्नभिन्न भएर भागमा ५–७ कठ्ठा जति छ । तर हायू नै भएको थर राई भएकोमा पछुतो छ ।” अस्मिनको आमा झम्कमाया“ले एकल नारी भएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आउनु भएकोमा जेष्ठ नागरिकबाट पाउन थाल्नु भएकी छ । अस्मिनको पुस्ता भित्र नै रहेका प्रेमबहादुर हायूको परिवारले भने सुरक्षा भत्ता बुझ्दै आएको छ । हाम्रो हजुरबुवा एउटै हो, उहाँले भन्नुभयो, “उनीहरु माख्लो जाती हुने भनेर राई लेखाउनु भयो, हामीले हायू छोडेनौं, भएको यहि हो ।”
अस्मिनको परिवारमा छोराछोरी पुस्ताबाट हायू लेखाउने भन्ने वहस पनि चलेको थियो । तर २० जनाको परिवारमा मत मिलेन, हायू हैन् राई नै कायम गर्ने भन्ने निस्कर्ष निस्किएको उहाँले सुनाउनु भयो ।
हायूबाट राई भएकाहरु असमञ्जसमा छन् । हायू लेखाउदा भएको पनि विग्रने हो की भन्ने चिन्ता छ, अस्मिनले भन्नुभयो, “हामी लोपोन्मुख भएकाले हायू नै लेख्न चाहन्छौँ ।” अस्मिनको खलकमा एकजनाले भने हायू भएर भत्ता बुझ्दै आएकी छिन् । भिमबहादुर राईकी छोरी रामदेवी हायू भएर भत्ता बुझ्दै आउनु भएको छ । ८ कक्षामा पढ्दा रामदेवीको हायू लेखाइदिएकाले प्रमाणपत्रका आधारमा नागरिकता बन्यो, उहाँले सरकारले दिएको सुविधा पाइन् तर सहोदर भाइ विनोद भने राई लेखेकाले वञ्चित छन् । स्थानीय तहको वडामा गएर अव सच्याएर हायू बनाइ लेखाउने बिचारमा अस्मिन हुनुहुन्छ । सयको हाराहारीमा हायूले राई लेखाएको उहाँको अनुमान छ ।