सिन्धुली–कमलामाई नगरपालिकाले एएनपीआर नामक क्यामेरा जडान गरेको छ । नगरपालिका भित्र अपराधिक घट्ना न्यूनिकरण गर्न नगरपालिकाले मुख्य चोक तथा राजमार्गमा सो क्यामेरा जडान गरेको हो ।
नगरपालिकाको विभिन्न स्थानबाट प्रयोगमा आउन लागेको अटोमेटिक नम्बर प्लेट रिकग्निजेसन (एएनपीआर) सिस्टम नामक क्यामेराले सवारी साधनको नम्बर पेल्ट साथै सवारी साधनको फोटो र भिडियो खिच्ने काम गर्दछ । विपि राजमार्ग अन्र्तगत कमलामाई नगरपालिका ४ ढुंग्रेबास चोक अगाडि र दुई नम्बर गेट अगाडि सो क्यामेरा जडान गरिएको छ ।
यस्तै, विपि राजमार्ग अन्र्तगत कमलामाई नगरपालिका ७ माझिटार अगाडि र माभिटारकै ट्राफिक चेक पोष्ट अगाडि क्यामेरा जडान गरिएको छ । मदनभण्डारी राजमार्ग अन्र्तगत कमलामाई नगरपालिका ६ धुराबजार र रक्तमाला मन्दिर जाने बाटो अगाडि सो क्यामेरा जडान गरेको नगरपालिकाले जनाएको छ । क्यामेरा सँगै एपिआर लाइट समेत जडान गरिएको छ । नगरपालिकाको विभिन्न स्थानमा १२ वटा अटोमेटिक नम्बर प्लेट रिकग्निजेसन (एएनपीआर) सिस्टम नामक क्यामेरा जडान गरिएको छ ।
कमलामाई नगरपालिका भित्र हाल झण्डै ९५ वटा क्यामेरा जडान गरिएको कमलामाई नगरपालिकाका ईलेक्ट्रिकल ईन्जिनियर नविन बस्नेतले बताउनुभयो । सो क्यामेरा संचालनमा आएसँगै क्यामेराको सहायताले सवारी निगरानी गर्न सहज भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जेजङ्ग कार्किले बताउनुभयो । ट्राफिक नियम विपरित चल्ने सवारी साधन न्यूनिकरण गर्न क्यामेराले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
नगरपालिकाको ३९ लाख ९६ हजार १ सय लागतमा हाइ मास्क लाइट र क्यामेरा जडान गरिएको हो । कमलामाई नगरपालिका स्थित बसपार्कमा हाइमास्क लाइट जडान गरिएको छ । उक्त हाइ मास्क लाइट जडान गरेपछी केही दिन अघिसम्म साँझको समयमा अन्धकार हुने बसपार्क क्षेत्र लगायत आसपास क्षेत्र अहिले रातको समयमा पनि उजेलिएका छन् । बत्ती जडान भएपछि रातको समयमा हुने आपराधिक क्रियाकलापमा समेत कमी आउने विश्वास नगरपालिकाले राखेको छ । साथै, नगरपालिका क्षेत्र अन्तरगत भिमान बजारको मुख्य चौक, बुद्धनगर चौक र ढुंग्रेबास चौकमा उक्त बत्ती जडान गर्ने लक्ष राखिएको छ ।