बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

मध्यपहाडीको अक्करे जहिल्यै सास्ती

शुक्रवार , आषाढ २९, २०८०

सिन्धुली – खुर्कोटबाट पाँच किलोमिटर पूर्व गएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्गको अक्करे भिरमा पुगिन्छ । यो भिरको पहिरो खस्दा जहिल्यै वर्षादको समयमा सास्ती हुने गरेको छ । गत वर्षको आंकडा हेर्ने हो भने यो भिरको पहिरोमा ७ पटक सडक तीन दिन भन्दा बढिका दरले अवरुद्ध भयो । यो पुष्पलाल (मध्यपहाडी) राजमार्ग सडक नेपाल सरकारको पूर्ण लगानीमा बनेको हो । मनसुन शुरु भएपछि अक्करे भिरमा पहिरो खस्न शुरु हुन्छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गमा यात्रुहरुले पहिरो खस्दा जहिल्यै सास्ती खेप्ने गरेका छन् ।

स्थानीयका अनुसार पुष्पलाल (मध्यपहाडी) राजमार्गको अक्करे भिरमा खस्ने पहिरोले वर्षाको समयमा त दुःख दिन्छ नै हिउँदमा पनि चर्को घाम लाग्नासाथ सुख्खा पहिरो खसेर यातायात संचालनमा अवरोध हुने गरेको छ । अक्करेभिरको पहिरो खस्ने स्थान लामो भएकाले पन्छाएर अस्थायी रुपमा यातायातका साधन संचालन गर्नुको विकल्प छैन् ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग खुर्कोट–घुर्मी सडक खण्ड अन्तर्गतको गोलन्जोर गाउँपालिका ६ हैबार नजिक अक्करे भिर छ । भिरमा खस्ने पहिरोले जहिल्यै सास्ती हुने गरेको छ । खुर्कोटबाट ५ किलोमिटर पूर्वतर्फ सुनकोशी नदी किनारमा अक्करे भिर हेर्दै आत्तेस लाग्दो छ । पाँचयसय मिटर भन्दा बढि क्षेत्रफलमा रहेको यो भिरमा वर्षात र हिउदमा नै पहिरो खस्छ । स्थानीय पशुपती कोइरालाका अनुसार पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माण गर्दा नै पहिरो झर्ने गरेको थियो । पहिरो छिचोलेर गन्तव्यतर्फ यात्रा गर्नुको विकल्प छैन् । यो पहिरो पृथ्वीराजमार्गको जोगिमाराको जस्तै भएको स्थानीहरुको टिप्पणी छ ।

यो पहिरो फोरेर वा छलेर सडक निर्माण भएको छैन्, कोशी किनारमा सामान्य कटिंग गरेर काम चलाउ हुनेगरी निर्माण भएकाले जहिल्यै यात्रुहरुले सास्ती वेहोर्नुपर्छ, उहाँले भन्नुभयो, “भिर छलेर अथवा फराकिलो बनाएर सडक बनेको भए यस्तो सास्ती बेहोर्नुपर्ने थिएन् । पुष्पलाल (मध्यपहाडी) राजमार्गको खुर्कोट–घुर्मी खण्डको ६१ किलामिटर सडकको दर्जनौं स्थानमा पहिरो खस्छ । तर अक्करे भिरको जस्तो सास्ती अन्त छैन् ।”

सामान्य वर्षात हुनासाथ अक्करे भिरमा पहिरो खस्ने गरेको छ, अर्का स्थानीय शरद आचार्यले भन्नुभयो, “भिरको फेदमा सामान्य कटिङ्ग गरेर बढिमा तीनदेखि चारमिटर फराकिलो सडक भएकाले केही ढुंगा खस्नासाथ यातायात अवरुद्ध भैहाल्छ ।” केन्द्रिय योजना पारेर अक्करे भिरको सडकलाइ फराकिलो बनाउन अथवा नक्साकंन परिवर्तन गर्न उहाँले सुझाउनु भयो ।

अक्करे भिरमा करिब पाँचसय मिटर क्षेत्रमा पहिरो खसेको छ । लामो क्षेत्रफलमा पहिरो खसेकाले यातायात सुचारु हुने र वन्द हुने भैरहने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरीका प्रहरी उपरिक्षक राजकुमार सिलवालले बताउनुभयो । पानी पर्नासाथ पहिरो खसेर यातायात अवरुद्ध भैहाल्छ, उहाँले भन्नुभयो, “अक्करे भिरमा यातायातका साधन पार गराउन निकै जोखिम रहेको छ, माथि भिर, तल सुनकोशी छ ।”

गोलन्जोर गाउँपालिकाले पहिरो सफा गर्नका लागि सधै जसो स्काभेटर पठाउने गरेको अध्यक्ष शंकर बरालले बताउनुभयो । पुष्पलाल (मध्यपहाडी) राजमार्गको यो खण्डमा धेरैस्थानमा पहिरो खस्छ, अझ अक्करे भिर त अभिसाप नै भयो । संघबाटै योजना पारेर सडक फराकिलो बनाउन गाउँपालिकाले पहल गरेको उहाँले बताउनुभयो । पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणकै चरणमा रहेकाले आयोजनालाइ पहिरो नखस्ने गरि सडक निर्माणको लागि अनुरोध गरेको प्रजिअ सुनिता नेपालले बताउनुभयो । सास्ती धेरै भएकाले दीर्घकालिन हुने गरि अक्करे भिरमा सडक निर्माण गर्न आयोजनालाइ सुझाएका छौं, उहाँले भन्नुभयो, “अक्करे भिरमा पहिरो खसेर यातायात अवरुद्ध भएको गुनासो सुन्नु नपरे हुन्थ्यो भन्ने छ ।”

पुष्पलाल (मध्यपहाडी) राजमार्गको खुर्कोट–घुर्मी खण्डमा सडक अवरुद्ध हुँदा सिन्धुलीका पूर्वी पहाडी जिल्लाहरु खोटाङ,ओखलढुंगा, उदयपुर सोलुखुम्बु भोजपुर, रामेछापबाट संघिय राजधानी काठमाडौं आवतजावत गर्ने यातायातका साधनहरु बीचबाटोमा नै अलपत्र पर्ने गरेका छन् ।

[caption id="attachment_124300" align="alignnone" width="960"] पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत खुर्कोटघुर्मीखण्डको अक्करेभीर । अक्करेभीरको पहिरोले जहिल्यै सास्ती हुने गरेको छ । त[/caption]

प्रतिक्रिया