बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

जिपिए ४ प्राप्त मेधावी विद्यार्थी सुवेदी सम्मानित

मंगलवार , आषाढ २६, २०८०

सिन्धुली – माध्यमिक शिक्षा परीक्षालाई अध्ययन अध्यापनको आधारशीलाका रुपमा लिइन्छ । विगतका दिनमा एस.एल.सी. भनेर चिनिने यो परीक्षा उत्तीर्ण गर्नु गराउनु फलामको चिउरा चपाउनु वा फलामे ढोका पार गर्नु जस्तै हो भनिन्छ । हुन पनि यो परीक्षा उत्तीर्ण गरेपछि धेरै विद्यार्थीहरुले आफुले रोजेको विषय वा क्षेत्रसँग सम्बन्धित विषय अध्ययनको मार्ग खुल्दछ ।

गत वर्ष २०७९को एसइइ परीक्षाको नतिजा प्रकाशन भएसँगै विभिन्न विद्यालयहरुले र जिल्लाका शिक्षासँग सरोकार राख्ने संघसंस्थाहरुले पुरस्कार र प्रोत्साहनका कार्यक्रम भव्यताका साथ गरिरहेको पाइन्छ । यसै सन्दर्भमा सिन्धुली जिल्लाको भगवती अंग्रेजी आवासीय मा.वि.बाट परीक्षामा सामेल भई जिपिए ४ प्राप्त गर्न सफल मेधावी विद्यार्थी रोशन सुवेदी पनि आज एक कार्यक्रमबिच सम्मानित भएका छन् ।

भगवती मा.वि.का प्रधानाध्यापक कृष्ण कुमार उप्रेतीको अध्यक्षता एवम् विद्यालयका वित्त निर्देशन रमाकान्त सुवेदीको विशिष्ट आतिथ्यतामा विद्यालय प्राङ्गणमा आयोजित सम्मान कार्यक्रमबाट सुवेदी सम्मानित भएका हुन् ।

विद्यालयको आर्थिक नियमानुसार एसइइमा जिपिए ४ प्राप्त गर्ने विद्यार्थीलाई दिइने पचास हजार रुपैँयाको प्रोत्साहन पुरस्कार र जेहेन्दार, मेधावी र लगनशील विद्यार्थीलाई प्रदान गर्दै आएको पन्ध्र हजार रुपैँयाको पुरस्कार समेत गरी कुल पैँसठ्ठी हजार रुपैँयाको दुई वटा चेक, अविर खादा सहित प्रधानाध्यापक उप्रेतीबाट सुवेदीले प्राप्त गरेका छन् ।

‘‘विद्यालय सधैँ संस्कारयुक्त शिक्षाको पक्षमा रहेको र यस विद्यालयमा विद्यार्थीहरुको आचरण, संस्कारको उच्च मुल्याकंन गरिने र सोही अनुरुप विद्यार्थीहरुलाई पठनपाठनमा जोडेर संस्कारयुक्त शिक्षित जनशक्ति उत्पादन गर्ने विद्यालयको अभिष्ट रहेको छ । एसइइमा जिपिए ४ प्राप्त गर्ने संस्कारयुक्त मेधावी विद्यार्थीलाई विद्यालयले प्रोत्साहन गर्ने यो कार्यक्रम निरन्तर रहने छ ।’’ उप्रेतीले बताउनुभयो ।

यस विद्यालयले विगतका वर्षमा पनि जिपिए ४ ल्याउने २ जना छात्राहरुलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको र विद्यालयले सामाजिक क्षेत्रमा समेत सक्दो योगदान पुर्‍याउँदै आएको कुरा वित्त निर्देशक रमाकान्त सुवेदी स्पष्ट पार्नुभयो । विद्यालयका शिक्षक टंकध्वज थापाको उद्घोषणमा संचालित सो कार्यक्रमको अन्त्यमा सम्पूर्ण विद्यार्थीहरुलाई मिठाइ वितरण गरी कार्यक्रमको समापन गरिएको थियो ।

प्रतिक्रिया