सिन्धुली – जिल्लाका अधिकांश सरकारी कार्यालय तथा स्थानीय तहहरुमा स्थायी दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ ।
सिन्धुली जिल्ला अस्पताल, डिभिजन बन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, कृषि ज्ञान केन्द्र, जिल्ला समन्यव समिति लगायत जिल्लाका दर्जनौं कार्यालयहरुमा स्थायी दरबन्दी अनुसार कर्मचारी छैनन् ।
मानवीय स्वास्थ्यसँगै सबैभन्दा बढी सरोकार राख्ने सिन्धुली जिल्ला अस्पतालमा ८ जना विशेषज्ञ डाक्टरहरुको दरबन्दी भएपनि एक जना पनि स्थायी दरबन्दीका डाक्टरहरु छैनन् ।
स्वीकृत दरबन्दी अनुसार सिन्धुली जिल्ला अस्पतालमा हुनुपर्ने ११ औं तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट देखी बरिष्ट कन्सल्टेन्ट पेडियाट्रिसियन, बरिष्ठ कन्सल्टेन्ट अब्सट्रेसियन, बरिष्ठ कन्सलटेन्ट अर्थोपेडिक सर्जन, बरिष्ठ कन्सलटेन्ट साइक्याट्रिस, बरिष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिष्ट, बरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन, बरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्ट सहितको विशेषज्ञ डाक्टरहरुको दरबन्दी खाली रहेको छ भने छात्रवृत्ति करारमा कार्यरत बरिष्ठ कन्सल्टेन्ट अब्सट्रेसियन, बरिष्ठ कन्सलटेन्ट अर्थोपेडिक सर्जन र बरिष्ठ कल्सन्टेन्ट एनेस्थोसियोलोजिष्ट डाक्टरहरु मार्फत लामो समय देखी अस्पताल चलिरहेको छ ।
त्यस्तै अस्पतालमा दरबन्दी अनुसार फिजियोथेरापिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, डेन्टल हाइजिस्टि, बायोमेडिकल टेक्नीसियनको सेवा पनि उपलब्ध हुन सकेको अवस्था छैन । दरबन्दी अनुसार दक्ष तथा प्राविधिक जनशक्ति नहुँदा सिन्धुलीबासीहरु स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी समस्या भोगीरहेका छन ।
जिल्ला समन्यव समिति सिन्धुलीमा पनि दरबन्दी अनुसार कर्मचारी छैनन् । जिल्ला समन्यव अधिकारीकै दरबन्दी रिक्त छ भने जिल्लाको विभिन्न् बिकास आयोजनाहरुको अनुगमन गर्ने जिम्मेवारी समेत पाएको जिल्ला समन्यवमा इन्जिनियर र प्राविधिक कै दरबन्दी खाली रहेको छ ।
जिल्ला समन्यव समितिमा इन्जिनियर र प्राविधिकको दरबन्दी खाली हुँदा योजनाहरुको अनुगमन तथा मुल्याकंनमा समस्या हुने गरेको निमित्त जिल्ला समन्यव अधिकारी नर बहादुर आलेमगरले बताउनुभयो ।
कर्मचारी अभाव भएपछि सेवा प्रवाहमा समस्या हुने गरेको छ । कर्मचारी अभावका कारण सरकारी सेवा लिन स्थानीयवासी समस्या भोग्न बाध्य छन । दरबन्दी अनुसार कर्मचारी नहुँदा झेल्नु परेको समस्याका विषयमा विभाग तथा मन्त्रालयमा जानकारी गराई कर्मचारी माग गरेको भएपनि कर्मचारीको व्यवस्था भने नभएको आलेमगरले बताउनुभयो ।
त्यस्तै बन डिभिजन कार्यालयमा पनि दरबन्दी अनुसार कर्मचारी उपलब्ध छैनन् । प्रशासन देखी बन रक्षक सम्मको दरबन्दी रिक्त रहेको बन डिभिजन कार्यालयले जनाएको छ ।
कृषि ज्ञान केन्द्र सिन्धुलीमा पनि दरबन्दी अनुसार पदपूर्ति हुन सकेको छैन । कार्यालय प्रमुख र कृषि अधिकृत सहित १४ जनाको दरबन्दी रहेको कार्यालयमा ९ जना कर्मचारी मात्र कार्यरत रहेका छन ।
नेपालका शिक्षालयहरुले बर्षेनी हजारौंको संख्यामा शैक्षिक जनशक्ति उत्पादन गरिरहेको छ तर सरकारले लोकसेवा आयोग मार्फत कर्मचारी भर्ना तथा भएका कर्मचारीहरुको समानुपातिक बितरण गर्न नसक्दा सरकारी कार्यालयहरुमा दरबन्दी अनुसार पदपूर्ति हुन सकिरहेको छैन ।
सुविधा र घर पायक भन्दै कर्मचारीहरु अनावश्यक रुपमा मन्त्रालय तथा विभागहरुमा थन्काउने तर जिल्लाका कार्यालयहरुमा आवश्यक मात्रामा पठाउन नसक्दा पनि समस्या हुने गरेको छ भने स्थानीय तह निर्माणसँगै कर्मचारीको ब्यवस्थापनमा सरकारले ठिक ढंगले कर्मचारी समायोजन ऐन समयमा ल्याउन नसक्दा समस्या भएको छ ।
स्थानीय तहमा करारका कर्मचारी ब्यापक
सिन्धुली– जिल्लाका स्थानीय तहहरुले ब्यापक रुपमा करारमा कर्मचारी भर्ना गरेका छन । वडा कार्यालय देखी गाउँपालिका कार्यालय सम्म ब्यापक रुपमा करार दरबन्दी सिर्जना गर्दै कर्मचारी भर्ना गरिएको छ ।
कतिपय स्थानीय तहहरुले आवश्यक्ताको आधारमा भन्दा पनि आफ्ना कार्यकर्ताहरुलाई जागिर खुवाउनका लागी कर्मचारी भर्ना गर्ने गरेका छन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को अधिकारलाई प्रयोग गर्दै स्थानीय तहहरुले करारमा कर्मचारी भर्ना गर्ने गरेको भएपनि दक्ष जनशक्ति र आवश्यक्तालाई ख्याल नगरिएको एक स्थानीयले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सबै आफन्त र कार्यकर्ताहरुलाई जागिर खुवाउने नियतले कर्मचारी भर्ना गरिएको छ, यो अत्यतै गलत छ ।” स्थानीय तहहरुले अनावश्यक करारमा कर्मचारी भर्ना गर्दा ब्यभार थपिदै गएको छ । आन्तरिक श्रोतको आम्दानी घट्दै जाने तर कर्मचारी बढ्दै जाने हुँदा तलब खुवाउन समेत समस्या हुने देखिन्छ ।