बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

स्थानीयबासी र मैत्री मंगलम बीच सात बुँदे सहमती

आइतवार , आषाढ २४, २०८०

सिन्धुली – कमलामाई नगरपालिका–८ पैरे क्षेत्रमा आफ्नो धार्मिक गतिविधी सञ्चालन गर्दै आईरहेको बोधि श्रबण धर्म संघ(मैत्री मंगलम) र सो क्षेत्रका स्थानीयहरु बीच आईतबार सात बुँदै सहमति भएको छ ।

उक्त क्षेत्रका स्थानीयहरुले उक्त धार्मिक संस्थाले सार्वजनिक जंगल क्षेत्रहरु मिचेर संरचनाहरु निर्माण गर्दै आफुहरुलाई विभिन्न् खालको अवरोधहरु सिर्जना गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए ।

कमलामाई नगरपालिका प्रमुख उपेन्द्र कुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल तथा प्रहरी प्रमुख एसपी राजकुमार सिलवालको रोहबरमा बोधि श्रबण धर्म संघ(मैत्री मंगलम) धार्मिक संस्थाका प्रतिनिधी र स्थानीय बीच भएको छलफल पश्चात सात बुँदे सहमति भएको बोधि श्रबण धर्म संघ सिन्धुलीका अध्यक्ष सुन्दर घिसिङले जानकारी दिनुभयो ।

सहमति अनुसार स्थानीय समुदायले धार्मिक आस्था प्रति सम्मान गर्दै गतविधिहरु सञ्चालन गर्न दिने, मैत्री मंगलमले आफ्ना धार्मिक गतविधीहरु गर्दा स्थानीयहरुलाई असर नपर्ने गरि गर्ने, स्थानीय स्तरमा चलन चल्तीमा रहेका बाटा तथा खोला खोल्सीहरु र घाटहरु स्थानीयहरुले निर्वाध रुपमा प्रयोग गर्न पाउने, मैत्री मंगलमले आफ्नो जग्गा बाहेक सार्वजनिक जग्गामा लगाएको तारबार तथा संरचनाहरु हटाउँने सहमति भएको छ ।

त्यस्तै मैत्री मंगलमले आफ्ना संरचनाहरु बनाउँदा ढुंगा गिटी बालुवाको प्रयोग सम्बन्धीत निकायसँग अनुमति लिएर मात्र प्रयोग गर्ने पनि सहमति भएको स्थानीय भक्त नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

बोधि श्रबण धर्म संघले २०७३ सालदेखी उक्त क्षेत्रमा धार्मिक संरचनाहरु निर्माण गरि तपश्वी राम बहादुर बम्जनले आफ्नो धार्मिक गतिविधीहरु सञ्चालन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया