सिन्धुली– जिल्लाको गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेल माथि हातपात गर्ने वडा अध्यक्ष दौलत कार्कीलाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक साता अघि नै पक्राउ पुर्जी जारी गरेको भएपनि प्रहरीले शनिबार सम्म पक्राउ गर्न सकेको छैन । वडा अध्यक्ष कार्कीलाई प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेलले अभद्र ब्यवहार सम्बन्धी मुद्धा दर्ता गराउनु भएको थियो ।
कार्कीलाई कार्वाहीको माग गर्दै कर्मचारी सम्बद्ध जिल्लाका विभिन्न् पेशागत संघ, संगठनहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका थिए भने जिल्ला स्थित सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले सयुक्त प्रेस विज्ञप्ती जारी गर्दै वडा अध्यक्ष कार्कीलाई तत्काल कानुनी कार्वाहीको माग समेत गरेका थिए ।
उक्त घटनालाई लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाले वडा अध्यक्षलाई कार्वाही तथा कर्मचारीको सुरक्षाको प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई पत्र समेत पठाएको छ ।
“राष्ट्र सेवक कर्मचारीहरू उपर देखिएको सुरक्षा संवेदनशीलतालाई मनन गरी देशभरका सबै कर्मचारीहरूले आत्मसम्मान, आत्म विश्वास एवं उच्च मनोबलका साथ सेवा प्रवाह गर्दै मुलुकको दिगो शान्ति, सुशासन, विकास र समृद्धि कायम गर्न आवश्यक सुरक्षा प्रत्याभूति तथा शान्तिपूर्ण कार्य वातावरण निर्माण गरिदिन हुन मन्त्रालयको २०८० असार २० को निर्णयानुशार अनुरोध छ” मन्त्रालयले भनेको छ ।
उता जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भने पक्राउ पुर्जि जारी भैसकेको र वडा अध्यक्ष कार्कीको खोजि भैरहेको बताएको छ । सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र सिलवालले भन्नुभयो, “खोजि कार्य भैरहेको छ, हदम्याद भित्र पक्राउ गरेर कानुन अनुसार मुद्धा प्रक्रिया अगाडि बढ्छ ।”
अभद्र ब्यवाहार सम्बन्धी मुद्धामा कानुन अनुसार प्रमाणित भएमा वडा अध्यक्ष कार्कीलाई १ बर्ष कैद वा १० हजार जरिवाना वा दुबै सजाय हुने कानुनी ब्यवस्था रहेको छ ।