सिन्धुली, – सिन्धुलीको कमलामाई नगरपालिका १ गुँरासे हायुगाउँमा निर्माण सम्पन्न खानेपानी आयोजनाको उदघाटन गरिएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागमति प्रदेश कार्यालय सिन्धुली तथा कमलामाई नगरपालिकाको आर्थिक सहयोग र स्थानीय जनश्रमदानमा निर्माण सम्पन्न खानेपानी आयोजनाको कमलाई नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले उदघाटन गर्नुभएको हो ।
उदघाटन कार्यक्रमको अवसरमा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलेले पानी भनेको जिवन भएकाले मानीसको जिवनमा स्वच्छ खानेपानीको धेरै महत्व रहेको बताउनुभएको छ । उहाँले लोपोन्मुख हायु जाती र तामाङ समुदायको बस्ती रहेको गुराँसे गाउँ जिल्ला सदरमुकामनै भएपनि बत्ती मुनीको गाउँ जस्तै भएकाले यस ठाउँका अन्य आवश्यकिय शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायत नागरिकको आयआर्जनमा जोड्दै कृषिको क्षेत्रमा समेत बिभिन्न योजना हरु ल्याउने बताउनुभएको छ । निर्माण भएको खानेपानीको संरचनाको संरक्षण गर्दै प्रयोग गर्न उहाँले आग्रह गर्नु भयो ।
८ लाख ४० हजार ४ सय ७ रुपैया बराबरको श्रमदान, नगरपालिकाको ५ लाख र नेवाको ४८ लाख ११ हजार ७ सय २५ रुपैया लागतमा एक मुहान, २ वटा पानी जम्मा गरेर वितरण गर्ने ट्यांकी, ४६ वटा धारा, पाइप, लगायतका संरचना निर्माण गरिएको छ । निर्माण सम्पन्न खानेपानी आयोजनाबाट ४५ घर धुरीका २ सय ८५ जनसंख्या लाभान्वीत हुने छन् ।
२०७९ साल पौष २६ गते सम्झौता भएको उक्त खानेपानी आयोजनाको समयमानै निर्माण सम्पन्न गरेकोमा स्थानीय नागरिक हर्षित भएका छन् । हायु तथा तामाङ समुदायको बसोबास रहेको गुराँसेमा मरिण खोलाको शिर बाट खानेपानी लिफ्ट गरि गाउँगाउँमा पुगेपछि बर्षौ देखिको खानेपानीको समस्या समाधान भएको स्थानीयले बताएका छन् ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष नरेश गोले वडा सदस्य मनिषा पोख्रेल गुँरासे हायुगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधीकारी नेवाका प्रतिनिधी स्थानीयको उपस्थिती रहेको थियो