सिन्धुली– सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नं. ४ का पूर्व वडा अध्यक्ष चक्रबहादुर पाख्रिनले पढाई छाडेको ३० वर्ष पछि एसईई उत्तिर्ण गर्नु भएको छ । पूर्व वडा अध्यक्ष पाख्रिनले स्थानीय जनजाग्रित माध्यमिक विद्यालय गोपेमा अध्ययन गरी मा.वि. हायूटारबाट परीक्षादिनु भएको थियो ।
२०४९ सालमा एसएलसी दिने तयारी भई रहँदा पारिवारिक समस्याका कारण पढाई छाड्नु भएका पूर्व वडा अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) घ्याङलेख गाउँपालिका कमिटि अध्यक्ष पाख्रिनले कान्छा छोरासँगै परीक्षादिई २.१५ जिपिएल्याई उत्तिर्ण गर्नु भएको छ । कान्छा छोरा युवराज पाख्रिनले २.६५ जिपिए ल्याएर उत्तिर्ण हुनु भएको छ ।
जनप्रतिनिधि भएर जनताको सेवागरिरहँदा शैक्षिक योग्यता अत्यन्तै जरुरी रहेछ भन्ने महशुस भएर जनप्रतिनिधिको व्यस्तता सकिने वित्तिकै विद्यालय भर्ना भएर छोरासँगै पढेर परीक्षामा सहभागि भएको पूर्व वडा अध्यक्षपाख्रिनले बताउनुभयो ।
“सानोमापनि पढ्न मन हुँदाहुँदै ९ पास हुने वित्तिकै पारिवारिक समस्याले पढ्न पाईन, अहिले कान्छा छोरो सँगै पढ्ने सौभाग्य मिल्यो । अब पढाईलाई निरन्तरता दिन्छु कम्तिमा पनि १२ पास गर्छु भन्ने लागेको छ” उहाँले भन्नुभयो । कान्छा छोरासँगै ४७ वर्षको उमेरमा एसईई उत्तिर्ण गर्न पाउँदा निक्कै खुशी लागेको पूर्व अध्यक्ष पाख्रिनले बताउनुभयो । पाख्रिनको दुई भाई छोराहरुले व्याचलर पढाई सकेका छन् भने तीनबहिनी छोरीहरु जनजागृति मावि गोपेमा नै अध्ययनरत छन् ।