सिन्धुली – गोलन्जोर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेलमाथि हातपात गरेको भन्दै जिल्लाका स्थानियतहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरुले आपत्ति जनाएका छन । जिल्लाका आठ पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरुले संयुक्त विज्ञप्ती मार्फत गम्भिर ध्यानाकर्षण सहित आपत्ति जनाएका हुन् ।
राष्ट्रसेवक कर्मचारीको रुपमा कर्तव्य निर्वाहको क्रममा गत असार १४ गते प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेल माथि गोलन्जोर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष दौलत कार्कीले गरेको हातपात,अभद्र व्यवहार तथा अपमानजनक शब्दहरु प्रयोग गरेको घटना प्रति जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले संयुक्त विज्ञप्ती मार्फत आपत्ति तथा घोर भत्र्सना गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ “कुनै पनि विवाद र समस्याको सन्दर्भमा आफ्नो फरक मत एवं विचार प्रक्रियागत तथा कानुनसम्म ढंगबाट स्वतन्त्रतापूर्वक राख्ने सरोकारवाला निकायहरु हुँदा–हुँदै उल्लिखित अवाञ्छित क्रियाकलाप कानुनतः दण्डनीय भएको तथा कानुनलाई हातमा लिने छुट कोही कसैलाई पनि नभएकोले सो निन्दनीय घटनाको सत्यतथ्य छानवीन गरी दोषीलाई कानुन बमोजिम कडा भन्दा कडा कार्बाही गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत् नेपाल सरकारको सरोकारवाला निकायहरु समक्ष जोडदार माग गर्दछौं ।”
“राष्ट्रसेवक कर्मचारीका आत्मसम्मान, आत्मविश्वास एवं उच्च मनोबललाई निरुत्साहित गरी सेवा प्रवाहलाई प्रभावित पार्ने तथा व्यक्तिगत स्वार्थ सिद्धिका लागि राष्ट्रसेवक कर्मचारीहरुप्रति गरिने यी र यस्ता प्रकृतिका अराजक गतिविधि आगामी दिनमा नगर्न, नगराउन एवं समग्र सिन्धुली जिल्लालाई शान्त, सभ्य, सुसंस्कृत तथा कर्मचारी कार्ययातावरण मैवी जिल्लाको रुपमा परिचित गराउन सबै राजनीतिक दल, जनप्रतिनिधि लगायतका सरोकारवालाहरुमा हार्दिक अपिल गर्दछौ ”,बिज्ञप्तीमा उल्लेख छ ।
अधिकृतहरुले घटनालाई राजनीतिक रंग दिई अतिरचित बनाई विभिन्न बहानामा दोषीलाई उम्काउने प्रयास र कार्य भएमा अन्य विकल्पहरु चरणद्ध रूपमा अवलम्बन गर्न बाध्य हुने चेतावनी दिएका छन ।
