बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीका ग्रामीण क्षेत्रमा पनि डिजिटल भुक्तानी बढ्दै

मंगलवार , आषाढ १९, २०८०

सिन्धुली – प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिक रुपमा रुपैयाँ पैसा नै नबोकिकनै कारोबार गर्न सकिने भएपछि सहरी क्षेत्रमा मात्र हैन जिल्लाको ग्रामीण क्षेत्रमा समेत यस्को प्रयोग बढ्दै गईरहेको छ । पछिल्लो समय मोबाइल र इन्टरनेटबाट गरिने रकम भुक्तानी निरन्तर उकालो लागिरहेको छ ।

पछिल्ला दिनमा विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि सो कुराको पुष्टि गरेको हो । कोभिड महामारी अगाडि सामान्य रुपमा मात्रै अगाडि बढेको विद्युतीय भुक्तानी एवं कारोबार भने अपेक्षित रुपमा अगाडि बढेको छ । राष्ट्र बैंकले विद्युतीय भुक्तानीका लागि प्रोत्साहन गरेसँगै यसको प्रयोगमा वृद्धि भएको हो । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानीको कारोबारमा वृद्धि भइरहेको देखिन्छ ।

पछिल्लो समय कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, वालेट, इन्टरनेट बैंकिङ र क्युआर कोड, इसेवाजस्ता भुक्तानीका माध्यमबाट हुने कारोबार रकममा वृद्धि हुँदै गईरहेको छ ।

युटिलिटि पेमेन्टमा (धारा, बिजुली जस्ता सेवाको महसुल भुक्तानीमा) सबैभन्दा बढी ग्राहकहरूको आकर्षण देखिन्छ । वालेट र मोबाइल ब्यांकिङ मार्फत विद्युत् महसुल वा हवाईजहाजको टिकट खरिद गर्ने जस्ता कार्यहरू भइरहेको छन् । त्यसबाहेक कनेक्ट आईपीएस प्रणाली एकअर्काको खातामा रकम पठाउन अधिक प्रयोग गरिने गरेको पाइन्छ ।

नेपालमा डिजिटल भुक्तानीको अनुपात बढ्नु राम्रै रहे पनि गोपनीयता र सुरक्षाबारे भने निकै ध्यान दिइनुपर्ने जानकारहरू बताउँछन् । सहरी क्षेत्रको तुलनामा प्रविधिबारे जानकार सर्वसाधारणहरूको अनुपात कम भएको र कम साक्षर जनसंख्यामा पनि यो प्रविधिको पहुँच स्थापित हुन सक्ने हुँदा निकै चनाखो हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया